काठमाडौं / जल तथा मौसम विज्ञान विभागले आज भोलि र पर्सि (१८, १९ र २० गते शनिबारदेखि सोमबारसम्म) देशका विभिन्न भागमा भारी वर्षाको सम्भावना रहेको भन्दै विशेष सतर्कता अपनाउन आग्रह गरेको छ । विशेषगरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भीषण वर्षा हुने सम्भावना रहेकाले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडिआरआरएमए)ले यातायात आवागमनमा रोक लगाउने लगायतका सुरक्षा उपायहरू घोषणा गरेको छ ।
प्राधिकरणले जारी गरेको सूचना अनुसार, १८ देखि २१ गतेसम्म लामा दूरीका सवारी साधन र काठमाडौं उपत्यका भित्रिने तथा बाहिरिने सबै प्रकारका सवारी साधनको आवागमन पूर्ण रूपमा बन्द गरिनेछ । यो निर्णय विशेषगरी भारी वर्षाका कारण बाढी, पहिरो र डुबानको जोखिमलाई मध्यनजर गर्दै यात्रुहरूको सुरक्षा सुनिश्चित गर्नका लागि लिइएको हो ।
- ADVERTISEMENT -

प्राधिकरणका उपसचिव तथा प्रवक्ता शान्ति महतले भने, ‘यस अवधिको यात्रा अत्यन्त जोखिमपूर्ण हुन सक्ने भएकाले यात्रुहरूलाई कुनै पनि अनावश्यक यात्रा नगर्न र सम्भव भएसम्म घरमै बस्न अनुरोध गर्दछौं । स्थानीय प्रशासन र सुरक्षा निकायहरूलाई यस निर्णयको पूर्ण पालना गराउन र निरन्तर अनुगमन गर्न निर्देशन दिइएको छ ।’
सवारी आवागमन बन्द गरिएकाले अत्यावश्यक सेवाका सवारी साधन (एम्बुलेन्स, दमकल, सुरक्षाकर्मीका गाडी, लगायत) बाहेक अन्य सबै सवारी साधन चल्ने छैनन् । यसले दशैंको मुखमा घर फर्कने यात्रुहरूलाई केही असहजता भए पनि मानवीय क्षति हुन नदिनका लागि यो निर्णय अपरिहार्य रहेको प्राधिकरणले जनाएको छ ।
सर्वसाधारणलाई सूचित रहनका लागि रेडियो, टेलिभिजन, अनलाइन सञ्चार माध्यम र सामाजिक सञ्जालमार्फत आधिकारिक जानकारीहरू पछ्याउन पनि आग्रह गरिएको छ । यस विषम परिस्थितिमा धैर्यधारण गर्न र सरकारी निर्देशनहरूको पालना गर्न सबैलाई अनुरोध गरिएको छ । थप जानकारीका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको वेबसाइट www.bipad.gov.np मा सम्पर्क गर्न सकिनेछ ।























