– बबिलाल तामाङ
चितवन / भरतपुरका तामाङ समुदायहरुले छेच्यु थर्पलिङ गुम्बा भरतपुर ११, भोजाडमा हर्षोल्लासका साथ शुभकामना आदानप्रदान तथा विविध साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।
२८६२ औं सोनाम ल्होछारको अवसर पारेर शनिबार उक्त कार्यक्रम सम्पन्न गरिएको भरतपुर नगर तामाङ समाजका अध्यक्ष सूर्यप्रकाश लामाले जानकारी दिए ।
- ADVERTISEMENT -

भरतपुर महानगरपालिका वडा नं. १० का वडाअध्यक्ष परमेश्वर खनालले पानसमा दियो बालेर कार्यक्रमको उद्घाटन गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका खनालले सम्पूर्ण तामाङ समुदायहरुलाई महान पर्व सोनाम ल्होछारको शुभकामना व्यक्त गरे ।

कार्यक्रममा राष्ट्रिय कलाकार फूलकुमार बमजन, सेलो गायक मदन घलान लगायत स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहेको थियो । उनीहरुले गुम्बाको प्राङ्गणमा सम्पन्न गरिएको उक्त कार्यक्रममा दर्शकहरुलाई भरपुर मनोरन्जन दिलाएका थिए । कार्यक्रममा दर्शकहरुको उपस्थिति बाक्लो रहेको थियो भने कलाकारहरुको गायनसँगै उनीहरु झुमेका थिए ।
समाजका अध्यक्ष लामाले कार्यक्रमका प्रमुख अतिथि, अतिथिहरु र कलाकारहरुलाई मायाको चिनो प्रदान गरेका थिए । गुम्बामा हरेक वर्ष ल्होछारकै दिनमा गरिने यस कार्यक्रमलाई यो पटक ल्होछारको पहिलो शनिबार गर्ने निर्णय भए अनुसार गरिएको हो ।

कार्यक्रममा नेपाल तामाङ घेदुङ बागमती प्रदेशका सचिवालय सदस्य श्रीप्रसाद तामाङ, नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) चितवनका अध्यक्ष सागर कुमाललगायतले शुभकामना मन्तव्य दिएका थिए ।
कार्यक्रममा समाजका संस्थापक अध्यक्ष दिलमाया लामा, पूर्वअध्यक्ष गंगा लामा, निवर्तमान अध्यक्ष पासाङ तामाङ, महिला उपाध्यक्ष सरिता लामा, म्हाणिपा आमा समूहका अध्यक्ष चिनीमाया पाख्रिन, अधिवक्ता अजयकुमार तामाङगायतको उपस्थिति रहेको थियो ।

भरतपुर नगर तामाङ समाजका अध्यक्ष सूर्यप्रकाश लामाको अध्यक्षतामा सम्पन्न भएको थियो । उपाध्यक्ष नीरकुमार लामाको स्वागत मन्तव्य रहेको कार्यक्रममा पूर्व मिस तामाङ रिया लामाले सञ्चालन गरिन् ।
भरतपुर नगर तामाङ समाज कार्यक्रमको आयोजक रहेको थियो भने सहआयोजकहरुमा दुधपोखरी बौद्ध समाज गुठी, छे च्यु थर्पलिङ गुम्बा, मञ्जुश्री म्हाणिपा आमा समूह, पाख्रिन समाज गुठी, जिम्मा समाज गुठी, योञ्जन समाज गुठी, गोले समाज गुठी, दोङ समाज गुठी, ला लुङ्गवा समाज गुठी, बमजन समाज गुठी थिए ।

गुम्बामा विगत १७ वर्षदेखि भरतपुरका तामाङ समुदायले महान पर्व सोनाम ल्होछार मनाउँदै आएको छ ।
















































