चितवनमा छिमेकीको हत्या गरेको आरोपमा एक पक्राउ

0
21
Photo : Kalikadainik

चितवन / पूर्वी चितवनको राप्तीमा छिमेकीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेको छ । पक्राउ पर्नेमा राप्ती नगरपालिका वडानम्बर ९ स्थित शीतल टोलका दशरथ ठकुरी भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
ठकुरीले सोही ठाउँका छिमेकी अन्दाजी ५९ वर्षीय कान्छा लामाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) ओम अधिकारीले बताए ।
प्रहरीका अनुसार शुक्रबार बेलुका उनीहरूले सँगसँगै खानपिन गरेको र सोही क्रममा विवाद हुँदा दशरथले कान्छाको टाउकोमा फलामको गलले हिर्काएर हत्या गरेको हो ।
घटनास्थलबाट शवसँगै हत्या आरोपीलाई नियन्त्रणमा लिने क्रममा प्रहरी र स्थानीय बीच झडपसमेत भएको थियो । स्थानीयले पक्राउ परेका व्यक्तिमाथि आक्रमण गर्न खोजेपछि प्रहरीसँग झडप भएको थियो ।
भीड नियन्त्रण गर्न प्रहरीले हवाई फायरसमेत गर्नुपरेको थियो । झडपमा प्रहरी निरीक्षकसहित पाँच जना प्रहरी घाइते भएका छन् । उनीहरूको उपचार भैरहेको छ दुई जना स्थानीय व्यक्ति घाइते भएका छन् । मृतकको शवलाई भरतपुर अस्पताल राखिएको छ ।