भाद्र २ अर्थात् न्यूजप्रवाह साप्ताहिकको विशेष दिन । हामी चौथो वर्ष पूरा गरी पाँचौँ वसन्तमा पाइला टेक्दैछौँ । विसं २०७८ भाद्र २ गतेदेखि आरम्भ भएको यस पत्रिका प्रेस काउन्सिल नेपालबाट ‘ग’ वर्गमा पर्न सफल भएको छ भने तामाङ समुदायबाट सञ्चालित यो नै पहिलो पत्रिकाका रुपमा दर्ज भएको छ । न्यूजप्रवाह साप्ताहिक अविरलरुपमा आफ्नो यात्रामा लम्किरहेको छ । शिशुका रुपमा जन्मिएको यो पत्रिका अझै बाल्यकालमै रहेको छ । न्यूजप्रवाह आरम्भ हुँदा देशमा कोभिडकोे महामारीको अवस्था कायमै थियो । कोभिडकालमा जन्मिएको यो संस्थाले पनि अनेकौँ आरोह–अवरोह, उतारचढाव, दुःखकष्ट, अभाव, कठिनाइ र संघर्षको सामना गर्नुपरेको छ । सूचनाप्रविधिको विकाससँगै सामाजिक सञ्जालको व्यापकता र एआईले सबैतिर प्रभाव जमाउँदै गर्दा पत्रिका सञ्चालन गर्नु फलामको चिउरा चपाउनुसरह हुँदाहुँदै पनि कत्ति पनि विचलित नभईकन मानवजीवनमा आइपर्ने समस्या र संघर्षसँग तुलना गर्दै आफ्नो यात्रामा लम्किरहेका छौँ । यद्यपि पत्रकारिता जगत् अझैसम्म प्रेस स्वतन्त्रताको लागि संघर्षमै जुधिरहेको अवस्था छ ।
संविधानले प्रेस स्वतन्त्रताको प्रत्याभूति गरे पनि व्यवहारिकरुपमा पत्रकारिता क्षेत्र सुरक्षित बन्न सकेको छैन । राज्यले प्रेस स्वतन्त्रताको सम्मान गर्ने प्रतिबद्धता जनाइरहँदा अझै पनि राज्यका निकायबाटै प्रेसमाथि आक्रमण भइरहेको छ । राज्यका विविध प्रतिकूलताबीच पनि न्यूजप्रवाहले सूचना र समाचारहरु पाठकहरुमाझ सम्प्रेषित गराउने अभिभारा पूरा गर्दै आएको छ । यसमा हामी खुसी छौँ । आमपाठक र विज्ञापनदाताहरुको विश्वास र सहयोगकै कारण हामी आज यहाँसम्म आइपुगेका हौँ । सत्यतथ्य, खोजमूलक र समसामयिक घटनाक्रमसँगै र तामाङ समुदायलाई विशेष प्राथमिकतामा राखेर हामी अगाडि बढिरहेका छौँ । समाजमा विभिन्न अवसरबाट पछाडि परेका तामाङ समुदायको उत्थान र प्रोत्साहनमा ध्यान दिँदै सामाजिक न्यायका लागि हाम्रो प्रयास जारी छ । पत्रकारिता समाज रुपान्तरणको प्रमुख माध्यम भएकाले सामाजिक न्यायका लागि आवाज उठाउनु हाम्रो पनि मूल धर्म हो ।
- ADVERTISEMENT -

आगामी दिनहरुमा पनि सामाजिक मूल्य–मान्यतालाई प्राथमिकतामा राख्दै समानता, न्याय र विभेदरहित समाज स्थापनाका लागि समर्पित भइरहने प्रतिबद्धता व्यक्त गर्दछौँ । हाम्रो यस अविरल यात्रामा यस साप्ताहिकसँग जोडिएर विभिन्न भूमिकामा सहयोग गर्ने पत्रकार–सहकर्मीहरु एवम् प्रत्यक्ष, अप्रत्यक्षरुपमा यस पत्रिकासँग आवद्ध रहेर योगदान गर्नुहुने सबै जना धन्यवादका पात्र हुनुहुन्छ । देशविदेशमा रहनुहुने समस्त पाठकवर्ग, लेखक, विज्ञापनदाता तथा हामीलाई सहयोग र सद्भाव व्यक्त गर्ने समस्त शुभचिन्तकहरुप्रति यस विशेष अवसरमा आभार प्रकट गर्न चाहन्छौँ । आगामी दिनहरुमा पनि यहाँहरुको सल्लाह, सुझाव र रचनात्मक प्रतिक्रियाको प्रतीक्षा गर्दै अझै बढी जिम्मेवारपूर्वक व्यावसायिक पत्रकारिताको यात्रामा सहयात्रा गर्ने आशा र विश्वास हामीले लिएका छौँ ।
























