काठमाडौं / नेपाली राष्ट्रिय महिला फुटबल टोलीले भारतलाई पराजित गर्दै त्रिकोणात्मक अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा महत्वपूर्ण जित हात पारेको छ ।
भारतको शिलाङस्थित जवाहरलाल नेहरू रंगशालामा सोमबार सम्पन्न खेलमा नेपालले घरेलु टोली भारतलाई २–१ गोल अन्तरले हराएको हो । नेपालका लागि फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ले दुई सुन्दर गोल गर्दै टिमलाई जित दिलाइन् ।
- ADVERTISEMENT -

खेलको सुरुवातमै नेपालले आक्रमक खेल प्रदर्शन गरेको थियो । दोस्रो मिनेटमै सावित्राले पहिलो गोल गर्दै नेपाललाई अग्रता दिलाइन् । पहिलो हाफमा नेपालले बलमा पकड कायम राखे पनि थप गोल गर्न सकेन ।
दोस्रो हाफमा नेपालले आक्रमणको धार निरन्तर बढाउँदै लग्यो । खेलको ६३औँ मिनेटमा सावित्राले व्यक्तिगत दोस्रो गोल गर्दै टिमको अग्रता दोब्बर पारिन् । उनले पेनाल्टी क्षेत्रबाहिरबाट प्रहार गरेको बल भारतीय गोलरक्षक पार गर्दै जाली चुमाएको थियो ।
त्यसपछि भारतले खेलमा फर्कने प्रयास गर्यो । खेलको ८१औँ मिनेटमा करिश्मा पुरुषोतम् श्रीभोल्करले गोल गर्दै भारतका लागि अन्तर घटाइन् । तर बाँकी समयसम्म नेपालले अग्रता जोगाउँदै खेल २–१ ले आफ्नो पक्षमा पार्न सफल भयो ।
यस जितसँगै नेपालले प्रतियोगिताका दुई खेलबाट तीन अंक जोडेको छ । यद्यपि, इरानले लगातार दुई खेलमा जित निकाल्दै उपाधि उचालेको छ । इरानले यसअघि नेपाल र भारत दुबैलाई पराजित गरेको थियो ।






















