विकास के हो र कस्तो हुनुपर्छ ?

0
23

– सागर पौडेल
वास्तवमा कुनै पनि वस्तु वा व्यक्तिको आकार, चरित्र र विशेषतामा आउने परिवर्तनलाई नै विकास भनिन्छ । यो अघिल्लोभन्दा गुणात्मकरूपमा नै फरक हुन्छ अर्थात् वस्तु वा व्यक्तिको बढ्ने र परिवर्तन हुने प्रक्रिया नै विकास हो । यो एउटा विशेषताको घटना र परिस्थितिबाट अर्को विशेषतामा रूपान्तरण हुने आन्दोलनको प्रक्रिया हो । यसले पुरानो विशेषता, बुझाइ र मनोविज्ञानलाई पनि रूपान्तरण गर्छ । यसमा भौतिक पूर्वाधार विकास, आर्थिक विकास, सामाजिक विकास, सांस्कृतिक विकास, भाषिक विकास, बौद्धिक विकास, चिन्तन विकास अनि मनोवैज्ञानिक विकासजस्ता समग्र विकासका विविध पक्षहरु अन्तर्निहित हुन्छ । यसैको सपाट र सग्लो रूप नै विकास हो ।
यता समृद्धि शव्दावलीको प्रयोग पनि असाध्यै धेरै भइरहेको छ । यो ल्याटिन भाषाको ‘प्रस्पिरस’बाट उत्पत्ति भएको हो । यसको अर्थ राम्रो गर्नु भन्ने हुन्छ । राम्रो गर्दै जानेक्रमको लामो प्रक्रियापछि प्राप्त हुने चरम सुख, शान्ति, वैभव र एकरूपता नै समृद्धि हो । विकास र समृद्धि परिपूरक पदावलीहरु हुन् । यद्यपि यिनीहरुबीचको सारभूत अर्थ धेरै भिन्न रहेको छ । कतिपयले यसलाई एउटै फुर्लुङमा कोचेर विश्लेषण गर्ने गरेको पनि पाइन्छ । तर, सारतः विकास र समृद्धिमा धेरै अन्तर छ । कुनै पनि खास मानव समाजमा सबैखाले वा समानुपातिक विकास एउटा विन्दुमा पुगेपछि अभिव्यक्त हुने उच्चतम वा उन्नत सामाजिक रूप नै समृद्धि हो । यसमा समानता र न्यायमा आधारित सुन्दरता, शान्ति, एकरूपता र वैभव अन्तर्निहित हुन्छ । भौतिक, राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक र मनोवैज्ञानिक विकास प्रक्रियाको उन्नत वा उच्चतम अभिव्यक्ति वा अवस्था नै समृद्धि हो ।
वस्तुतः विकास र समृद्धि नेपाल सरकारको केन्द्रीय नीति हो । यद्यपि विकासका धेरै पाटा पक्षहरु पूरा नगरी समृद्धिमा संक्रमण सम्भव हुँदैन । विकासलाई भौतिक संरचना निर्माणसँग मात्र दाँज्ने गरिन्छ, जुन असाध्यै गलत हो । सबै क्षेत्रको समानुपातिक विकास प्रक्रियाविना उचित सामाजिक उत्पादन सम्बन्धको विकास गर्न सकिन्न । समाजका लागि वस्तुवादी र व्यावहारिक उत्पादन प्रणालीबिना पूर्ण आकारमा विकास सम्भव हुँदैन । पूर्ण आकारको विकास प्रक्रियाविना समृद्धि कल्पना नै गर्न सकिन्न । पूर्वाधार विकासको अवधारणाले मात्र सर्वाङ्गीण विकासको प्रतिनिधित्व गर्दैन । पछिल्लो समय विकासलाई केवल ठूलाठूला भौतिक संरचना विकासमा सीमित गरिँदैछ, जुन विकाससम्बन्धी गलत अवधारणा हो । यो विकासप्रतिको दृष्ट्रिकोणीय अपव्याख्या हो ।
पछिल्लो समय अवस्तुवादी र अव्यावहारिक किसिमले विकास र समृद्धिको कुरा उठाउन थालिएको छ । बुझ्ने, नबुझ्ने अनि जिम्मेवार वा गैरजिम्मेवार सबैले यसको उच्चारण व्यापक रूपमा गर्न थालेका छन् । मानौँ यसो भनिएन भने वा गरिएन भने आफ्नो अस्तित्व नै सकिँदैछ जस्तो गरेर यसको पछि लाग्ने काम भइरहेको छ । वस्तुवादी योजना र उद्देश्यमा भन्ने र गर्ने कुरा एउटा हो भने हावाकै भरमा आश्वासन बाँड्ने वा भाषण गरी हिँड्ने अर्को कुरा हो । यहाँसम्म कि विकास र समृद्धिको एकोहोरो नाराले हरेक मान्छेको मनोविज्ञान नै अलि ठूलो भौतिक संरचना निर्माणसँग मात्र सीमित देखिन्छ । उनीहरुमा सो भौतिक संरचना अर्थशास्त्रीय कोणमा गरिने उपयोगिता वा नाफा नोक्सानको ग्राफमा उतारेर हेर्ने न्यूनतम चेतना देखिन्न । आफ्नो अर्थराजनीतिक सम्बन्ध वा आर्थिक उत्पादन प्रक्रियामा के–कति उपयोगी हुन्छ भनेर वस्तुवादी किसिमले छलफल र बहस गर्ने अवस्था छैन । यसोभन्दा उल्टै विकास विरोधीको बिल्ला लाग्नु बेर छैन ।
