काठमाडौं / नेपाली सेनाले बुधबार साँझ ६ बजेदेखि बिहीबार बिहान साढे १० बजेसम्म विभिन्न जेलबाट फरार भएका १९९ जना कैदी र ९४ नाल हतियार बरामद गरेको छ ।
सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार सप्तरीस्थित जिल्ला कारागारबाट भाग्ने प्रयास गरिरहेका १९२ जना कैदीहरूलाई नेपाली सेनाले नियन्त्रणमा लिएको छ ।
- ADVERTISEMENT -

त्यस्तै, कञ्चनपुरको चाँदनीमा भारतीय सीमा सुरक्षा बलले भारततर्फ जाँदै गरेका ७ जना कैदीहरूलाई नियन्त्रणमा लिई नेपाली सेनालाई बुझाएको छ भने १ जना कैदीलाई स्थानीयले नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालयलाई बुझाएका छन् ।
निर्देशनालयका अनुसार १२ जना कैदी कञ्चनपुर कारागारमा आफैँ हाजिर भएका छन् । रामेछापस्थित जिल्ला कारागारमा कैदीहरूले बाहिर जान पाउनुपर्ने भन्दै गरेको झडपलाई नियन्त्रणमा लिनका लागि नेपाली सेनाले गोली चलाएको छ ।
गोली लागेर १२ जना घाइते भएको र दुई जनाको मृत्यु भएको निर्देशनालयले जनाएको छ । काभ्रेको बनोपास्थित नयाँ बस्तीमा फेला परेको शङ्कास्पद वस्तु बम सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको जनाएको छ ।
























