April 19, 2024

५० लाखसहित पाँच जना पक्राउ

January 22, 2022

महोत्तरी / महोत्तरी प्रहरीले विभिन्न स्थानबाट स्रोत नखुलेको ५० लाखसहित पाँच जना पक्राउ परेका छन् । विगत पाँच दिनमा जिल्लाको विभिन्न स्थानबाट स्रोत नखुलेको ४६ लाख चार हजार २०० र १५ लाख ३६ हजार बराबरको चेक, दुई हजार जाली नोट र करिब तीन लाख नक्कली नोट बनाउने कागजसहित पाँच जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय महोत्ररीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यका अनुसार, प्रहरीले गत माघ ३ गतेका दिन जिल्लाको मटिहानी नगरपालिका–८ स्थित नेपाल भारत दशगजा क्षेत्रबाट मटिहानी नगरपालिका–३ बस्ने २३ वर्षीय सहाउद्दिन राईनलाई स्रोत नखुलेको ३० लाखसहित पक्राउ गरेको थियो । त्यस्तै, सोही दिन जलेश्वर नगरपालिका–३ स्थित जिल्लाको मुख्य भन्सार कार्यालय जलेश्वर अगाडि भारतबाट आएका धनुषा जिल्लाको जनकपुर उमहानगरपालिका–६ बस्ने २६ वर्षीय मोहम्मद जाहिर रेजा र लक्ष्मिनियाँ गाउँपालिका–१ बस्ने २३ वर्षीय असरफ मोहम्मदलाई चार हजार २०० र करिब तीन लाख बराबरको ५०० र १०० का नक्कली नोट बनाउने काजगसहित प्रहरीले पक्राउ गरेको थियो ।
त्यसैगरी, माघ ६ गते मटिहानी नगरपालिका–३ स्थित पेट्रोलपम्प अगाडिबाट प्रहरीले दुई हजार नेपाली नक्कली नोटसहित भारतको बिहार राज्यको सीतामढी जिल्लाको मेघपुर ग्रामपञ्चायत बस्ने ४० वर्षीय नुरुल जोल्हालाई पक्राउ गरेको थियो भने ७ गते जलेश्वरको मुख्य भन्सार कार्यालय अगाडिबाट प्रहरीले भारतबाट नेपाल आउँदै गरेका भारत विहार राज्यको सीतामढी जिल्लाको सुरसण्ड सहर बस्ने ३९ वर्षीय उदयकुमार साहलाई स्रोत नखुलेको नौ लाख ९६ हजार ४०० भारतीय रुपैयाँ र नौ लाख ६० हजार भारतीय रुपैयाँ बराबरको भारतका विभिन्न बैंकको चेकसहित पक्राउ गरेको थियो । पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

- ADVERTISEMENT -