काठमाडौं / क्रिकेटको महाकुम्भ ट्वान्टी–२० विश्वकप क्रिकेटको शनिबारदेखि औपचारिक सुरुआत हुँदैछ । विवाद र अन्योलका बीच कोलम्बोमा पाकिस्तान र नेदरल्यान्ड्सबीच हुने उद्घाटन खेलसँगै विश्वकपको औपचारिक यात्रा सुरु हुनेछ ।
प्रतियोगिताको पूर्वसन्ध्यामा पाकिस्तानले भारतविरुद्धको खेल बहिष्कार गर्ने सम्भावना अझै टरेको छैन । पाकिस्तानी सरकारले आफ्नो टोली नखेल्ने बताए पनि पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले यसबारे आधिकारिक निर्णय सार्वजनिक गरेको छैन । आयोजक श्रीलंका क्रिकेटले भने पाकिस्तानलाई खेल्नका लागि निरन्तर आग्रह गरिरहेको छ ।
- ADVERTISEMENT -

यसअघि, सुरक्षाको कारण देखाउँदै बंगलादेश प्रतियोगिताबाट बाहिरिएपछि विवाद सुरु भएको थियो । बंगलादेशको स्थानमा स्कटल्यान्डले प्रतियोगितामा मौका पाएको छ । साविक विजेता भारत यसपटक पनि उपाधिको प्रमुख दाबेदारका रूपमा देखिएको छ । भारतीय टोलीका कप्तान सूर्यकुमार यादवले आफ्नो टोली ‘जित्ने मानसिकता’ (विनिङ मेन्टालिटी) का साथ मैदान उत्रने बताएका छन् ।
समूह ‘ए’ मा रहेको भारत सहजै ‘सुपर एट’ पुग्ने अनुमान गरिएको छ । यस समूहमा भारतलाई पाकिस्तान र पछिल्लो समय बलियो हुँदै गएको अमेरिकाले चुनौती दिन सक्नेछन् । शनिबार नै मुम्बईमा भारत र अमेरिकाबीच प्रतिस्पर्धा हुनेछ ।
- ADVERTISEMENT -

पूर्वविजेताहरू अस्ट्रेलिया र इंग्ल्यान्डलाई पनि उपाधिको बलियो प्रत्याशी मानिएको छ । मिचेल मार्सको कप्तानीमा रहेको अस्ट्रेलियालाई प्रतियोगिता अघि नै ठूलो झट्का लागेको छ । टोलीका मुख्य तीव्र गतिका बलरद्वय प्याट कमिन्स र जोश हेजलवुड चोटका कारण टोलीबाहिर छन् ।
यता समूह ‘सी’ मा रहेको इंग्ल्यान्डको नेतृत्व ह्यारी ब्रुक्सले गर्दैछन् । जोस बटलरपछि ब्रुक्सको नेतृत्वमा इंग्ल्यान्डले पहिलो ठूलो प्रतियोगिता खेल्न लागेको हो । यस समूहमा नेपाल, वेस्ट इन्डिज, इटाली र स्कटल्यान्ड रहेका छन् । वेस्ट इन्डिज पनि दुई पटकको च्याम्पियन भएकाले यो समूहको प्रतिस्पर्धा रोचक हुने देखिन्छ ।
अहिलेसम्म कुनै पनि विश्वकपको उपाधि जित्न नसकेको दक्षिण अफ्रिका यसपटक इतिहास बदल्ने दाउमा छ । कप्तान एडेन मार्क्रमले प्रतियोगितामा कुनै पनि टोलीले कसैलाई हराउन सक्ने भन्दै सतर्कतापूर्वक खेल्ने बताएका छन् । दक्षिण अफ्रिका रहेको समूह ‘डी’ मा न्युजिल्यान्ड, अफगानिस्तान, क्यानडा र यूएई रहेका छन् ।
प्रतियोगिताको ढाँचा अनुसार चार समूहका शीर्ष दुई(दुई टोली ‘सुपर एट’ मा प्रवेश गर्नेछन् । ती आठ टोलीलाई पुनः दुई समूहमा विभाजन गरी खेल खेलाइनेछ र शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् ।
प्रतियोगिताको समूह विभाजन –
समूह ‘ए’– भारत, पाकिस्तान, अमेरिका, नेदरल्यान्ड्स, नामिबिया
समूह ‘बी’– अस्ट्रेलिया, श्रीलंका, आयरल्यान्ड, जिम्बावे, ओमान
समूह ‘सी’– इंग्ल्यान्ड, वेस्ट इन्डिज, नेपाल, इटाली, स्कटल्यान्ड
समूह ‘डी’– न्युजिल्यान्ड, दक्षिण अफ्रिका, अफगानिस्तान, क्यानडा, यूएई
















































