April 19, 2024

आइतबारदेखि बैङ्कका सबै शाखा कार्यालयहरूको सेवा सुचारु

May 8, 2020

काठमाडौं । आइतबारदेखि बैङ्कका सबै शाखा कार्यालयहरू खुला हुने भएका छन् । सरकारले लकडाउनकै बीच उद्योगहरू खुला गर्ने भएपछि बैङ्कहरूले पनि सबै शाखा कार्यालय खोलेर सेवा दिने भएका हुन् ।
यसअघि बैङ्कहरूले आंशिक रुपमा मात्रै सेवा प्रदान गरिरहेका थिए । एक दिन वानेश्वरको शाखा त अर्को दिन कोटेश्वर, अर्को दिन अर्कै ठाउँको शाखा कार्यालय खोलेर सेवा दिइरहेका बैङ्कहरूले अब भने सबै ठाउँका शाखाहरू खोल्ने नेपाल बैङ्कर्स संघका अध्यक्ष भुवन दाहालले जानकारी दिए ।
उनका अनुसार बैङ्कका सम्पूर्ण शाखा खोल्न सबै बैङ्कलाई अनुरोध गरिसकिएको छ । केही साह्रै समस्यामा परेका शाखाहरू बाहेक अन्य खुला हुने अध्यक्ष दाहालले बताए ।
मन्त्रिपरिषद् बैठकले बैङ्क तथा वित्तीय संस्था, बिमा, धितोपत्र, सहकारीमार्फत् अति आवश्यक सेवा प्रवाह गर्नुपर्ने कार्यका लागि आवश्यक पर्ने कर्मचारी मध्ये एक तिहाइ कर्मचारीद्वारा सेवा सञ्चालन गर्ने भनेर निर्णय गरेको थियो ।
सरकारी निर्णयअनुसार नै एक तिहाइ कर्मचारी राखेर सेवा सुचारु गरिने उनले बताए । शाखा कार्यालयहरू खुला भए पनि सुरक्षाका आवश्यक सावधानीहरू भने अपनाइने बताए । उनका अनुसार एक पटकमा शाखा कार्यालयभित्र पाँच जनाभन्दा बढी सेवाग्राहीले प्रवेश पाउने छैनन् ।
माक्स र स्यानिजाइजरसमेत कर्मचारी र सबै सेवाग्राहीका लागि अनिवार्य गरिने अध्यक्ष दाहालले बताए । ‘आइतबार अपवादबाहेकका सबै शाखाहरू कार्यालयहरू खोलेर सेवा दिनेछौं । तर, उच्च सुरक्षा सतर्कता अपनाउनु पर्नेछ’ अध्यक्ष दाहालले भने ।

- ADVERTISEMENT -