भरतपुर / चितवनको व्यवसायिक क्षेत्रमा स्थापित सुनिता लिगल कर्माचार्यले चितवन उद्योग वाणिज्य संघको कार्यसमिति पदमा उमेदवारी दिएकी छिन् । संघको ५९औँ वार्षिक साधारणसभा तथा अधिवेशन अन्तर्गत भोलि (सोमबार) अर्थात् पुस २१ गते हुन गइरहेको निर्वाचनमा कर्माचार्यले २०८२–०८४ कार्यकालका लागि महिला उद्यमीतर्फ (क्र.सं.) २० कार्यसमिति सदस्य पदमा उम्मेदवारी दिएकी हुन् ।
पछिल्ला चार वर्षदेखि उद्योग वाणिज्य संघमा आबद्ध रहँदै सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएकी कर्माचार्य पेशाप्रति इमानदार, कर्तव्यनिष्ठ र उत्तरदायी व्यक्तित्वका रूपमा परिचित नाम हो । व्यवसायसँगै सामाजिक क्षेत्रमा समेत सक्रिय उनी व्यवसायीका हकहित, अधिकार संरक्षण तथा संस्थागत सुधारका पक्षमा निरन्तर पहल गर्दै आएकी छन् ।
- ADVERTISEMENT -

देशको वर्तमान आर्थिक अवस्थाप्रति चिन्ता व्यक्त गर्दै कर्माचार्यले कोरोना महामारीपछिको आर्थिक सुस्तता र पछिल्ला आन्दोलनहरूले अर्थतन्त्रमा गहिरो असर पारेको बताउँछिन् । यस्तो अवस्थामा राज्यले नयाँ, व्यावहारिक र दीर्घकालीन आर्थिक नीति अवलम्बन गर्नुपर्ने उनको धारणा छ ।
२१औँ शताब्दीमा आइपुग्दा पनि महिलाहरू अझै घरेलु सीमाभित्र सीमित हुनुपरेको यथार्थप्रति चिन्ता व्यक्त गर्दै उनले नेतृत्वमा पुगेपछि महिलालाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता जनाइन् । आर्थिक संकटकै कारण धेरै महिला उद्यमी व्यवसाय छाड्न बाध्य भएको उनको भनाइ छ।
- ADVERTISEMENT -

साना, मझौला तथा ठूला उद्योग–व्यवसायमा महिलाको समान सहभागिता अझै सुनिश्चित हुन नसकेको, आर्थिक मन्दीका कारण व्यवसायीहरू विदेशिन बाध्य भइरहेको तथा सटर भाडा तिर्नसमेत कठिन अवस्था सिर्जना भएको उनले उल्लेख गरिन् । यी सम्पूर्ण समस्याको समाधानका लागि सशक्त आवाज बन्ने उद्देश्यले आफू उम्मेदवार बनेको उनले स्पष्ट पारिन् ।
कर्माचार्य हाल चितवन र नवलपुर क्षेत्रमा नयाँ मोटरसाइकल, गाडीको बिक्रीवितरण अटोमोबाइल, हस्पिटालिटीतर्फ होटल, औषधी व्यवसायलगायतका विभिन्न क्षेत्रमा उनी आबद्ध छिन् । यसैगरी उनी नबिन अटो सेन्टरकी प्रोप्राइटर, नबिन अटो केयर प्रा.लि., सिद्धार्थ अटो वर्कस, एडभेन्चर टे«डर्स प्रा.लि. तथा कर्माचार्य इन्टरप्राइजेज प्रा.लि. की निर्देशक हुनुहुन्छ । साथै, चितवन र नवलपुरका लागि यामाहा मोटरसाइकलको आधिकारिक बिक्रेता समेत हुन् ।
उद्योग वाणिज्य संघभित्र उनी जनसम्पर्क, ख्याति अभिवृद्धि तथा संस्थागत सामाजिक उत्तरदायित्व समिति (२०७८–२०८०) की संयोजक, चितवन महोत्सव २०७५ मञ्च व्यवस्थापन समिति संयोजक समेत थिइन् ।
संस्थागत रूपमा उनी लायन्स क्लब अफ नारायणगढ संगमचोक संजिवनीकी संस्थापक अध्यक्ष, नारायणगढ लेडी जेसिजकी पूर्व अध्यक्ष तथा चितवन अटोमोबाइल सहकारी संस्था लि. की कार्यसमिति सदस्य रहनुभएको छ । विभिन्न व्यवसायिक तथा सामाजिक संस्थामा सदस्यता सहित उनी आजीवन रेडक्रस सदस्य समेत हुनुहुन्छ ।
महिला अधिकारको कार्यान्वयन, व्यवसायीका हकहित संरक्षण तथा दिगो आर्थिक योजनामार्फत व्यवसायिक क्षेत्र सशक्त बनाउने स्पष्ट दृष्टिकोण, साहस र क्षमतासहित कर्माचार्य अघि बढेकी छिन् । शालीन, सरल र कर्मशील स्वभावकी उनले महिला नेतृत्व मजबुत बनाउन र व्यवसायिक वातावरण सुधारका लागि आफूलाई एकपटक अवसर दिन सबै उद्योगी–व्यवसायी तथा मतदातामा हार्दिक अपिल गरेकी छिन् ।














































