March 29, 2024

‘परेवाभिर बाटोको विकल्प खोज्नु हास्यास्पद’ – सभापति जिम्बा

July 23, 2020

हेटौंडा । मकवानपुरमा पछिल्लो समयदेखि निकै चर्चामा रहेको राक्सिराङ गाउँपालिका अन्तर्गत पर्ने परेवाभिरको बाटो प्रदेश सरकारले निर्माण नगर्ने भन्ने कुरा बाहिर आएपछि अहिले विवादमा रहेको छ ।
हेटौँडाको एक कार्यक्रममा बोल्दै बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सडक निर्माण हुनै नसक्ने ठाउँ भएको बताए । मुख्यमन्त्री पौडेलले भने सडक निर्माण हुने तर परेवाभिरको आसपास या अन्य ठाउँबाट निर्माण गरिने छ ।
यसैक्रममा नेपाली काङ्ग्रेस राक्सिराङ गाउँपालिका कमिटीका सभापति बिरेन्द्र जिम्बाले मुख्यमन्त्री पौडेलको भनाइ जनता बिरोधी र विकास विरोधी भएको आरोप लगाएका छन् । उनले ब्यक्तिको मुठीमा प्रदेश सरकार भएकोले सिमान्तकृत भुगोलमा बसोबास गर्ने जनताको पीडा ओझेलमा परेको समेत बताउनुभयो ।
परेवाभिरको बाटोको विकल्प खोजिए जनता आन्दोलित हुने र त्यसको सम्पूर्ण जिम्मेवार प्रदेश सरकारले लिनु पर्ने भन्दै आक्रोश व्यक्त गरेका छन् ।
गाउँपालिकाले प्राविधिक हिसाबले सम्पूर्ण प्लानिङ्ग गरेको र खोलामा ८ मिटरको अत्याधुनिक मेसिनरी वाल उठाएर त्यसमाथि ग्राभेलिङ्ग गरि गाडी कुदाउने योजना रहेको छ । जसका लागि सम्पूर्ण प्राविधिक रिपोर्टहरु गाउँपालिकाले तयार गरिसकेको छ ।
यतिसम्मको काम गाउँपालिकाले गरिसकेको देख्दा देख्दै पनि मुख्यमन्त्री पौडेलले परेवाभिरलाई छलेर बाटो निर्माण गरिने बताउनु भनेको हास्यास्पद रहेको समेत सभापति जिम्बाको भनाइ छ ।
राक्सिराङ्ग गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले परेवाभिरको बाटोमा राजनीति घुसपैठ भएको भन्दै जसरी पनि उक्त बाटो निर्माण गरेरै छाडिने अठोट व्यक्त गरेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -