March 29, 2024

विश्वकप २०३० : स्पेन र पोर्चुगलद्वारा संयुक्त दाबेदारी

June 5, 2021

काठमाडौं । सन् २०३० को फिफा विश्वकपका लागि दुई युरोपेली राष्ट्र स्पेन र पोर्चुगलले संयुक्त रुपमा दाबी पेश गरेका छन् ।
शुक्रवार मैत्रीपूर्ण खेलअघि दुई राष्ट्रले संयुक्त रुपमा दाबेदारी पेश गरेका हुन् । स्पेनको मड्रिडस्थित मेट्रोपिलटानोमा भएको युरोकपअघिको मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको थियो ।
‘२०३० को विश्वकप आयोजना गर्न स्पेन र पोर्चुगलको सरकारले इच्छा र प्रतिबद्धता देखाएको छ,’ पोर्गुचलका प्रधानमन्त्री एन्टोनिओ कोस्टा र स्पेनिस प्रधानमन्त्री पेड्रो सान्चेजबीच भएको संयुक्त सम्झौता पत्रमा भनिएको छ ।
दुवै नेताले स्पेनका राजा फिलिप छैटौं र पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलोको उपस्थितिमा खेलअघि एट्लेटिको मड्रिडको स्टेडियममा हस्ताक्षर गरे । खेलअघि दुवै टोलीका खेलाडीले ‘भामोस २०३०’ अंकित टिसर्ट लगाएर मैदान प्रवेश गरेका थिए र पोज दिएका थिए ।
पोर्चुगलको पहिलो अन्तर्राष्ट्रिय खेलको शताब्दी समेत यसै खेलमार्फत पूरा भएको छ । सन् १९२१ डिसेम्बरमा स्पेनविरुद्ध नै भएको उक्त खेलमा पोर्चुगल ३–१ ले पराजित भएको थियो । ‘आज हामीले दुई फेडेरेसनले विश्वकप आयोजनाका लागि संयुक्त रुपमा काम गर्ने प्रतिबद्धतासहित सम्झौता गरेका छौं,’ पोर्चुगल फुटबल फेडेरेसनका अध्यक्ष फर्नान्डो गोमेजले भने ।
स्पेनिस फुटबल संघका अध्यक्ष लुइस रुबिलेसले गत अक्टोबरमै २०३० को विश्वकप आयोजना दाबेदारीका लागि दुई देशको फेडेरसनबीच सम्झौता भएको बताए । फिफाले २०३० को विश्वकप आयोजक २०२४ मा छनोट गर्ने योजना बनाएको छ । त्यसअघि सन् २०२२ को विश्वकप कतार र २०२६ को विश्वकप उत्तर अमेरिकी राष्ट्रहरु अमेरिका, मेक्सिको र क्यानडामा हुनेछ ।
२०३० को विश्वकप आयोजनाका लागि अन्य देशहरुले समेत इच्छा देखाइरहेका छन् । स्पेन र पोर्चुगलले उनीहरुको दाबेदारीसँग प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ ।
युरोपकै बेलायत र आयरल्यान्ड गणतन्त्रले पनि संयुक्त आयोजना दाबी गर्ने तयारी गरिरहेका छन् । यस्तै दक्षिण अमेरिकी राष्ट्रहरु अर्जेन्टिना, उरुग्वे, पाराग्वे र चिलीले पनि दाबेदारी देखाएका छन् । सन् २०३० मा पहिलो विश्वकप उरुग्वेमा आयोजना भएको थियो र त्यसको एक सय वर्ष पुगेको अवसरमा दक्षिण अमेरिकी देशहरुको दाबेदारी आएको छ । -अनलाइनखबरबाट । 

- ADVERTISEMENT -
- ADVERTISEMENT -