काठमाडौं / कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२ मा १८ वर्षीया एक नवविवाहिता आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत फेला परेकी छिन् । मृतक सम्झना भट्टलाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले उनका श्रीमान् र ससुरालाई पक्राउ गरी अनुसन्धान थालेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ९डीएसपी० सागर बोहराले मृतकका माइती पक्षको किटानी जाहेरीका आधारमा सम्झनाका श्रीमान् २४ वर्षीय पवन भट्ट र ससुरा हरिदत्त भट्टलाई पक्राउ गरिएको जानकारी दिए । उनीहरूमाथि मुलुकी अपराध संहिता, २०७४ अनुसार आत्महत्या दुरुत्साहनको कसुरमा अनुसन्धान अघि बढाइएको छ ।
- ADVERTISEMENT -

पीडित पक्षले दिएको जाहेरीमा विवाहपश्चात् सम्झनालाई दाइजोको निहुँमा निरन्तर शारीरिक तथा मानसिक यातना दिने गरिएको उल्लेख छ । डीएसपी बोहराले भने, ‘माइती पक्षको आरोपअनुसार घरेलु हिंसा र दाइजोको दबाब नै घटनाको मुख्य कारण देखिन्छ । हामी सबै कोणबाट घटनाको छानबिन गरिरहेका छौं ।’
अनुसन्धानका क्रममा सम्झना र पवनले करिब ६ महिनाअघि मात्रै प्रेम विवाह गरेको खुलेको छ । विवाहपछि उनीहरूबीच विवाद बढ्दै गएको र घटनाको केही दिनअघि मात्र उनीहरूको झगडा स्थानीय प्रहरी चौकीसम्म पुगेको समेत खुलेको छ । चौकीमा भएको छलफलपछि उनीहरूलाई मिलापत्र गराई घर पठाइएको थियो ।
प्रहरीले मृतकको शव पोस्टमार्टमका लागि महाकाली प्रादेशिक अस्पताल पठाएको छ भने पक्राउ परेका दुवै जनालाई अदालतबाट म्याद थप गरी हिरासतमा राखेको छ । घटनाको थप प्रमाण जुटाउन प्रहरीले मृतकको कल डिटेल र सामाजिक सञ्जालको समेत विश्लेषण गरिरहेको जनाएको छ ।










































