चितवन / रत्ननगर नगरपालिकाको आर्थिक वर्ष २०८२÷०८३ को प्रथम चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । चार महिनाको अवधिमा रत्ननगरमा भएका कार्यसम्पादन, मूल्याङ्कन, सुशासन तथा सेवा प्रवाहका विषयमा नगरवासीहरुको सुझावका आधारमा भावी योजना निर्माणका लागि सार्वजनिक सुनुवाइ गरिएको हो ।
नगरप्रमुख प्रलाद सापकोटाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत प्रकाश खनालले नगरपालिकाबाट चार महिनाको अवधिमा भएको कार्यप्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
- ADVERTISEMENT -

सो अवसरमा उनले जेनजी प्रदर्शनकारीको तोडफोड र आगजनीबाट ध्वस्त भएको नगरपालिकाको दुईवटा प्रशासनिक भवन र १६ वटै वडा कार्यालयको पुनर्निमाणका लागि विशेष नगरसभा आह्वान् गरी पुनर्निमाण तथा व्यवस्थापन कोष निर्माण गरिएको बताए । उनले नगरपालिकाले प्रशासनिक र वडा कार्यालय भवनको पुनर्निमार्णको काम थालनी गरिसकेको बताए ।
आर्थिक वर्ष २०८२÷०८३ का लागि नगरपालिकाले एक अर्ब ४२ करोड रुपैयाँ विनियोजन गरेको थियो । कुल बजेटमध्ये चालू खर्चतर्फ ८७ करोड र पुँजीगततर्फ ५५ करोड रुपैयाँ विनियोजित गरिएकोमा विशेष नगरसभाले चालू खर्चतर्फ रहेको पाँच करोड रुपैयाँ पुँजीगत खर्चमा सारेर पुनर्निमाणको काम सुरू गरेको प्रमुख प्रशासकीय अधिकृत खनालले बताए ।
चालू आर्थिक वर्षको चार महिनामा साना ठूला गरी ६० वटा योजना निर्माणको लागि २४ करोडको ठेक्का भएको र ११ करोड रुपैयाँको योजनामा सम्झौतासमेत भइसकेको उनले जानकारी दिए । नगरवासीहरुले गौरव तथा ठूला योजना योजना अगाडि बढाउन जनप्रतिनिधिहरुलाई आग्रहसमेत गरेका छन् ।
सार्वजनिक सुनुवाइमा नगरवासीहरुले दीर्घकालीन योजनाअन्तर्गत कृष्णसार स्थानान्तरण, वाटर किङ्डम, रतननगर हरियाली पार्क, सरसफाइ, लागूऔषध दुव्र्यसनी नियन्त्रण, विद्युत् आपूर्ति, फुटपाथ व्यवस्थापन, स्वास्थ्यसेवा, पर्यटकीय क्षेत्रमा पूर्वाधार निर्माण र शिक्षा र स्वास्थ्यमा प्रश्न, गुनासो र सुझाव दिएका थिए ।
कार्यक्रममा पत्रकार तथा लेखक फणिन्द्रप्रसाद लामिछाने, सामुदायिक सडक सुरक्षा मञ्चका अध्यक्ष चन्द्रकान्त ओझा, अगुवा युवा दीपक थापा, रत्ननगर खानेपानी रत्ननगर–३ वडा समितिका संयोजक शम्भुभक्त थपलिया, नेता रुद्र गुरूङ, सौराहाका व्यवसायी गोकर्ण गिरी, टोल विकास संस्थाका अध्यक्षहरु अम्बिका पुरी, लक्ष्मीधर शर्मा, लक्ष्मी पौडेल, वेदप्रसाद पाण्डे, युवाहरु किरण श्रेष्ठ, दीपक पुरी, चित्रसेन बाबा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष आशाराम महतो, उद्यमशील महिला समूहकी अध्यक्ष गीता सिंखडालगायतले शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ, विकास निर्माण, सुशासन तथा लागूऔषध दुव्र्यसनी नियन्त्रण केन्द्रित प्रश्न, गुनासो र सुझाप प्रस्तुत गरेका थिए ।
नगरवासीको प्रश्नको जवाफ दिँदै नगरप्रमुख सापकोटाले रत्ननगरलाई विकासको हिसाबले उचाइमा लैजानेगरी काम गरेको भन्दै जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिले लक्ष्यसम्म पुग्न कठिनाइ हुने देखिएको बताए । शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर आफूले काम गरिरहेको भन्दै रत्ननगरसहित पूर्वी चितवनका चारवटै पालिकाका अतिविपन्नको उपचारको लागि बकुलहर रत्ननगर अस्पताल र भरतपुर सरकारी अस्पतालमा मेडिकल कोष स्थापना गरेको बताए ।
‘पैसाको अभावमा कोही पनि उपचार र शिक्षाबाट वन्चित हुनुपर्दैन’, उनले भने, ‘उपचार गर्न नसक्नेको उपचार र आर्थिक अभाव भएर पढ्न नसकेकालाई स्थानीय सरकारले शिक्षा प्रदान गर्छ ।’
यस्तै, उपप्रमुख यादवप्रसाद पाठकले सुकुमबासीलाई लालपुर्जा दिने विषय स्थानीय सरकारको क्षेत्राधिकारभित्र नपर्ने बताए । रत्ननगरमा विवरण संकलन र जग्गा नापजाँचको काम भइसकेको भन्दै अब सुकुमबासी समस्या सामधान आयोगले लालपूर्जा वितरण गर्ने मात्र काम बाँकी रहेको बताए ।
कार्यक्रममा बकुलहर रत्ननगर अस्पतालका मेसु डा. अङ्कुर पौडेल, नेपाल विद्युत् प्राधिकरण टाँडी वितरणकेन्द्रका प्रमुख राजेन्द्रकुमार चौधरी, इलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी निरीक्षक सोभनविक्रम राणाले विषयगतरुपमा आएका प्रश्नहरुको जवाफ दिएका थिए । प्रस्तुति मिडियाले सहजीकरण गरेको कार्यक्रममा वडाध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, टोल विकास संस्थाका प्रतिनिधि, महिला समूहका प्रतिनिधि, आमा समूहका प्रतिनिधि एवम् नगरवासीहरुको सहभागिता रहेको थियो ।























