काठमाडौं / स्पेनको राजधानी म्याड्रिडको काराबान्चेल जिल्लामा शुक्रवार बिहान एउटा अपार्टमेन्टमा आगलागी हुँदा तीन जनाको मृत्यु भएको छ । म्याड्रिडको आपतकालीन सेवाकाअनुसार मृत्यु हुनेमा दुई महिला र एक पुरुष रहेका छन् । तीमध्ये दुई जनाको धुवाँले निसास्सिएर र एक जनाको जलेर मृत्यु भएको पुष्टि भएको छ ।
अग्नि नियन्त्रकहरूले अपार्टमेन्टको ढोका निकै मजबुत भएका कारण भित्र पस्न निकै संघर्ष गर्नुपरेको थियो । भित्र पुग्दा आगो निकै भीषण अवस्थामा रहेको र कोठा पूर्ण रूपमा धुवाँले भरिएको पाइएको थियो ।
- ADVERTISEMENT -

आगो निभाउने क्रममा अग्नि नियन्त्रकहरूले तीनै जनाको शव फेला पारेका थिए । घटनाको अनुसन्धान वैज्ञानिक प्रहरी टोलीले गरिरहेको छ भने प्रारम्भिक अनुसन्धानले विद्युतीय सट सर्किटलाई आगलागीको मुख्य कारण देखाएको छ ।


















































