April 20, 2024

महासंघका नवनिर्वाचित पदाधिकारीलाई राप्ती सञ्चार र ग्रेट एफएमको सम्मान

April 24, 2021

–बबिलाल तामाङ
चितवन । राप्ती सञ्चार मञ्च भण्डाराले नेपाल पत्रकार महासंघ चितवनका नवनिर्वाचित पदाधिकारीहरुलाई सम्मान गरेको छ । मञ्चले शुक्रबार नवनिर्वाचित पदाधिकारीहरुलाई शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि राप्ती नगरपालिका उपमेयर इमानसिंह लामाले पत्रकार हितका लागि जुनसुकै सहयोग गर्ने बताए । पत्रकार समाजको दर्पण भएकोले कसैले पनि अवहेलना नगर्न र हरेक क्षेत्रबाट संरक्षण गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो । उनले आफ्नो व्यक्तिगत सहयोग तथा अन्य जुनसुकै सहयोग र सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
नवनिर्वाचित अध्यक्ष नारायणप्रसाद अधिकारीले पत्रकारिताको क्षमता विकासलाई सशक्त ढंगबाट अघि बढाउने उद्देश्य रहेको बताए । प्रेस स्वतन्त्रताका विषय, न्युनतम पारिश्रमिकता, आचारसंहिता पूर्ण पालना गर्दै आएको र यसका लागि सबैको सहयोगको खाँचो रहेको उनले भने ।
कार्यक्रम मञ्चका अध्यक्ष वीरबहादुर सिंजालीले महासंघको विधान अनुसार कम्तीमा २ वर्ष कार्य गरेका सबै पत्रकारलाई महासंघको सदस्यता दिन आग्रह गरे । पत्रकार महासंघलाई राजनीतिक थलोको रुपमा बनाउन नहुने उनको धारणा थियो । उनले आगामी दिनमा स्वतन्त्र पत्रकारिता गर्ने र मापदण्ड पुगेकालाई सदस्यता दिन महासंघले कन्ज्युस्याई गर्न नहुने बताए ।
कार्यक्रममा नवनिर्वाचित उपाध्यक्ष प्रमिता ढकाल, कोषाध्यक्ष राजेन्द्र आचार्य, राप्ती नगरपालिका वडा नं. ७ का अध्यक्ष सुमित्रा डल्लाकोटी लगायत विभिन्न राजनीतिक दलका संगठनहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा महासंघका नवनिर्वाचित जिल्ला कार्यसमितिसहित केन्द्रिय सभाषद एवम प्रदेश परिषद सदस्यहरुको उपस्थिति रहेको थियो ।
ग्रेट एफ एमको सम्मान
यसैबीच ग्रेट एफ एम १०६ दशमलव ४ मेगाहर्जले नेपाल पत्रकार महासंघ चितवन शाखाका नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा सम्मान गरिएको छ । नवनिर्वाचित पदाधिकारीलाई एफ एमकै प्राङ्गणमा बधाई तथा सम्मान गरिएको हो ।
कार्यक्रममा एफ एमका अध्यक्ष रामेश्वर रिजालले पत्रकारहरुको क्षमता अभिबृद्धिका लागि पत्रकार महासंघले नयाँ किसिमका कार्यक्रम ल्याउन आग्रह गरे । एफ एमले नेपाल पत्रकार महासंघ चितवन शाखालाई मायाको चिनो सहित सम्मान पत्र प्रदान गरेको थियो ।
यसैबिच एफ एमले इलाका प्रहरी कार्यालय खैरहनी प्रमुख सुवास भट्टलाई स्वागत सहित सम्मान गरेको थियो । प्रहरी निरीक्षक भट्टले सूचनाको हकका लागि आचारसंहिताले तोकेका सूचना दिन कन्जुस्याई नगर्ने प्रतिबद्धता जनाए । सो अवसरमा एफ एमले प्रहरी प्रमुख भट्टलाई मायाको चिनोसहित सम्मान पत्र प्रदान गरेको थियो ।

- ADVERTISEMENT -