चितवन / वर्षाका कारण मुग्लिन–नारायणगढ सडकखण्डको तुइन खोला पुल नजिक खसेको पहिरो पन्छाउने कार्य आज (आइतबार) बिहानैदेखि पुनः सुरु गरिएको छ । शुक्रबारदेखि निरन्तर खसिरहेको पहिरोका कारण सडक अवरुद्ध भएपछि सयौं यात्रु र सवारी साधन बाटोमै अलपत्र परेका छन् ।
सडक डिभिजन कार्यालय भरतपुरका अनुसार, अहिले बिहानैदेखि मुग्लिनतर्फ र नारायणगढतर्फबाट दुईवटा मेसिन परिचालन गरी पहिरो हटाउने काम तीव्र गतिमा भइरहेको छ । यद्यपि, ढुंगा खस्ने क्रम अझैसम्म नरोकिएकाले काममा केही चुनौती थपिएको छ । डिभिजन कार्यालयले थप पहिरो नखसे र काममा कुनै अवरोध नआएमा छिटोभन्दा छिटो सवारी आवागमन सञ्चालनमा ल्याउन सकिने जनाएको छ ।
- ADVERTISEMENT -

चितवनको इच्छाकामना गाउँपालिकास्थित तुइन खोलानेर शुक्रबार रातिदेखि नै पहिरो खस्न सुरु भएको थियो । त्यसयता सडक पूर्ण रूपमा अवरुद्ध हुँदा दसैंको मुखमा यात्रा गरिरहेका हजारौं यात्रुहरूले सास्ती भोग्नुपरेको छ । सडकको दुवैतर्फ सवारी साधनको लामो लाइन लागेको छ भने यात्रुहरू भोकभोकै र अनिँदो बस्न बाध्य भएका छन् ।
पहिरोका कारण मुग्लिन–नारायणगढ सडकखण्डमा यात्रा गर्ने यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न वा अत्यावश्यक कामबाहेक यात्रा नगर्न प्रशासनले अनुरोध गरेको छ । सडक खुलाउने प्रयास जारी रहे पनि पूर्ण रूपमा कहिले खुल्छ भन्ने निश्चित भएको छैन ।























