हरेक दिन गाडी दुर्घटनामा मानिसको मृत्यु भइरहेको खबर सार्वजनिक हुँदै आएको छ । सवारी दुर्घटना हामी नेपालीको एउटा नियति नै बन्न पुगेको छ । गत आर्थिक वर्षको तथ्यांकमात्रै हेर्ने हो भने पनि औसत दैनिक सात जना व्यक्तिको मृत्यु सवारीसाधन दुर्घटनाबाट हुने गरेको छ । यो क्रम विगतका वर्षभन्दा बढ्दोरुपमा चलिरहेको छ । हरेक दिन दुर्घटनामा परी निहत्था जनताले ज्यान गुमाइरहँदा सरकारी निकायले सवारी दुर्घटना कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने सम्बन्धमा गम्भीर चासो र चिन्ता लिएको देखिँदैन । आर्थिक वर्ष २०८१–०८२ मा देशभर २८ हजार ६९२ वटा सवारी दुर्घटनामा २ हजार ५४९ जनाको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ । अधिकांश दुर्घटनाको कारण चालकको लापरबाहीका कारण भएको प्रहरीले जनाएको छ । वार्षिक २५ सय जनाभन्दा बढीले ज्यान गुमाइरहँदा राज्यले गम्भीरता नदेखाउनु विडम्बनाको विषय हो । जनताको जीवनको सवाल गाडीसँग जोडिएको र अत्यधिक दुर्घटनाको कारण चालककै लापरबाहीबाट भएको देखिएबाट सरकारले तय गरेको नीति नियमको प्रभावकारी पालना नभएको प्रष्ट हुन्छ । बर्सेनि दोहरिने दुर्घटना न्यूनीकरण गर्ने सम्बन्धमा सरकारले कारणसहित समाधानको उपाय निकाल्न ढिलाइ भएको अनुभूति यतिबेला गरिएको छ ।
मुलुकको संघीय राजधानी काठमाडौँ, ललितपुर र भक्तपुरमै कहालीलाग्दा दुर्घटना हुने गरेका छन् । बढ्दो जनघनत्व र सवारीसाधनको चापसँगै लापरबाही पनि बढ्ने गरेका छन् । उपत्यकामा मात्रै दैनिक एक जनाभन्दा बढीले दुर्घटनाबाट ज्यान गुमाइरहेका छन् । देशभर नै दुर्घटनाको प्रमुख कारण चालकको लापरबाहीलाई मानिएको छ । एउटा चालकको हातमा दर्जनौँ यात्रुको जीवन जोडिएको हुन्छ । एउटा चालकको कमीकमजोरी तथा लापरबाहीको नियति पनि दर्जनौँ यात्रुले नै भोग्नुपर्ने हुन्छ । दुर्घटनामा सकभर चालक भने जोगिएका हुन्छन् । यात्रुहरूलाई गन्तव्यमा पु¥याउनुपर्ने चालक अपठ्यारो पर्दा आफैँ हामफालेर ज्यान जोगाउने ध्याउन्नमा हुन्छन् । जसले दर्जनौँ यात्रुको जीवन जोखिममा पर्छ । दुर्घटनाका नौ कारणमध्ये पहिलो चालकको लापरबाहीपछि दोस्रो कारण तीव्र गतिलाई मानिएको छ । त्यसपछि मादक पदार्थ सेवन, गाडीको यान्त्रिक गडबडी, उछिन्ने (ओभरटेक) होडबाजी र पैदल यात्रुको लापरबाहीलाई कारण मानिएको छ । यस्तै, सडकमा हुने तोडफोडका घटना, सडकको दूरावस्था र मौसम तथा पशुचौपायाका कारण हुने दुर्घटनालाई कारण देखाइएको छ ।
- ADVERTISEMENT -

ट्राफिक प्रहरीले सयौँ दुर्घटनाका कारणहरूको खोज र अनुसन्धानका क्रममा प्रमुख कारण पत्ता नलगाएको होइन । यद्यपि दुर्घटना कुन कुन कारणले हुन्छन् भन्ने कुरा सरोकारवाला सबै निकायलाई जाहेर नै भएको विषय हो । तर, सुधारका लागि सरकारले अझैसम्म नीतिगत व्यवस्था गर्न सकेको छैन । धेरै मानवीय क्षति भएका दुर्घटनामा सरकारले घाइतेहरूको उद्धार तथा उपचारबारे चासो देखाए पनि सवारी दुर्घटनाको छानबिन समिति गठन गरेर प्रतिवेदनअनुरुप नीतिगत व्यवस्था लागू गर्न सकिरहेको छैन । दुर्घटनामा प्रायःजसो मोटरसाइकल र स्कुटर चालक पर्ने गरेका छन् । दुईपाङ्ग्रे सवारी आफैँमा जोखिमपूर्ण मानिन्छ । मोटरसाइकल र स्कुटरको बढ्दो दुर्घटनासँगै ठूला सवारीसँग ठोक्किने पनि दुईपाङ्ग्रे नै बढी हुन्छन् । दिनहुँ दुर्घटना भइरहँदा पनि दुर्घटनाको कारणसहित सुधारको नीति अवलम्बन नगरिँदा यात्रुको जीवनबारे राज्य संवेदनशील हुन सकेको छैन । नेपालको यातायात क्षेत्रमा देखिएको समस्या समाधानका लागि यातायात व्यवस्था विभागको सबैभन्दा पहिले ध्यानाकर्षण हुनुपर्छ । दुर्घटनाका विभिन्न कारण विश्लेषण गर्दै चालक एवम् यातायात व्यवसायीलाई मर्यादित र जिम्मेवार बनाउन आवश्यक नीति तर्जुमा गरी कार्यान्वयन गर्नेतर्फ सरकारको ध्यान जानु जरूरी देखिन्छ ।


















































