काठमाडौं / संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ऐतिहासिक कदम चाल्दै देशभरका स्थानीय तहमा पूर्णकालीन प्रमुख प्रशासकीय अधिकृतको व्यवस्था गरेको छ । मन्त्रालयले एकैपटक १२२ जना उपसचिव र ९७ जना शाखा अधिकृतको सरुवा गरेको छ, जसमध्ये अधिकांशलाई पालिकाहरूको प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाइएको हो ।
अब कुनै पनि गाउँपालिका वा नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा सञ्चालन हुने छैनन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले यसलाई महत्त्वपूर्ण उपलब्धिका रूपमा व्याख्या गरेकी छन् । उनले भनिन्, ‘स्थानीय तह पुनर्संरचनापश्चात् पहिलोपटक देशभरका नगरपालिका तथा गाउँपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृतको संख्या शून्य पारिएको छ ।’
- ADVERTISEMENT -

मन्त्री न्यौपानेले जिम्मेवारी सम्हाल्दा देशभरीका ७५३ पालिकामध्ये २०० पालिका निमित्तका भरमा चलिरहेको उल्लेख गर्दै आजबाट ती सबै स्थानीय तहलाई निमित्तविहीन बनाइएको घोषणा गरिन् ।
निमित्तको युगको अन्त्य
यसअघि १०५ नगरपालिका र ८६ गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा सञ्चालन भइरहेका थिए । ती सबै स्थानीय तहमा दरबन्दीअनुसारका प्रमुख प्रशासकीय अधिकृतहरू खटाइएकाले पूर्ण जिम्मेवारीसहितको प्रशासनिक नेतृत्व सुनिश्चित भएको मन्त्री न्यौपानेले बताइन् । यसबाट स्थानीय तहको कार्यसम्पादनमा पारदर्शिता, जवाफदेहिता र प्रभावकारिता बढ्ने अपेक्षा गरिएको छ ।
मन्त्रालयका अनुसार, निजामती सेवा ऐन, २०४९ अनुसार अवकाशको चरणमा रहेका कर्मचारीहरूबाहेक, सरुवामा पारदर्शिता, कार्यकुशलता र भौगोलिक क्षेत्रको अनुभव दिलाउने नीति अपनाइएको छ । त्यसक्रममा २ वर्षभन्दा बढी मन्त्रालय वा अन्तर्गत कार्यरत, उपत्यका केन्द्रित कार्यालयमै सीमित, स्थानीय तहमा काम नगरेका, प्रदेशमा कामकाजका लागि खटिएका तथा फाजिल वा अतिरिक्त समूहमा रहेका कर्मचारीलाई प्राथमिकतामा राखिएको छ । मन्त्री न्यौपानेले ‘स्थानीय तह निमित्त कार्यालय प्रमुखका भरमा चलाउने प्रवृत्ति अन्त्य गर्छु’ भन्ने आफ्नो घोषणालाई पूरा गरेको बताउँदै यो निर्णय देश र जनतालाई केन्द्रमा राखेर गरिएको स्पष्ट पारिन् ।
मन्त्री न्यौपानेले जिम्मेवारीमा खटिएका कर्मचारीहरूलाई आफ्नो जिम्मेवारी उच्च दक्षता र इमानदारीसाथ निर्वाह गर्न निर्देशन दिएकी छन् । मन्त्रालयले दरबन्दीअनुसारको प्रमुख प्रशासकीय अधिकृत खटाएकाले यसअघि निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई दिइएको आर्थिक वा प्रशासनिक जिम्मेवारी स्वतः रद्द भएको जनाएको छ ।
सहसचिव प्रमुख प्रशासकीय अधिकृत हुने ९ वटा उपमहानगरपालिका र एउटा महानगरपालिकामा समेत छिट्टै दरबन्दीअनुसारको प्रमुख प्रशासकीय अधिकृत खटाउने तयारी भइरहेको मन्त्री न्यौपानेको सचिवालयले जनाएको छ । यो कदमले स्थानीय तहको प्रशासनिक सुदृढीकरणमा ठूलो योगदान पुर्याउने विश्वास गरिएको छ ।










































