– बबिलाल तामाङ
गैँडाकोट । गैँडाकोट नगरपालिकाको वडा नं.३, ४ र ८ नम्बरको सिमानामा पर्छ लखनचोक । त्यही चोकको आडैमा बन्दैछ आदिवासी जनजाति सङग्रहालयको विशाल भवन । नेपाल आदिवासी जनजाति महासंघ गैँडाकोट नगर समन्वय परिषदको युरुयोजनाअनुसार एक तलामा जातीय सम्पर्क कार्यालय, दुई तलामा जनजाति सङग्रहालय, एक तलामा सुविधा सम्पन्न सभा हलसहित पाँच तले भवन निर्माण हुँदैछ ।
- ADVERTISEMENT -

तर, बजेट अभावका कारण भवन निर्माणले गति लिन सकेको छैन । महासंघले १५ करोड ५४ लाख रुपैयाँ लागत अनुमानसहित सङग्रहालय निर्माणको काम थाले पनि सरकारको नजरमा नपर्दा भवन निर्माण कार्यालय भुइँ छोडन सकेको छैन । करिब पाँच कठ्ठा जमिनमा बन्न थालेको सङग्रहालय भुइँतलाको डिभिसीमा आएर काम रोकिएको छ । केन्द्र र प्रदेश सरकारको प्राथमिकतामा नपर्दा स्थानीय सरकारको मात्रै भर पर्नुपरेको नेपाल आदिवासी जनजाति महासंघ (नेफिन), गैँडाकोट नगर समन्वय परिषदका अध्यक्ष नरबहादुर थापामगर ‘नरेश’ले बताए ।
उनका अनुसार यो सङग्रहालय निर्माण थालेको तीन आर्थिक वर्ष सकिसकेको छ । तर, हालसम्म प्रदेश सरकारको ६० लाख रुपैयाँ बजेट आए पनि केन्द्र सरकारबाट अहिलेसम्म बजेट परेको छैन ।
‘गैँडाकोट नगरपालिकाबाट पटकपटक गरी एक करोड रूपैयाँ बजेट आएको छ । र गण्डकी प्रदेशबाट आएको ६० लाख र जनश्रमदानसहित गर्दा तीन आर्थिक वर्षमा बल्ल दुई करोड रूपैयाँ बराबरको काम भएको छ,’ महासंघका अध्यक्ष मगरले भने, ‘केन्द्र र प्रदेशले स्थानीय सरकारले जस्तै प्राथमिकतामा राखेर बजेट दिएको भए अहिलेसम्म आधाआधी काम सकिसक्थ्यो ।’
ठूलो आयोजना भएकोले प्रदेश र केन्द्र सरकारको बजेट नआउँदा सङग्रहालय निर्माणमा ढिलाइ भइरहेको उनले बताए । गैँडाकोट नगरपालिकाले नयाँ आर्थिक वर्षको लागि पनि १५ लाख रुपैयाँ बजेट छुटयाएको छ । तर, त्यति बजेट हात्तीको मुखमा जिरा जस्तै हुने उनले बताए ।
वर्तमान समितिले प्रदेश र सङघीय सरकारको पूर्वाधार तथा सामाजिक विकास मन्त्रालयमा बजेटको लागि फाइल बोकेर पटकपटक धाउँदासमेत आश्वासन पाएर पनि व्यवहार नदेखाएको उनले बताए । समग्र गैँडाकोट क्षेत्रमा बसोबास गर्दै आएका आदिवासी जनजाति समुदायको गहना भएको हुँदा सरकारले आदिवासी जनजातिलाई सौतेनी व्यवहार गर्न नहुने उनको भनाइ छ ।
गैँडाकोट नगरपालिकामा आदिवासी जनजाति समुदायभित्रका १५ जातजातिले बसोबास गर्दै आएका छन । तर, आदिवासी जनजाति समुदायको धर्म, संस्कृति, रीतिरिवाजलाई संरक्षण गर्ने योजनासहित सङग्रहालय निर्माण गर्दा पनि राज्यको माथिल्लो निकाय गैरजिम्मेवार बनेको नेपाल आदिवासी जनजाति महासंघ गैँडाकोट नगर समन्वय परिषदका संस्थापक एवम सङग्रहालय निर्माण समितिका संयोजक गणेशबहादुर दर्लामी मगरले बताए ।
मौलाकालिका मन्दिरदेखि थुम्सीमा रहेको हनुमान मन्दिर, ढबाह ताल, लखन चोकमै बन्दै गरेको रङगशालालगायतका विषयलाई जोडेर हेर्ने हो भने यी सबै क्षेत्रको विकासबाट समृद्ध गैँडाकोटलाई टेवा पुग्ने उनले बताए ।















































