क्यान्सर अस्पतालमा १४० शैयाको कोभिड वार्ड सञ्चालन

0
23

चितवन / जिल्लामा कोभिड संक्रमितको संख्या बढ्दै गएपछि विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले १४० शैयाको कोभिड वार्ड सञ्चालन गर्ने भएको छ । भोलि शुक्रबारदेखि वार्ड सञ्चालनमा आउने भएको हो । क्यान्सरका बिरामी र स्वास्थ्यकर्मीका लागि मात्र २० श्ययाको कोभिड वार्ड सञ्चालन गर्दै आएको अस्पतालले अन्य सङ्क्रमितका लागि पनि उपचार गर्ने गरी थप १ सय २० शैया सञ्चालनमा ल्याउन लागेको हो ।
अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतमले अस्पतालका चारवटा बिभागमा रहेका बिरामीलाई अन्यत्र व्यवस्थापन गरेर वार्ड सञ्चालन गर्ने तयारी गरिएको बताउनुभयो । अस्पतालको रेडियसन, बच्चा, नाककान घाँटी र मुत्रथैली बिभागका बिरामीलाई अन्यत्र सारिदैं छ । ती बिभागहरुमा बारेर मनिटर लगायतका सामान जडान गर्ने काम अघि बढाइएको छ ।
ती वार्डहरुमा अक्सिजनको पाइपलाइन समेत रहेकाले कोभिडका बिरामीको उपार गर्न सहज हुने गौतमले बताउनुभयो । अस्पतालको आफ्नै अक्सिजन प्लान्ट भएकाले समस्या नपर्ने अनुमान गरिएको छ । ती शैयाहरुमा ६ वटा भेन्टिलेटर समेत जडान गरिदैं छ । प्रदेश, संघीय सरकार र दाताहरुसँग भेन्टिलेटर लगायतका उपकरणहरु माग गरेको गौतमले कान्तिपुर हेल्थलाई जानकारी दिनुभयो ।
ती वाडहरुलाई सकेसम्म सुबिधासम्पन्न बनाइने अस्पतालले जनाएको छ । क्यान्सर अस्पतालमा ४५० श्यया रहेका छन् । हाल अस्पतालमा २ सय २० जना क्यान्सरका बिरामी उपचाररत रहेका छन् । कोभिड वार्डमा १० जना रहेका छन् ।