चितवन । भरतपुर वडा नं. २, नारायणगढस्थित नारायणी कला मन्दिरले विगतका वर्षहरुमा जस्तै यसवर्ष पनि रोपाइँ जात्रा गर्ने भएको छ । नेपाली कला, साहित्य र रङ्गमञ्चको क्षेत्रमा योगदान दिँदै आएको कला मन्दिरले कला–संस्कृति संरक्षणको पाटोलाई पनि अँगाल्दै आइरहेको छ ।
बिहीबार पत्रकार सम्मेलन मार्फत् रोपाइँ जात्रालाई विगत लामो समयदेखि नै निरन्तरता दिँदै आइरहेको नारायणी कला मन्दिरका अध्यक्ष रोहित कुमार श्रेष्ठले जानकारी दिए । खेतीपातीको काम सकेपछि पञ्चेबाजाको धुनमा रोपाइँ गर्दै मनोरञ्जन गरिने यो पर्व नेपाली परम्परागत एवम् मौलिक जात्रा भएकोले यसलाई जीवन्त राख्नु आमनेपालीको धर्म र कर्तव्य हुने हुँदा कला मन्दिरले पनि हरेक वर्ष रोपाइँ जात्रा आयोजना गर्दै आएको अध्यक्ष श्रेष्ठले बताए ।
- ADVERTISEMENT -

अघि–अघि गोरू अनि हली र बाउसे, पछि–पछि रोपाहारले रोपाइँ गरेझैँ गरिने चलन नै यो जात्राको मुख्य आकर्षण भएको उनले बताए । पुरूषले महिलाको पहिरन लगाएर रोपाइँ गर्ने जात्रामा राधाकृष्णको झाँकीसहित सुन्दर रथको साथमा शोभायात्रा र भजनकीर्तन गर्दै बजार परिक्रमा गर्ने कार्यक्रम तय गरिएको उनले बताए ।
श्रीकृष्ण जन्माष्टमीको अवसरमा भोलि (शनिबार) कला मन्दिरले रोपाइँ जात्रा मनाउने तयारी गरेको जात्राकी संयोजक सुस्मिता श्रेष्ठले जानकारी दिइन् । चितवनजस्तो कृषिको आधार क्षेत्रमा रोपाइँ जात्राले निरन्तरता पाउनुले कृषिकर्ममा लाग्नेहरुका लागि पनि सकारात्मक प्रभाव पर्न सक्ने उनले बताइन् ।
कार्यक्रममा कला मन्दिरका उपाध्यक्ष अनुकूल श्रेष्ठले स्वागत मन्तव्य दिएका थिए भने सचिव सनद पियाले सञ्चालन गरेका हुन् । कार्यक्रममा पूर्वअध्यक्षहरु अमरदेव प्रधान, सुविर श्रेष्ठ, शेखर श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।
मुक्तिलाल–माधुरीदेवी चुके ट्रष्ट नारायणगढले प्रायोजन गरेको कार्यक्रममा यसवर्ष कला मन्दिरबाट जात्राको सुरूवात गरेर बालकुमारी स्कुल चोक, मिलनरोड, शहीदचोक, पुलचोक, मेनरोड, लीलाचोक, दियालो रोड, पोखरा बसपार्क, गणेशचोक, प्रगतिपथ, बालकुमारी चोक हुँदै पुनः नारायणी कला मन्दिर आएर सकिने छ ।
























