साढे ६ वर्षदेखि टहरोमै, अस्थायी टहरो मर्मत गर्नसमेत बन्देज

0
19
आरनमा फलाम पिट्दै पदम र वीरबहादुर विश्वकर्मा । फोटो : न्यूजप्रवाह साप्ताहिक ।

जुटपानी / कालिका नगर–पालिका वडा नं. ८ जुटपानीस्थित चौबीसघरेका मदन विश्वकर्मा चर्को गर्मीका बाबजुद पनि आगोको रापमा बसेर फलाम पिट्दै थिए । आगोको रापमा बसेर फलामलाई रातो बनाउनु र त्यही फलामलाई विभिन्न आकार दिनु उनको दैनिकी नै हो । दाइ बीरबहादुरसहित चारजनाको परिवार पाल्ने एउटै माध्यम हो यो आरन । २०७२ सालमा भुइँचालोले साविकको काउले गुछिवाङबाट लखेटिएपछि मदन र वीरबहादुरसँगै गाउँका २४ घर जुटपानी झरे । तत्कालीन प्रमुख जिल्ला अधिकारी डा मानबहादुर विके, संविधानसभा सदस्य कृष्णभक्त पोखरेललगायतको पहलमा उनीहरू आफ्नो पुख्र्यौली थातथलो छाडेर जुटपानी झरे । अहिले उनीहरू जुटपानीमा अस्थायी टहरोमा बसिरहेका छन् । गाउँमा पनि खेतीपातीसँगसँगै फलामकै काम गरेर परिवार धान्दै आएका विश्वकर्मा परिवारलाई जुटपानीमा भने पूर्णरूपमा आरनकै भर पर्नुपरेको छ । ‘गाउँमा त आफ्नो जग्गाजमिन पनि थियो । त्यसैले फुर्सदको समयमा आरनमा बसिन्थ्यो,’ मदन भन्छन्, ‘यहाँ आएपछि त बाह्रैमास आरनकै भर हो ।’
बाउबाजेको पालादेखि नै जानेको सीप नै उनको मुख्य आयस्रोत बनेको छ । बजारमा त्यति धेरै प्रयोग नभए पनि पुरानै गाउँको छिमेकी गाउँघरबाट सामानको माग हुने हुँदा खाली हात बस्नुपरेको छैन । सात दाजुभाइमध्ये बीरबहादुर जेठा हुन् । उनीसहित पाँचभाइ गाउँमा भन्दा केही सुख पाउने सपना बोकेर जुटपानी आए पनि दुई भाइ भने भरतपुरको आँपटारीतिर छन् । अहिले जुटपानीमा रहेका पाँच भाइ भने यस्तै काम गरेर आफ्नो बालबच्चा र परिवार पाल्दै आएका छन् । तर, अहिलेसम्म स्थायी बसोबास पाउने सपनामा उनीहरू जुटपानीको खाली चौरमा अस्थायी टहरो कुरिरहेका छन् । ‘करिब साढे ६ वर्ष पहिले निर्माण भएको अस्थायी टहरो जीर्ण भइसकेको छ । तैपनि दायाँबायाँ जाने ठाउँ नभएपछि यहीँ कुर्नुको विकल्प रहेन,’ वीरबहादुर भन्छन्, ‘तर, त्यतिबेला पाएको आश्वासनअनुसार अहिलेसम्म स्थायी बासस्थानको व्यवस्था भइसक्नुपथ्र्यो ।’
त्यतिबेला सरकारले पछि विकल्प दिने गरी सार्वजनिक स्थानमा अस्थायी टहरो बनाइदिए पनि त्यसपछि सरकारले फर्केरै नहेरेको उनको गुनासो छ । अस्थायी टहरो मर्मत गर्नसमेत समस्या परेको उनी बताउँछन् । ‘यही जग्गामा स्थायीरूपमा बस्न देऊ न त भत्केबिग्रेको हामी आफैँ मर्मत गरेर बस्छौँ भन्दा पनि हुँदैन भन्छ,’ उनी भन्छन्, ‘त्यतिबेलाका बाँसका कप्टेराहरू कुहिएर झरिसके । टिन चुहिने भएर माथि त्रिपाल ओढाएर ओत लाउने मेसो मिलाएर रात कटाइरहेका छौँ ।’ घरको छानो त जेनतेज त्रिपाल ओढाएर रात कटाएका उनीहरूलाई दर्के पानी पर्दा बसिरहेको आरनबाट पनि उठ्नुपर्ने बाध्यता छ । ठाउँ साँघुरो भएकोले आरनको भाग पनि साँघुरो छ । ‘त्यसैले पानी पर्दा आरनमाथि नै पानी चुहिने समस्या त छ नै, चारैतिरबाट बाछिटोले हानेपछि आगो बाल्नै पाइँदैन । अनि नउठि सुकै छैन,’ वीरबहादुर भन्छन् । उनको जस्तै पाँचवटा आरन सञ्चालित छन्, सबैको अवस्था उस्तै हो । ‘कहिलेकाहीँ त फर्केर पुरानै ठाउँमा जाउँ कि जस्तो पनि हुन्छ,’ उनी वहकिन्छन्, ‘तर प्राधिकरणको टोलीले नै बस्नयोग्ग छैन भन्दाभन्दै फेरि कसरी गएर बस्नू ?’ आफू जन्मिएको माटोको सम्झना ताजै भए पनि फर्किन सकिने अवस्था नरहेपछि सरकारले जहाँ भए पनि स्थायी बसोबारको व्यवस्था गरिदिए हुन्थ्यो भन्ने आफूहरूको माग रहेको उनले बताए । ‘भूकम्पपछि सबैभन्दा समस्या त खानेपानीको मुहान नै सुक्यो, दोस्रो कुरो जमिन नै धाँजा फाट्यो,’ उनी सम्झन्छन्, ‘त्यसपछि सिडियो, सांसदहरूले नै हामीलाई प्रकृया मिलाएर स्थायी बास दिने भन्दै यहाँ ल्याउनुभो । तर, अहिलेसम्म कुनै पनि प्रकृया अगाडि बढ्न सकेन ।’
यहाँका विश्वकर्मा समुदायले आफूहरूलाई स्थायी बसोबासको माग गर्दै जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, स्थानीय पालिकालगायत सम्बन्धित निकायमा पुगिसके पनि हालसम्म समस्याको समाधान हुने छाँटकाँट नै नदेखिएको स्थानीयको गुनासो छ । २०७४ सालमा स्थानीय तह गठन भएपछि स्थानीय तहको आश लागे पनि हालसम्म वास्ता नगरेको वीरबहादुर बताउँछन् । ‘पानी पर्दा अहिले पनि ओच्छ्यानमै पानी आउँछ,’ उनी भन्छन्, ‘यस्तोमा हाम्रा बालबच्चा र वृद्ध बा–आमालाई कसरी जोगाउने ?’ भूकम्पपछि झर्दा २४ घर यहाँ बसेकोले गाउँको नामै चौबीसघरे राखिएको हो । तर, अहिले केही परिवार छुटभिन्न भएपछि २८ घर पुगिसकेको छ ।