रत्ननगरका मेयर वनले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

0
13

चितवन / चितवनको रत्ननगर नगरपालिकाका मेयर नारायण वनले नेकपा एमालेको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् । मेयर वनले बागमती प्रदेशबाट पार्टीको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेको हुन् ।
पर्यटकीय नगरी सौराहामा मेयर वनले पत्रकार भेटघाटमा पार्टीको केन्द्रीय सदस्यमा उमेदवारी दिने बताएका हुन् । उनी बागमती प्रदेश कमिटी सदस्य समेत हुन् ।
मेयरको कार्यकाल अन्तिम चरणमा आइरहँदा उनले पार्टीको केन्द्रीय सदस्यमा गरेको उम्मेदवारी घोषणालाई अर्थपूर्ण रुपमा हेरिएको छ । २०३५ सालबाट विद्यार्थी राजनीति सुरु गर्नुभएका उनी २०३६ सालको जनमत संग्रहमा सहभागी तथा २०४६ सालको आन्दोलनमा सक्रिय सहभागिता जनाएका थिए ।
२०४३ सालमा इलाका पार्टी सदस्य पदमा रहेर काम गर्नुभएका वनले २०४९ सालमा पार्टीको चितवन जिल्ला कमिटी सदस्य बनेका थिए । २०५४ सालको स्थानीय निकायको निर्वाचनमा मेयरमा शानदार जित हासिल गरी उनले रत्ननगरको विकासलाई उचाईमा पु¥याएका थिए ।
रत्ननगर नगरपालिकाका संस्थापक मेयर समेत रहनुभएका वन २०६० सालमा पार्टीको जिल्ला सचिवालय सदस्य बनेका थिए । रत्ननगर अस्पताल, रत्ननगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था र रेडियो चितवनको संस्थापक अध्यक्ष समेत रहनुभएका वन २०७४ सालको स्थानीय तहको निर्वाचनमा दोस्रो पटक मेयर पदमा विजयी हासिल गर्न सफल भए ।
निर्वाचनमा पार्टीले जारी गरेको घोषणापत्रलाई आधार बनाएर विकासका गतिविधि अगाडि बढाउनु भएका मेयर वनले शिक्षा, स्वास्थ्य, पर्यटनको विकासमा उदाहरणीय काम गरेका छन् ।
पार्टीको नीति, सिद्धान्त र विचारलाई आत्मसाथ गरी राजनीति अगाडि बढाउदै आएका मेयर वनले गरेको कामप्रति नगरवासीहरु सन्तुष्ट छन् ।