March 29, 2024

खोप लगाउन छुटेका पत्रकारलाई उपलब्ध गराउन माग गर्दै ज्ञापनपत्र

June 8, 2021

चितवन / नेपाल पत्रकार महासंघ चितवनले विभिन्न कारणले कोभिड–१९ विरुद्धको खोप लगाउन छुट भएका पत्रकारलाई उपलब्ध गराउन माग गर्दै ज्ञापन पत्र बुझाएको छ । महासंघले अघिल्लो चरणमा खोप लगाउन छुटेका पत्रकारहरुलाई उपलब्ध गराउन माग गर्दै आज मंगलबार चितवनका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) र स्वास्थ्य कार्यालय प्रमुखलाई ज्ञापन पत्र बुझाएको हो ।
महासंघका अध्यक्ष नारायण अधिकारीले अग्रमोर्चामा जोखिम मोलेर काम गर्ने पत्रकारहरुलाई प्राथमिकता दिएर खोप लगाउने व्यवस्था गरिदिन आग्रह गरेका हुन् । जिल्लामा महासंघका १५० हाराहारी सदस्य खोप लगाउनबाट छुटेको उनले बताए । उनले महासंघको सदस्य नरहेका तर सञ्चारक्षेत्रमा खटिएका अरु थप पत्रकारहरु पनि रहेको भन्दै उनीहरुको स्वास्थ्य रक्षाका लागि खोप लगाउने व्यवस्था गरिदिन आग्रह गरेका थिए ।
प्रजिअ लामिछानेले पत्रकारहरु उच्च जोखिम मोलेर कार्यक्षेत्रमा खटिएको बताउँदै आफ्नो तर्फबाट सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले यो चरणमा सम्भव हुने देखिंदैँन अर्काे चरणका लागि मैले सम्भव भएसम्म प्रयास बताए । पत्रकारहरुले पनि खोप उपलब्ध गराउन आफ्नो तर्फबाट सक्दो प्रयास गर्न उनले आग्रह गरे ।
यसैगरी स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपकप्रसाद तिवारीलाई पनि महासंघको टोलीले ज्ञापनपत्र बुझाएको छ । सो अवसरमा तिवारीले माथिल्लो निकायमा यस सम्बन्धी जानकारी गराउने बताउँदै आफ्नो तर्फबाट हरसम्भव प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे ।
दुबै कार्यक्रममा महासंघका सल्लाहकार तिलक रिमाल, प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकाल, प्रेस चौतारी चितवनका सहअध्यक्ष कृष्ण आचार्य, महासंघका उपाध्यक्ष प्रकाशमणि ज्ञवाली, सचिव दिपेन्द्र अधिकारी, कोषाध्यक्ष राजेन्द्र आचार्य सहभागी थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -