भरतपुर / ‘जेनजी’ प्रदर्शनका क्रममा देशका विभिन्न कारागार र सुधारगृहबाट भागेकामध्ये अझै करिब पाँच हजार कैदी फरार छन् । प्रदर्शन चर्केपछि विभिन्न २८ वटा कारागारबाट १३ हजार ५८५ कैदी र नौवटा बाल सुधारगृहबाट ९६४ बालबन्दी गरी १४ हजार ५४९ बन्दी भागेका थिए । तीमध्ये हालसम्म नौ कैदी र ५८२ बालबन्दी गरी कुल नौ हजार ५८२ बन्दी कारागार फर्केका छन् ।
चितवन जिल्ला कारागारबाट भागेका कैदीबन्दीमध्ये ११ भारतीय नागरिकसहित १३९ जना अझै फर्किएका छैनन् । उनीहरुसहित दुई बालबालिकासमेत सम्पर्कमा आएका छैनन् । यस कारागारबाट गत भदौ २५ गते चार नाबालकसहित ७४३ कैदीबन्दी भागेका थिए । तीमध्ये ५९१ जना यहाँ फर्किएका छन् भने नौ जना अन्य कारागारमा पुगेका छन् । उनीहरुसहित दुई बालबालिकासमेत सम्पर्कमा आएको कार्यालयका प्रमुख रवीन्द्र्रप्रसाद ढुङ्गानाले जानकारी दिए ।
- ADVERTISEMENT -

यसअघि सम्पर्कमा आएकासमेत सम्पर्कविहीन भएका हुन । सम्पर्कविहीन भएकाहरुको सम्पर्क ठेगानासहित सम्बन्धित प्रहरी एकाइहरुमा पत्राचार गरिएको ढुङ्गानाले जानकारी दिए । यसरी सम्पर्कविहीन भएकाहरुमा धेरै लागुऔषध र जबरर्जस्ती करणीका रहेको उनले जानकारी दिए । फरार भएकामध्ये दुर्लभ एकसिङ्गे गैंँडा चोरी सिकारीसमेत रहेका छन् ।
कारागार कार्यालयले गत असोज २० गतेसम्म कारागार कार्यालयको सम्पर्कमा आउनका लागि आग्रह गरेको थियो । कारागारले तोकेको समयसम्म सम्पर्कमा नआएमा कारागार ऐन २०७९ र प्रचलित कानुनअनुसार कारबाही गरिने जनाएको थियो ।
फरार रहेका कैदीबन्दीलाई लुकाउने, आश्रय दिने गरेको पाइएमा आश्रय दिने व्यक्तिलाईसमेत कसुरदार ठानी कारबाही गरिने उनले बताए । अरु नवलपरासी (वर्दघाट–सुस्ता)पूर्वसहित अन्य जिल्लाका रहेका छन् ।
हाल फर्किएकामध्ये ६२ जनालाई प्रहरीले विभिन्न स्थानबाट पक्राउ गरी कारागारमा बुझाएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीले सबै एकाइमार्फत फरार कैदीबन्दीको खोजी भइरहेको बताए् । उनले भने, “फरार व्यक्ति पक्राउ गर्न सबैको साथ र सहयोग आवश्यक छ ।”
कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेका अनुसार चार हजार ५९६ कैदी र ३८६ बालबन्दी गरी कुल चार हजार ९८२ बन्दी अझै फरार छन् ।
सरकारले फरार कैदीबन्दीलाई कारागार फर्कन ‘अल्टिमेटम’ दिएको छ । ठूलो सङ्ख्यामा विभिन्न कसुरमा कैद सजाय भुक्तान गरिरहेका कैदी फरार हुँदा समाजमा सुरक्षा चुनौती थपिएपछि सरकारले फरार कैदीबन्दीलाई कारागारमा फर्काउन विशेष अभियान सञ्चालन गरिरहेको छ । अभियानअन्तर्गत फरार कैदीलाई नियन्त्रणमा लिँदै सुरक्षाकर्मीले सम्बन्धित कारागारमा बुझाइरहेका छन् ।
मन्त्रालयले कारागार बाहिर रहेका कैदीबन्दीलाई खोजी, नियन्त्रण र पक्राउ गरी कारागारमा शीघ्र फिर्ता ल्याउन सम्बन्धित जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सुरक्षा तथा अन्य निकायका प्रतिनिधि सदस्य रहने गरी फरार बन्दी खोजी तथा पक्राउ कार्यदलसमेत गठन गरेको थियो ।
प्रदर्शनको मौका पारेर चितवनसहित सुनसरीको झुम्का, सोलुखुम्बु, सप्तरी, महोत्तरी, रौतहट, सिन्धुली, काठमाडौँका नक्खु, डिल्लीबजार, जगन्नाथदेवल, मकवानपुर, रसुवा, तनहुँ, कास्की, पर्वत, म्याग्दी, कपिलवस्तु, दाङ तुलसीपुर, नौवस्ता बाँके, रुकुम पश्चिम, नवलपरासी, जुम्ला, बझाङ, कैलाली, दार्चुला, बैतडी, डडेल्धुरा र कञ्चनपुर कारागारबाट १३ हजार ५८५ कैदीबन्दी भागेका थिए । यस्तै, मोरङ, पर्सा, भक्तपुर, मकवानपुर, कास्की, रुपन्देही, जयण्डु, नौवस्ता र डोटी बालसुधारगृहबाट ९६४ बालबन्दी भागेका थिए ।
सुरक्षा घेरा तोडेर भाग्ने क्रममा रामेछापमा तीन, धादिङ र सप्तरीमा दुई÷दुई कैदीको गोली लागेर मृत्यु भएको थियो । यस्तै, नौवस्ता बालसुधारगृहमा झडप हुँदा पाँच र डोटी बालसुधारगृहमा एक बालबन्दीको मृत्यु भएको थियो । कारागार कार्यालयहरूले फरार कैदीबन्दीलाई अविलम्ब कारागारमा फर्की आउन सूचित गराउँदै आएका छन् । सरकारको सूचनालाई बेवास्ता गरी फरार रहेका कैदीबन्दीलाई प्रचलित कानुनबमोजिम कारबाही गरिने विभागले जनाएको छ ।
देशभरका ७२ जिल्लामा रहेका ७५ वटा कारागार र बालगृहमा विभिन्न कसुरमा सजाय भोगिरहेका ३० हजार ६४१ कैदी र बालबन्दी रहेका छन् ।























