April 19, 2024

चितवनमा बीमाको औषधी अभाव, बिरामी सास्ती भोग्न बाध्य

January 1, 2021

–सुरक्षा न्यौपाने
चितवन । भरतपुर अस्पतालको फार्मेसीमा औषधि अभाव भएको छ । जसकारण स्वास्थ्य बीमा गरेका बिरामीहरू बाहिर क्लिनिकबाट औषधि किन्न बाध्य भएका छन् ।
स्वास्थ्य विमा मार्फत निःशुल्क पाउने औषधिसमेत अस्पातलको फार्मेसीमा नपाइएको भेटिएको छ । विरामीले महँगो मूल्य तिरेर औषधि किन्न बाध्य भएका छन् ।
अस्पतालमा पछिल्लो २ महिना यता बिरामीहरुले औषधी पाउन नसकेको गुनासो बढ्दै गएको छ । जसले गर्दा स्वास्थ्य विमा गरेका, असहाय, गरिब र वृद्धवृद्धा मारमा परेका छन् ।
राष्ट्रिय स्वास्थ्य नीति ०७१ मा सरकारी अस्पताल आफैंले फार्मेसी सञ्चालन गर्नुपर्ने व्यवस्था छ । तर भरतपुर अस्पतालले दुई वटा फार्मेसी सञ्चालन गरेको बताइए पनि अत्यावश्यक औषधिहरु नै नपाउने बिडम्बना सिर्जना देखिएको छ ।
अहिले हाडजोर्नीका बिरामीलाई प्रयोग गरिने औषधि भरतपुर अस्पतालको फार्मेसीमा उपलब्ध हुन छाडेकोे छ । टाढा टाढाबाट आउने बिरामीहरु अस्पतालको फार्मेसीमा ट्राएड, न्यूरोन जस्ता सामान्य औषधि समेत नपाउँदा अलमलमा परेका हुन् ।
आफूले दैनिक रुपमा प्रयोग गर्ने सुगर र पे्रसरको औषधि समेत छैन भनेर फर्काइएको रत्ननगर–१० की लक्ष्मी पौडेलले बताउँछिनन् । उनले आफू सधैं भरतपुर अस्पतालमा आउने गरेको र डाक्टरले यही पाइन्छ भनी लेखिदिएको औषधि समेत नपाएको गुनासो गरिन् ।
उनी मात्रै होइन अस्पतालमा अपरेसनको लागि भर्ना भएकालाई अपरेशनका लागि लठ्याउने प्रयोग गरिने औषधि किन्न बाहिर जानु परेको पोखरा बसपार्कका हरीस् चौधरीको भनाइ छ । अपरेशनको लागि डाक्टरले लेखिदिएका दुई वटा औषधि मध्ये एउटा मात्रै पाइएको उनले भने ।
त्यस्तै नेपालमा सबैभन्दा बढी प्रसुति गराउने अस्पतालमध्ये भरतपुर अस्पताल दोश्रो स्थानमा पर्छ भने प्रसुतिको लागि प्रयोग गरिने औषधिको १ वर्षदेखि अभाव भएको भेटिएको छ ।
त्यस्तै फार्मेसीका प्रमुख सविन लामिछानेले औषधिको अभाव नभई केही औषधि तत्कालका लागि सकिएको बताए । भरतपुर अस्पतालमा सकिएको औषधि माग गर्ने र माग गरेको औषधि बिक्री वितरण कक्षमा पठाउने अधिकार फार्मेसीका प्रमुखको नभइ स्टोरको रहेको उनले भने ।
फार्मेसी संचालन ऐनले फार्मेसिट आफ्नै मातहतमा रहेर कार्य गर्नुपर्नेमा भरतपुर अस्पतालको फार्मेसीमा सो कुरा लागू भएको देखिदैँन । नेपाल सरकारले जहाँ औषधि त्यहा फार्मेसिस्ट भने नारा समेत निकालेको भए तापनि भरतपुर अस्पतालको फार्मेसीमा भने लागू हुन सकेको छैन । सरकारी अस्पतालको फार्मेसिस्टको प्रमुख हुँदाहँुदै स्टोर फार्मेसीको मातहतमा रहने फार्मेसी निर्देशिकामा उल्लेख भएपनि अधिकार नपाएको उनले भने ।
भरतपुर अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा जगन्नाथ तिवारीले टेन्डर प्रक्रियामा ढिलो भएकोले बिरामीले औषधि नपाएको बताउँछन् । विगतमा परेको टेन्डर औषधि पसललाई नगर्दा औषधिको अभाव रहेको बताए ।
उनले विगतका गल्ती सुधारेर औषधिको अभाव हुन नदिने बताए । नयाँ टेन्डर खुलिसकेकोले सिधै वा अरु प्रकृयाले औषधि ल्याउन नसक्ने बताए । विगतको तुलानामा कोरोनाको कारणले छुट दिँदा यो समस्या आएको बताउँछन् ।
नेपाल सरकारको दरबन्दी जम्मा १ जना मात्रै रहेको अस्पतालमा विभिन्न स्रोतबाट कर्मचारी राखेर काम चलिरहेको उनले दाबी गरेका छन् भने नेपालमा सरकारी अस्पताल स्वामित्वका औषधि पसलमा धेरै ब्राण्डका औषधी राख्न नसक्दा पनि बिरामीले नै खोजेको औषधि नपाउने गरेको उनले बताए ।

- ADVERTISEMENT -