मूलतः ठूलो, अग्लो, लामो र फराकिलो संरचना विकासमा मात्र एकोहोरिएको छ, हाम्रो लम्पट विकासे चिन्तन् । हुन त यो पनि विकासको एउटा महत्त्वपूर्ण पक्ष अवश्य नै हो । यसमा दुईमत छैन । तर, हामी यसको अर्थशास्त्रीय फाइदा वा बेफाइदामा अनभिज्ञ छौँ । उदाहरणका लागि छ वा आठ लेनको सडक बनाउने प्रसङ्ग । कुनै राजनीतिकर्मी वा इन्जिनियरहरूले विदेशमा कहीँ देखेर आएकै भरमा तालबेताल अग्लो भवन र चौडा सडक निर्माणको हचुवा निर्णय गर्न पुग्छन् । वास्तवमा चौडा सडक भनेको निश्चित आर्थिक कोरिडोरहरूलाई लक्षित गरेर बनाउनुपर्छ । खास आर्थिक कोरिडोरअन्तर्गत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यापार, उत्पादित वस्तुको आयतन, यसको आयत, निर्यातको अवस्थालगायत समग्र आर्थिक तथा सामाजिक गतिविधिहरूको सपाट मापन र अध्ययन गरेरमात्र सडक विस्तार गर्नु वस्तुवादी हुन्छ । तर, उनीहरुले सो चौडा सडकमा कति चापमा कति भार बोकेको सवारी साधन गुडाउनु आवश्य हुन्छ ? सडकको लम्बाइ कति छ ? सडक चौडा गर्दा कति उर्वर जमिन खर्च भइरहेको छ ? ट्राफिक व्यवस्थापन कति हुन्छ ? वस्तुवादी मापन नगरी नै धेरै लेनको सडक बनाउनु नै विकास हो भन्ने बनीबनाउ मनोविज्ञान हाबी भइरहेको छ । यसले हामीलाई फेद न टुप्पोको बनायो भने अन्यथा हुनेछैन ।
मूलतः नेपाल जस्तो विकासका पूर्वाधार कम भएको मुलुकमा सानो आकार तर आममा विकास गर्न सकिने वस्तुवादी र व्यावहारिक विकास अवधारणा लागू गर्न जरूरी देखिन्छ । विदेशमा देखेर वा देखाएकै भरमा एकैचोटि अव्यावहारिक ठूला संरचना निर्माणमा जानु हुँदैन । आफ्नो अर्थराजनीतिक सम्बन्ध सुहाउँदो उत्पादन प्रणालीलाई सबल र सशक्त बनाउनेतर्फ समग्र विकास नीति परिलक्षित हुनुपर्छ । किनकि विकास भनेको क्रमिक रूपमा उन्नत हुँदैजाने प्रक्रिया हो । आजै हामीले चीनले जस्तो सबभन्दा लामो सुरुङ, सबभन्दा लामो पुल, सबभन्दा लामो रेलवे लाइन अनि सबभन्दा चौडा राजमार्ग बनाइहाल्ने किसिमले योजनाहरु बनाउनु हुँदैन । यो वस्तुवादी र व्यावहारिक हुँदैन । यो त केवल लम्पट विकासे बनिबनाउ चाहनामाथि भावनात्मक ब्ल्याकमेलिङ गर्ने अस्त्र मात्र बन्दछ । चुनावी मसलामा सीमित हुन्छ, जुन आज हामीले भोगिरहेका छौं । किनभने भौतिक संरचना विकासले मात्रै समाजको सर्वाङ्गीर्ण विकास सम्भव हुँदैन । यो सँगसँगै अन्य राजनीतिक, आर्थिक, सामाजिक, प्राविधिक, सांस्कृतिक, बौद्धिक, मनोवैज्ञानिक वा चिन्तन र चतनागत विकासमा पनि समानुपातिक रूपमा ध्यान दिनुपर्छ । विकास र समृद्धिपछिको न्यायपूर्ण पहुँच, वितरण र अवसरमा ध्यान दिनु प्राथमिक सवाल हुन्छ ।
