चितवन / वर्षासँगै पहिरो खस्ने क्रम नरोकिएपछि नारायणगढ–मुग्लिन सडक खण्ड र मुग्लिन–नागढुंगा सडक खण्डमा यातायात अवरुद्ध भएको छ । नारायणगढ(मुग्लिन सडकको तुइन खोला र मुग्लिन–नागढुंगा सडकको जवाङ खोला क्षेत्रमा खसेको पहिरोले यात्रुहरूलाई ठूलो सास्ती भएको छ ।
नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोलानजिक सोमबार रातिदेखि सुख्खा पहिरो खसेको छ । सडक डिभिजन भरतपुरले पहिरो पन्छाउने काम भइरहेको जानकारी दिए ।
- ADVERTISEMENT -

सडक डिभिजन भरतपुरले एक विज्ञप्तिमा भन्यो, ‘मुग्लिन–नारायणगढ सडक तुइन खोलानजिक झरेको पहिरो साइटमा तैनाथ उपकरणले सफा गरिरहेको छ। तर, सवारी चालकले सवारी साधन अव्यवस्थित तरिकाले रोकेर राख्दा साइटमा थप उपकरण र इन्धन लैजान समस्या परेको अवस्था छ।’
यस्तै, मुग्लिन–नागढुंगा सडक खण्ड अन्तर्गत धादिङको जवाङ खोला नजिकै पहिरो जाँदा सडक दुवैतर्फ अवरुद्ध भएको छ। धादिङ प्रहरीले दिएको जानकारीअनुसार, सोमबार राति सुख्खा पहिरो खसेर बाटो अवरुद्ध बनेको थियो । मंगलबार बिहान थप ठूलो पहिरो खसेको र अहिले पनि पहिरो खस्ने क्रम नरोकिएकाले पन्छाउने कार्यमा बाधा पुगेको उनले बताए । धादिङ प्रहरीले अत्यावश्यक कामबाहेक यात्रा नगर्न र वैकल्पिक सडक प्रयोग गर्न पनि आग्रह गरेको छ ।
- ADVERTISEMENT -



















































