महानगरका स्वास्थ्य स्वयंसेविकालाई नगद ५० हजारसहित बिदाइ

0
73

चितवन / भरतपुर महानगरले ६० वर्ष उमेर पुगेका महिला स्वास्थ्य स्वयंसेविकालाई बिदाइ गरेको छ । लामो समयदेखि महिला स्वास्थ्य स्वयंसेविका भएर महिला दिदीबहिनीको स्वास्थ्य क्षेत्रमा उल्लेख्य योगदान गरेको भन्दै भरतपुर महानगरले उनीहरुलाई नगद ५० हजार, प्रमाण पत्र र खादाले सम्मान गरेको हो ।
महानगरमा कार्यरत २ सय ७ महिला स्वास्थ्य स्वयंसेविकाहरु मध्येबाट मापदण्ड पूरा गरेका ३६ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई बिदाइ गरेको हो ।
महानगरपालिका प्रमुख रेनु दाहालले विगत ३५ वर्षभन्दा बढी समयदेखि लगातार सेवामा रहेका स्वयंसेविकाको लागि महानगरपालिकाले नीति बनाएर उनीहरुका लागि नगदसहित सम्मान र बिदाई गरिएको बताइन् । उनीहरुका लागि ५० हजार नगद खास ठूलो नभएपनि महानगरले नमुना कामको थालनी गरेको दाहालको भनाइ छ ।
निःस्वार्थ भावले लामो समयसम्म काम गरेका स्वास्थ्य स्वयंसेविकालाई सम्मान गर्नु आफैँमा सार्थक कामको सुरुवात भएको महानगरका प्रमुख प्रशासकिय अधिकृत भोजराज खतिवडाले बताए । आगामी दिनमा पनि महिला स्वास्थ्य स्वयंसेविकालाई सहयोग गर्दै जाने उनको भनाइ थियो ।