– बबिलाल तामाङ
चितवन । भरतपुर महानगरपालिका वडा नं. २, क्षेत्रपुरमा स्थित सिद्धि विनायक बचत तथा ऋण सहकारी संस्था लि. (साकोस) ले यही असोज २७ गते १८औं वार्षिक साधारण सभा मनाउने भएको छ ।
१८औं वार्षिक साधारण सभाको पूर्वसन्ध्यामा बिहीबार बसेको संयुक्त बैठकले विभिन्न विधाका शेयर सदस्यहरुलाई सम्मान गर्ने निर्णय गरेको संस्थाका अध्यक्ष थिरप्रसाद धितालले जानकारी दिए ।
- ADVERTISEMENT -

बैठकले वार्षिक साधारण सभाको अवसर पारेर असल बचत, असल कारोबारी, असल बाल बचत, असल खुत्रुके बचतबाट दुई÷दुई जना, सदस्य वृद्धि योगदान र शैक्षिकतर्फ एक÷एक जनालाई सम्मान गर्ने निर्णय गरेको हो ।

बैठकमा अध्यक्ष धितालले गत आवमा सम्पन्न गरिएको संस्थागत गतिविधिबारे प्रकाश पारे भने २०८२/०८३ को नीति तथा कार्ययोजनाबारे वृहत रुपमा छलफल समेत गरिएको थियो ।
- ADVERTISEMENT -

साकोसका संस्थापक अध्यक्ष शालिक घिमिरेले शेयर सदस्यहरुलाई प्रदान गरिने सेवा प्रवाहको प्रतिक्रिया विवरण संकलनका लागि सुझाव दिए । सेवा प्रवाहको प्रतिक्रिया सोचे अनुरुप नभएमा आगामी दिनमा अन्य केही नयाँ कार्यक्रम ल्याउनु पर्नेमा उनको जोड थियो ।

बैठकमा उपाध्यक्ष मुकुन्दप्रसाद गौतम, सचिव जयराम पाण्डे, सहसचिव संगीता गौतम, कोषाध्यक्ष रामप्रसाद घिमिरे, व्यवस्थापक विकास पौडेल लगायत विभिन्न उपसमितिका सदस्यहरुको उपस्थिति रहेको थियो ।
फलफूल तथा तरकारी व्यवसायीहरुलाई एकीकृत गर्ने उद्देश्यले २०६५ साल स्थापना भएको यस साकोसले पछिल्लो समय स्थानीयस्तरमा समेत सेवा सुरु गर्दै आएको छ । संस्थामा हाल दुई हजार बढी शेयर सदस्यहरु आवद्ध छन् भने यही असोज २७ गते मनाइने १८औं वार्षिक साधारण सभाका लागि तयारी तिब्र पारिएको छ ।


















































