प्रधानमन्त्री ओलीद्वारा भरतपुर सिटीहलको शिलान्यास

0
64

चितवन / प्रधानमन्त्री केपी शर्मा ओलीले यहाँ निर्माण गर्न लागिएको भरतपुर सिटीहलको शिलन्यास गर्नुभएको छ । भरतपुर महानगरपालिका वडा नं. १० स्थित वाईपास सडक नजिक सिटीहलको आज शिलन्यास गर्नुभएको हो ।
शिलन्यास समारोहमा शहरी बिकास मन्त्रालयका सचिब डा. रमेश प्रसाद सिंहले आयोजनाका बारेमा जानकारी गराउनु भएको थियो । देशको मध्यभागमा रहेर पनि ठूलो सभा समारोह आयोजना गर्न हलको अभाव भएपछि सरकारले सिटी हल निर्माण शुरु गरेको हो । सिटीहल निर्माणका लागि भरतपुर महानगरपालिकाले जिल्ला समन्वय समितिको नामको जग्गा महानगरको नाउँमा ल्याएको थियो । सोही जग्गामा सिटीहल निर्माण थालिएको हो । सिटीहल निर्माणपछि यसको व्यवस्थापन भरतपुर महानगरले गर्नेछ ।
शहरी विकास मन्त्रालयले आयोजना गरेको उक्त शिलन्यास कार्यक्रममा प्रधानमन्त्री ओलीसहित गृहमन्त्री रामबहादुर थापा बादल, शहरी विकास मन्त्री प्रभु साह, भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङ, वागमती प्रदेशका मुख्य मन्त्री डोरमणी पौडेल लगाएतक सहभागी हुनुभएको थियो । सो अबसरमा प्रधानमन्त्री ओलीले सिटिहलको शिलन्यास संगै ताम्रपत्र अनावरण गर्नु भएको थियो । कार्यक्रममा श्रीराम जानकी बालिका आश्रमका वालिकाहरुले स्वस्ति बाचन गरेर सिटीहलको शिलन्यास गरिएको थियो ।
सिटीहल निर्माणका लागि संघीय सरकार अन्तर्गतको शहरी विकास डिभिजन कार्यालय चितवन र इण्डो सगुन रौताहा जेभी रुपन्देही बीच सम्झौता भएको छ । जिल्ला समवन्य समिति पछाडि रहेको चार विगाहा चार कठ्ठा जग्गामा सिटीहल निर्माण गर्न लागिएको हो ।
मूल्य अभिवृद्धि करबाहेक बोलपत्र रकम रु एक अर्ब छ करोडको रहेकोमा रु ७७ करोड ७७ लाखमा निर्माण कम्पनीसँग सम्झौता भएको हो । सभागृहमा मुख्य अडिटोरियम ब्लकमा दुई हजार जना अट्ने सुविधा सम्पन्न सभाहल हुनेछ । सघन शहरी तथा भवन निर्माण आयोजना भरतपुरका प्रमुख प्रकाश अर्यालका अनुसार तीन सय क्षमताको कन्फरेन्स हल रहने छ ।
विशिष्ट व्यक्तिका लागि छुट्टै कक्ष हुने छ । दुई वटा भ¥याङ, दुई वटा लिफ्ट, प्रवेशद्वार, आकर्षक स्टेज, रिहर्सल कक्ष रहने छन् । मुख्य ब्लक सात हजार वर्गमिटरमा हुने उहाँले जानकारी दिनुभयो । सभागृहमा प्रशासनिक, पुस्तकालय, सूचना प्रविधि, अतिविशिष्ट कक्ष, फुड ल्याण्ड, बगँैचा हुनेछ । सवारी पार्किङका लागि २५७ गाडी र ३१७ मोटरसाइकल एवं साइकल अट्ने पार्किङ स्थल रहने छ । उच्चस्तरका निर्माण सामग्री र आधुनिक प्रविधिको प्रयोग गरी बनाउन लागिएको यो सिटीहल देशकै नमूना हुने अर्याल बताउनुहुन्छ । उहाँले भन्नुभयो “हालसम्म यति सुविधासम्पन्न र सुन्दर सिटीहल नेपालमा बनेको छैन ।
” दुई वर्ष तीन महिनाभित्रमा काम सम्पन्न गर्ने गरी मंसिर १८ गते सम्झौता भएको हो । सम्झौता भए लगत्तै कामलाई तीब्रता दिईएको छ । हाल जमिनमुनिको काम भईरहेको छ । सिटीहल बनेसँगै राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका ठूलादेखि सानासम्मका कार्यक्रम यहाँ गर्न सकिने छ । देशको मध्यभागमा रहेको र सबै ठाउँबाट यातायातको सहज पहुँच भएका कारण राजनीतिक दल, तिनका भातृ संस्था, विभिन्न संघ संस्था लगायतका कार्यक्रम गर्न यहाँ सहज हुने छ ।