४ अर्ब १५ करोड बराबरको बजेट पारित : भरतपुर महानगरपालिका

0
60

चितवन । भरतपुर महानगरपालिकाको छैंठौ नगरसभा नगरप्रमुख रेनु दाहालद्वारा प्रस्तुत नीति तथा कार्यक्रम र उप प्रमुख पार्वती शाह ठकुरीद्वारा प्रस्तुत ४ अर्ब १५ करोड बराबरको बजेट पारित गर्दै शुक्रबार सम्पन्न भएको छ । उक्त नगर सभा बुधबार सुरु भएर शुक्रबार सम्पन्न भएको हो ।
छैटौँ नगरसभामा महानगर प्रमुख रेनु दाहालले आर्थिक वर्ष ०७७÷०७८ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरिन् । नीति तथा कार्यक्रम कोभिड १९ को प्रभावलाई न्यूनीकरण गर्न बजेट केन्द्रित भएको छ । नगरसभामा प्रस्तुत नीति तथा कार्यक्रम र बजेट कोभिड केन्द्रित भएको हो ।
प्रमुख तथा उपप्रमुखद्वारा प्रस्तुत नीति तथा कार्यक्रममाथि नगर सभा सदस्यहरूले आ–आफ्नो धारणा राखेका थिए । नगरसभा सदस्यहरूले नीति तथा कार्यक्रमप्रति सकारात्मक सुझावहरू आएको भन्दै यसलार्ई समेट्दै नीति तथा कार्यक्रमलाई अझै प्रभावकारी बनाइदै लैजाने प्रमुख दाहालले बताइन् ।
समापन समारोहमा नगर प्रमुख रेनु दाहाल, उपप्रमुख पार्वती शाह, प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशी, वडा नं २१ का अध्यक्ष चित्रसेन अधिकारी, वडा न १० का अध्यक्ष तथा प्रवक्ता अरूण पीडित भन्डारीले छैटौँ नगर सभाको समापन समारोहलााई सम्बोधन गर्दै पारित नीति तथा कार्यक्रम र बजेटलाई योजनाबद्ध ढंगले कार्यान्वयन गर्न सबैको सामुहिक प्रयास आवश्यक हुने धारणा राखेका थिए ।
नगर सभाले नीति कार्यक्रम सँगसँगै आउँदो वर्षका लागि विनियोजित बजेट कोभिड १९ बाट प्रभावित व्यक्तिको उपचार र क्वारेन्टाइन व्यवस्थापन तथा वैदेशिक रोजगारीबाट फिर्ता भएका व्यक्तिहरुलाई रोजगार सिर्जना गर्न केन्द्रित गरिएको छ ।
त्यसैगरी महानगरवासीहरुको मौलिक हकको रुपमा रहेका न्यूनतम आधारभूत आवश्यकताहरु परिपूर्ति गर्दै जाने, निजी तथा सहकारी क्षेत्रसँग सहकार्य गर्दै रोजगारीका अवसरहरु सिर्जना गर्ने, साधन स्रोत, अवसर र क्षमताको विकास तथा सोको उच्चतम उपयोग गरी समृद्ध महानगर बनाउन बजेट केन्द्रित भएको प्रमुख दाहालको भनाइ छ ।