चेन्नई / भारतको तमिलनाडु राज्यस्थित कडलूर जिल्लामा बुधबार राति भएको एउटा सडक दुर्घटनामा परी ९ जनाको ज्यान गएको छ । तिरुचिरापल्लीबाट चेन्नईतर्फ जाँदै गरेको सरकारी रोडवेज बसको टायर अचानक पड्किएर अनियन्त्रित हुँदा यो घटना भएको हो ।
अनियन्त्रित बस सडकको डिभाइडर नाघेर अर्को लेनमा पुगेपछि विपरित दिशाबाट आइरहेका दुईवटा कारलाई कुल्चिन पुगेको थियो । बसले किचेका दुवै कारहरू पूर्ण रूपमा चकनाचूर भएका छन् ।
- ADVERTISEMENT -

दुर्घटना लगत्तै स्थानीय बासिन्दा र प्रहरीले उद्धार कार्य सुरु गरेका थिए । घटनास्थलमै ७ जनाको मृत्यु भएको थियो भने उपचारका क्रममा थप २ जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेहरूमा ५ पुरुष र ४ महिला रहेका छन्। दुर्घटनामा परी ४ जना गम्भीर घाइते भएका छन्, जसमा २ बालबालिका समेत रहेका छन् । घाइतेहरूको हाल सरकारी अस्पतालमा उपचार भइरहेको छ ।
यो दुर्घटनाका कारण चेन्नई–तिरुची राष्ट्रिय राजमार्गमा धेरै किलोमिटर लामो सवारी जाम लागेको थियो । करिब दुई घण्टापछि क्रेनको सहायताले दुर्घटनाग्रस्त सवारी साधनहरू हटाएर सडक सञ्चालनमा ल्याइएको थियो । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।
तमिलनाडुका मुख्यमन्त्री एमके स्टालिनले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट गरेका छन् । मुख्यमन्त्री राहत कोषबाट मृतकका परिवारलाई जनही ३ लाख भारतीय रुपैयाँ र घाइतेहरूलाई १ लाख रुपैयाँ आर्थिक सहायता दिने घोषणा समेत गरिएको छ । एजेन्सी

















































