काठमाडौं / अविरल वर्षा तथा त्यसबाट सिर्जित बाढीपहिरोका कारण क्षतविक्षत बनेको बीपी राजमार्गको स्थलगत अवलोकन तथा मर्मत कार्यको अनुगमन गर्न भौतिक पूर्वाधार तथा यातायात, शहरी विकास तथा ऊर्जा मन्त्री कुलमान घिसिङ आज काभ्रे जाँदैछन् ।
गत असोज १७, १८ र १९ गतेको भीषण वर्षाका कारण बीपी राजमार्गका विभिन्न खण्डमा व्यापक क्षति पुगेको छ, जसले गर्दा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ । कतिपय स्थानमा पैदल यात्रुलाई समेत आवतजावतमा कठिनाइ भएको छ भने केही ठाउँमा स्थानीयहरू भिरको पहरो समाउँदै जोखिमपूर्ण तरिकाले यात्रा गर्न बाध्य भएका दृश्यहरू हालै सार्वजनिक भएका थिए ।
- ADVERTISEMENT -

मन्त्री घिसिङको यो भ्रमणले राजमार्गको दुरवस्था र मर्मत कार्यको प्रगतिबारे प्रत्यक्ष जानकारी लिने अपेक्षा गरिएको छ । उनीसँगै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव र सडक विभागका महानिर्देशक लगायतको उच्चस्तरीय टोली पनि रहनेछ । यो अवलोकन भ्रमणले क्षतिग्रस्त राजमार्गको पुनर्निर्माण र दीर्घकालीन समाधानका लागि आवश्यक कदम चाल्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।
























