काठमाडौं / प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै दुई जना नयाँ मन्त्री नियुक्त गरेकी छन् ।
पूर्वअर्थसचिव रामेश्वर खनाल अर्थमन्त्री बनेका छन् भने नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङलाई उर्जा, भौतिक पूर्वाधार र सहरी विकाससमेतको जिम्मेवारी दिइएको छ ।
- ADVERTISEMENT -

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार दुवै मन्त्रीको शपथ ग्रहणको तयारी भइरहेको छ ।
घिसिङले उर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
यसअघि सरकारी सेवा र प्राविधिक नेतृत्वमार्फत चर्चामा आएका उनी पहिलो पटक मन्त्रीका रूपमा सरकारमा सहभागी हुन लागेका हुन् ।
वित्तीय अनुशासन र पारदर्शिताका पक्षमा रहेर काम गरेका रामेश्वर खनाल पूर्वअर्थ सचिव हुन् । उनले लामो समय सरकारका विभिन्न तहमा काम गर्दै सशक्त अर्थ नीति निर्माणमा भूमिका खेलेका थिए । अब उनी राजनीतिक भूमिकाबाट अर्थ मन्त्रालयको नेतृत्व गर्न लागेका छन् ।
प्रधानमन्त्री कार्कीले हालै मात्रै अन्तरिम सरकारको नेतृत्व सम्हालेकी हुन् । उनले सरकारलाई पारदर्शिता, दक्षता र जनउत्तरदायी सेवातर्फ उन्मुख गराउने बताउँदै आएकी छन् ।
मन्त्री चयनमा पनि प्राविधिक क्षमता र नीतिगत स्पष्टता भएका व्यक्तिहरूलाई अघि सारिएको बताइएको छ ।























