नयाँ कमेडी च्याम्पियनको नतिजा आज हुँदै

0
18

काठमाडौँ / कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’को फिनाले आज राती ९ बजे हुने भएको छ । यसपटक ताप्लेजुङका भरतमणि पौडेल, भारत सिक्किमका विक्की अग्रवाल र गोरखाका सन्तोष थापा शीर्ष उपाधिका लागि प्रतिष्पर्धा गर्दैछन् । च्याम्पियन विजेताले २५ लाख र एउटा कार, फस्ट रनरअपले मोटरसाइकल र सेकेण्ड रनरअपले स्कुटर उपहारमा पाउने जनाइएको छ ।
यसपटकको प्रतियोगितामा भरतमणिलाई बलियो दाबेदारका रुपमा हेरिएको छ । किनकी उनको हरेक साता एकपछि अर्को उत्कृष्ट प्रस्तुति दिँदै आएका छन् । उनको पक्षमा नेकपा एमाले नेता योगेश भट्टराईले समेत खुलेरै भोट मागिरहेका छन् । भरतमणिले गरेको पूर्व सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटा, पूर्व युवराज पारस शाहको क्यारिकेचर सर्वाधिक रुचाइएको प्रस्तुतिमा परेको छ ।
सिक्किमका विक्की पछिल्लोपटक ‘पेन्टोमाइम’ अभिनयले चर्चामा छन् । उनको यो प्रस्तुतिमा शोका तीन निर्णायक प्रदीप भट्टराई, ऋचा शर्मा र मनोज गजुरेलले प्रशंसा गरे पनि अर्का निर्णायक सन्तोष पन्तले आलोचना गर्दा सामाजिक सञ्जालमा सन्तोषविरुद्ध अनेक टिप्पणी भएको थियो । गोरखाका सन्तोष पनि अर्का दाबेदारका रुपमा चिनिएका प्रतिष्पर्धी हुन् ।