April 16, 2024

माओवादी पदाधिकारीको माघ २७ गते निर्वाचन

January 23, 2022
File photo.

काठमाडौं / नेकपा माओवादी केन्द्रको पदाधिकारीको निर्वाचन यही माघ २७ गते हुने भएको छ । महाधिवेशन सकिएको डेढ महिनापछि पार्टी कमिटीले पूर्णता पाउने भएको हो ।
यसअघि रोकिएको केन्द्रीय कमिटी बैठक आगामी माघ २७ गतेबाट बस्ने र सोही बैठकले पदाधिकारीको निर्वाचनसहित पार्टी केन्द्रीय कमिटीलाई पूर्णता दिने भएको हो ।
पुस ११ देखि १८ मा सम्पन्न राष्ट्रिय महाधिवेशनपछि अध्यक्ष बाहेकका पदाधिकारी चयन गर्न पुस २५ र माघ ८ मा बोलाएको केन्द्रीय समिति बैठक कोरोनाका कारण बस्न सकेको थिएन ।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शनिबार आन्तरिक परिपत्र जारी गर्दै रोकिएको केन्द्रीय कमिटी बैठक माघ २७ बाट काठमाडौंमा बस्ने र सोही बैठकले पदाधिकारी चयन लगायतका निर्णय गर्ने जनाएका हुन् ।
अध्यक्ष प्रचण्डले जारी गरेको परिपत्रमा सोही मितिमा बस्ने बैठकले केन्द्रीय कमिटीको पूर्णता, पोलिटब्युरो र स्थायी समितिको गठनका साथै पदाधिकारीको निर्वाचन गर्ने उल्लेख छ ।
परिपत्रमा सोही बैठकले केन्द्रीय समितिका सदस्यहरुको कार्यविभिाजनसहित महाधिवेशनले पारित गरेको कार्यदिशा अनुरुप कार्ययोजना निर्माण गर्ने र अन्य आवश्यक निर्णय लिने उल्लेख छ ।
साथै केन्द्रीय समितिको उक्त बैठकबाट अर्को निर्णय नभएसम्मका लागि यसअघिका सबै प्रदेश समिति, जिल्ला समन्वय समिति, विभाग र जनवर्गीय एवम् मोर्चा संगठनहरुको इन्चार्जहरुलाई नै यथावत जिम्मेवारी दिने माओवादीको तयारी छ ।

- ADVERTISEMENT -