नेपालमा पछिल्लो समय भौतिक संरचना निर्माणलाई मात्र विकास मान्ने प्रवृत्ति हाबी छ । यहाँ राजनीतिक, आर्थिक, सामाजिक, प्राविधिक, सांस्कृतिक र मनोवैज्ञानिक विकासमा ध्यान दिएको अवस्था छैन । विकासलाई मानव समुदायको समग्र विकाससँग एकाकार गरिएको छैन । यस्तो एकलकाँटे विकास अवधारणाले हामीलाई समृद्धितर्फ दिशानिर्देश गर्दैन । यसले बनेको भौतिक संरचनालाई उचित किसिमले प्रयोग र परिचालन गर्ने चिन्तनगत हैसियत पनि हामीसँग हुँदैन । तब लगानीकर्ताले छाडेर गइसकेपछि त्यसको व्यवस्थापन र परिचालन समस्या नबन्ला भन्न सकिन्न । दाताले सधैँ ठूलाठूला भौतिक संरचना बनाइदिरहने हामीचाहिँ तीन फिट उफ्रँदै उपभोग गरिरहने भन्ने हुँदैन । किनकि सहयोग भनेको पथप्रदर्शन मात्र हो । तर उपभोगवादी संस्कृतिले भने यस्तै अवस्तुवादी, अव्यावहारिक र काल्पनिक कुराहरूको साहरा लिएर सपनाको महलहरु बनाउँछ । सरकार र दाताले दिइरहोस् हामी उपभोग गरिरहनु पाइयोस् । दुःख र कष्ट पनि गर्न नपरोस् भन्ने उपभोगवादी चिन्तनद्वारा ग्रसित हुन्छन् । आत्मकेन्द्रित एकाङ्गी अधिकार उपभोगको कुरा मात्र गर्छ भने राज्य वा समाजप्रतिको दायित्वलाई नजरअन्दाज गर्छ । बरू यस्तै हावादारी गफको पछिपछि हिँड्नुलाई नै महानता र सफलता देख्छ । तर वस्तुगत धरातल उनीहरूले सोचे र कल्पना गरे जस्तो पटक्कै छैन ।
त्यसैले विकास भनेको भौतिक संरचना निर्माणमात्र होइन । यो खास समाजभित्र रहेको समुदायहरूको समानुपातिक विकाससँग जोडिएको अर्थराजनीतिक सवाल हो । यसमा व्यक्तिको सबै पक्षहरुको विकास अंश हो भने समुदाय वा मुलुकको विकास समग्र हुन्छ । भौतिक पूर्वाधार विकास एकल हो भने राजनीतिक, आर्थिक, प्राविधिक, सामाजिक, सांस्कृतिक, मनोवैज्ञानिक, चिन्तन र चेतनागत विकास समग्र हो । सबै पक्षहरुको सर्वाङ्गीण र समानुपातिक विकास नै समाजको साँचो विकास हो । वस्तुगत परिवेशसँगै आत्मगत परिवेश निर्माण जरूरी हुन्छ । अन्यथा विकसित वस्तुगत धरातलको आवश्यकतालाई पुरानो आत्मगत अवस्था, प्रविधि र ज्ञानले नयाँ वस्तुगत परिवेशलाई सही किसिमले व्यवस्थापना र नियन्त्रण गर्न सक्दैन । भौतिक विकाससँगै आत्मगत रूपान्तरण पनि अनिवार्य हुन्छ । तब मात्र विकासको प्रगतिशील चरित्रलाई समयसापेक्ष गतिशील राख्न सकिन्छ ।
वस्तुतः विकासको सबैभन्दा उन्नत र विकसित रूप नै समृद्धि हो । तर यो भौतिक संरचना विकासले मात्र पूरा हुँदैन । यसका लागि भौतिक परिवेशसँगै अन्य आत्मगत परिवेशहरु पनि विकास हुँदै जानु अनिवार्य हुन्छ । भौतिक संरचनाको एकल विकासले मात्र समृद्धि सम्भव हुँदैन । यसका लागि समाजको सर्वाङ्गीण विकास पहिलो शर्त हो । राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, प्राविधिक, मनोवैज्ञानिक र चिन्तनगत अधिकारहरूको संस्थागत परिपक्व रूप नै समृद्धि हो ।
समाजको समानुपातिक र सर्वाङ्गीण विकासबिना सबै वर्ग, जाति, क्षेत्र र लिङ्गको समग्र र समान विकास सम्भव हुँदैन । विकासको समान पँहुचबिना समानता र न्याय सुनिश्चित हुँदैन । न्याय र समानताबिना शान्ति, सद्भाव र एकरूपता कायम हुँदैन । शान्ति, सद्भाव र एकरूपताबिना समृद्धिको कल्पनै गर्न सकिन्न । यसकारण समग्र र समानुपातिक विकासमा जोड गर्दै समृद्धिको यात्रा तय गरौँ । यसैमा हामी सबैको कल्याण अन्तरनिहित छ । – न्यूजप्रवाह साप्ताहिकबाट ।