April 18, 2024

ओलीलाई प्रचण्डको चेतावनी : ‘१० लाख जनता लिएर सिंहदरवार र बालुवाटार घेर्नु नपरोस्’

February 11, 2021
File Photo

काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बहुमत पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी ओली ठगी धन्दामा लागेको बताएका छन् । बुधबार ओलीको प्रतिगामी कदमको विरोधमा आयोजित बृहत सभालाई सम्बोधन गर्दै प्रचण्डले ओलीले माधव नेपाल र आफु लगायतका धेरै नेताहरुलाई झुठ कुरा गरेर र ढाँटेर गल्ती गरेको बताए ।
उनले ओलीको प्रतिगामी कदम पछिको अवस्था सर्वोच्च अदालत र न्यायाधीशहरुले समेत हेरेको भन्दै सर्वोच्च अदालतले न्याय, संविधान र लोकतन्त्रको पक्षमा फैसला गर्ने विश्वास रहेको बताए ।
‘लाखौं जनताको उपस्थिति सर्वोच्च अदालतका न्यायाधीशले पनि राम्रोसँग देख्नुभएको छ । जनताले के चाहेका छन्, यो जनभावनालाई हेर्नुभएको छ र ढिलो नगरी लोकतन्त्र र संविधानको पक्षमा फैसला दिनुहुनेछ’ प्रचण्डको भनाई छ । उनले जनताको भावनाविपरित केही काम गरियो भने दूर्भाग्य हुने चेतावनी पनि दिए । ‘शान्तिपूणर् आन्दोलन विद्रोोहमा गयो भने के हुन्छ ?’ प्रचण्डको प्रश्न छ ।
उनले आफुहरु कानुनी राज्यको मान्यतामा दृढ रहेको भन्दै त्यसैका लागि नयाँ संविधान बनाइएको बताए । ‘नेपालको लागि कस्तो संविधान बनायो भने राजनीतिक स्थयित्व र जनताको हित हुन्छ भनेर बनाइएको हो । यदि त्यसो भएन भने आँधी आउँछ हुरी चल्छ’ प्रचण्डको चेतावनी छ । प्रचण्डले ओलीलाई चेतावनी दिँदै भने, ‘म केपीलाई भन्छु-अर्को पटक १० लाख जनता लिएर सिंहदरवार र बालुवाटार घेर्नुनपरोस् ।’
उनले राममन्दिर र अयोध्या बनाउने हो भने अनुसन्धान गरेर गर्न ओलीलाई चुनौती दिँदै भने, ‘तपाईंका नाटक तीन वर्षमा मैले चिने । पुरातात्विक अनुसन्धान गराउनुस्, मेरो विरोध छैन तर, तपाईंले ठुलो गल्ती गर्नुभयो केपीजी ।’ उनले गलत व्यक्तिका हातमा नेतृत्व गएको भन्दै अब त्यस्तो हुन नदिने बताए ।
उनले केपीले भूमिसम्बन्धी आयोग बनाएर षड्यन्त्र गरेपनि त्यसले माखो नमार्ने बताए । ‘म तपाईंहरुको अगाडि फेरि एक पटक प्रतिज्ञा, संकल्प फेरि दोहोर्याउन चाहान्छु । मेरो जीवन र मेरो समकक्षी नेताको जीवनमा यो देशलाई सुन्दर, शान्त र विशाल, विकसित र सम्मृद्ध बनाउनुबाहेक हाम्रो कुनै सपना छँदैछैन, हुनै सक्दैन’ प्रचण्डको भनाई छ । उनले बाँकी रहेको जीवन प्रधानमन्त्री र कुर्सीका लागि नभई जनताका लागि समर्पित गर्ने बताए ।
उनले केपी ओलीले निर्वाचन आयोगलाई धम्की दिएको भन्दै आयोगका केही मानिस अलि डराएको बताए । ‘तर लक्षण निर्वाचन आयोगले राम्रो देखाएको छैन । ७० प्रतिशत हाम्रो पक्षमा छ तर ओलीले धम्क्याउँदैमा तपाईंहरुको पनि खुट्टी देखियो । ढाई सय वर्ष पुरानो सामन्ती सासन फाल्ने केपी ओली होइन, खेलाची नठाने हुन्छ । देशलाई दुःख दिने काम कसैले गर्नुहुदैन । निर्वाचन आयोग खुट्टा नकमाउ, ठगी धन्दाको पछि नलाग’ प्रचण्डले आयोगलाई आग्रह गरे ।

- ADVERTISEMENT -