३९ प्रतिशतले अझै पाएनन् कोभिसिल्डको दोस्रो डोज

0
10

मकवानपुर / बागमती प्रदेशका ३९ प्रतिशत नागरिकले अझै पनि कोभिसिल्डको दोस्रो डोज खोप लगाउन पाएका छैनन् ।
गत वर्षको माघबाट सुरु भएको खोप अभियानको विभिन्न चरणहरुमा कोभिसिल्ड खोप लगाएकाहरुमध्ये अझै ३९ प्रतिशत नागरिकले दोस्रो डोज लगाउन नपाएको सामाजिक विकास मन्त्रालय बागमती प्रदेशले जनाएको छ ।
मन्त्रालयका अनुसार, प्रदेशका १३ जिल्लाका कुल ५ लाख ६७ हजार ८ सय २६ जना कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएकाहरुमध्ये ३ लाख ४७ हजार १ सय ११ जना अर्थात ६१ प्रतिशत नागरिकले कोभिसिल्डको दोस्रो डोज लगाएका छन् ।
प्रदेशमा हालसम्म काठमाडौंका ४७ प्रतिशत, ललितपुरका २२ प्रतिशत, भक्तपुरका २५ प्रतिशत, रसुवाका ५५ प्रतिशत, नुवाकोटका ३४ प्रतिशत, धादिङका ४८ प्रतिशत, चितवनका २६ प्रतिशत, सिन्धुली ४७ प्रतिशत, मकवानपुरका ५६ प्रतिशत, दोलखाका ३१ प्रतिशत, काभ्रेका ३५ प्रतिशत र सिन्धुपाल्चोकका ६८ प्रतिशत नागरिकले कोभिसिल्ड खोपको दोस्रो डोज लगाउन नपाएको मन्त्रालयले जनाएको छ ।
प्रदेशको रामेछाप जिल्लामा भने पहिलो मात्रा लगाएका भन्दा ६८ प्रतिशत बढी व्यक्तिले कोभिसिल्ड खोपको दोस्रो डोज लगाएका छन् ।