‘सोनाम ल्होछार’ मनाउँदै भरतपुर नगर तामाङ समाज [With VIDEO]

0
415

चितवन / भरतपुर नगर तामाङ समाजले २८५७औं ‘सोनाम ल्होछार’ मनाउने भएको छ । २८५७औं ‘सोनाम ल्होछार’ छेच्यु थर्पलिङ गुम्बा भोजाडमा मनाउन लागिएको शनिबार पत्रकार सम्मेलन मार्फत् समाजका अध्यक्ष पासाङ लामाले जानकारी दिइन् ।
कोभिड–१९ महामारी तथा विषम परिस्थितिका कारण ल्होछार मनाउने या नमनाउने द्विविधा भए तापनि अन्ततः आफ्नो धर्म संस्कृतिलाई निरन्तरता दिनुपर्ने निष्कर्ष निकाल्दै स्वास्थ्य सम्बन्धी मापदण्ड अपनाएर मनाउन लागिएको अध्यक्ष लामाले बताइन् ।
ल्होछार कार्यक्रम अन्तर्गत माघ २५ गते गुम्बा सरसफाइ, २९ गते ल्होछार पूजा तथा गुम्बा वरपर सिंगारिने, माघ ३० गते बिहान रक्तदान गरिने तथा शुभकामना आदान र साँस्कृतिक कार्यक्रम गरिने उनले भनिन् ।
नेपाललाई बहुजाति, बहुभाषी, बहुसाँस्कृतिक मुलुक भनेर संविधानमा घोषणा, गणतन्त्र आएको छ तथापि हिन्दू राष्ट्र स्थापना गर्ने, धर्म निरपेक्षतालाई हटाउने जस्ता अभियान थालिएकोले हामी तामाङ समुदाय सजग हुनुपर्ने बेला आएको समाजका निवर्तमान अध्यक्ष गंगालाल लामाले बताए ।
तामाङ जातिका सत्र हजार बढीले दिएको बलिदानीले ल्याएको गणतन्त्र, हिन्दूराज्य मात्र घोषणा भएमा तामाङ जातिले दिएको त्याग खेर जाने उनले भने । हिन्दू राष्ट्रलाई चिर्न र हाम्रो संस्कार र संस्कृतिलाई जोगाउन सोनाम ल्होछार मनाउनु पर्नेमा उनले जोड दिए ।
कार्यक्रममा समाजका पूर्व अध्यक्ष दिलमाया लामा, छेच्यु थर्पलिङ गुम्बाका अध्यक्ष पञ्चबहादुर तामाङ, जिम्बा लामा लगायतको उपस्थिति रहेको थियो । समाजमा २६० घरधुरी आवद्ध रहेको छ ।