नेपालमा सवारी साधनको बढ्दो चापसँगै सडक दुर्घटनामा वृद्धि भइरहेको छ । यातायात व्यवस्था विभागका अनुसार हाल देशभर ३५ लाख तथा काठमाडौँ उपत्यकामा मात्रै ११ लाखको हाराहारीमा साना–ठूला सवारी साधन सञ्चालन भइरहेका छन् । एउटा सानो मुलुकका निम्ति सवारी साधनको चाप आवश्यकताभन्दा बढी हो । त्यसमा पनि ट्राफिक नियम पालना नगर्ने र चालकको लापर्बाहीका कारण गाडी दुर्घटना बढिरहेका छन् । नेपालमा सडक यात्रा अत्यन्त जोखिमपूर्ण मानिँदै आएको छ । सवारी दुर्घटना भयावह बन्दै गएको ट्राफिक प्रहरी कार्यालयको पछिल्लो तथ्याङ्कले देखाएको छ । अधिकांश सवारी दुर्घटनामध्ये धेरैजसो दुईपाङ्ग्रे अर्थात् मोटरसाइकल तथा स्कुटरमा नै यात्रुको ज्यान जाने गरेको छ । आर्थिक वर्ष ०८१÷८२ मा देशभर २८ हजार ६९२ सवारी दुर्घटना हुँदा २ हजार ५४९ जनाको मृत्यु भएको थियो । आव ०८०÷८१ मा २ हजार ३६९ जनाको सवारी दुर्घटनाका कारण ज्यान गएको थियो । दैनिक औसत ७ जनाको मृत्यु सवारी दुर्घटनाबाट भइरहेको छ ।
ट्राफिक प्रहरीको उल्लेखित तथ्याङ्कले दुर्घटना न्यूनीकरण हुन नसकेको देखाएको छ । जब कि महानगरीय ट्राफिक प्रहरी महाशाखाले चालकलाई ट्राफिक ज्ञान नहुँदा सवारी दुर्घटना बढेको स्वीकार गरेको छ । यसले ट्राफिक अभियान सफल हुन नसकेको देखाउँछ । महाशाखाका अनुसार उपत्यकामा हुने सवारी दुर्घटनामध्ये ९० प्रतिशत दुर्घटना चालकको लापर्बाहीबाट भएको देखिएको छ । यस्तै अवस्था उपत्यका बाहिर पनि छ । बर्सेनि २५ सयभन्दा बढीले दुर्घटनाबाट अनाहकमा ज्यान गुमाउने र अङ्गभङ्ग भई शारीरिकरुपमा बाँच्न बाध्य हुनेको संख्या बढ्दो छ । बढ्दो दुर्घटनाले हाम्रा सडक तथा राजमार्गहरु असुरक्षित छन् भन्ने देखिन्छ । बर्सेनि हजारौँ मानिसले ज्यान गुमाउनुपर्ने नियतिले दुर्घटनाका जोखिम न्यूनीकरण गर्नसमेत चुनौती थपिएको छ । अधिकांश दुर्घटना चालकको लापर्बाहीबाटै हुने गरेको तथ्याङ्क सार्वजनिक हुँदा ढिलो गए अवश्य पुगिन्छ चाँडो गए भन्न सकिन्न भन्ने सन्देशलाई मनन गर्नेहरु बिरलै भेटिन्छन् ।
- ADVERTISEMENT -

विभिन्न तथ्य र तथ्याङ्कले दुर्घटनाको प्रमुख कारण नै तीव्र गतिलाई मानिएको छ । दुर्घटना आकस्मिक हुने भए पनि लापर्बाहीका कारण दिनहुँ घटना घटिरहनु सबैका लागि दुखद् विषय हो । दुर्घटनामा परी अकालमा ज्यान गुमाउनेमा अधिकांश युवा छन् । युवापुस्ताले अन्धाधुन्ध बाइक कुँदाउने, मादक पदार्थ सेवन गरी सवारी चलाउने, भीडभाड र गाडीको चापलाई ख्याल नगर्ने, सडकको स्थिति विचार नगरी जथाभावी सवारी साधन दौडाउने गर्दा दुर्घटना निम्तिने गरेको छ । त्यसमा पनि ठूला गाडीको दादागिरी र पेलाहा प्रवृत्ति दुर्घटनाको अर्को कारक बनेको छ । ट्राफिक प्रहरीले ट्राफिक सचेतना र चेकजाँचको गतिविधि दैनिकरुपमा सञ्चालन गर्दै आए पनि दुर्घटनाको उपक्रम न्यूनीकरण हुन सकेको छैन । जुनसुकै सवारी चालकले पनि सडक अनुशासन पालना गर्ने र ट्राफिक नियमको सही कार्यान्वयन हुने हो भने दुर्घटना न्यूनीकरण हुनसक्छ । अन्यथा गत आर्थिक वर्षभन्दा यो वर्ष पनि दुर्घटनामा ज्यान गुमाउनुपर्नेको संख्या बढ्दै जानेमा दुईमत छैन । ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरणका विषयमा चेतनामूलक कार्यक्रमसहित दुर्घटनाको दुष्परिणामबारे सतर्क गराउनु अति आवश्यक देखिन्छ ।


















































