गुरुङहरुले जनगणनामा पुर्खाको भाषा र मातृभाषामा गुरुङ भाषा लेखाऔं !

0
15
फोटो: इच्छाकामना न्यूज ।

चितवन /

गुरुङ धर्म बोनधर्म लेखाऔं ! पुर्खाको भाषा र मातृभाषामा गुरुङ भाषा लेखाऔं !!
पुर्खाको भाषा र मातृभाषामा गुरुङ भाषा लेख्नसके सही भाषिक मुल्याङ्कन र सम्मान गरेकोे हुने छ ।

विषय प्रवेश : नेपाल बहुभाषिक देश हो । जनगणना, २०६८ को प्रतिवेदनानुसार १२५ जातजातिले नेपाल सरहदभित्र जम्मा १२३ प्रकारको भाषा बोल्छन् जसमध्ये गुरुङ भाषा पनि एउटा हो ।
नेपालको संविधान २०७२ को धारा (६) अनुसार नेपालमा बोलिने सबै मातृभाषाहरुलाई राष्ट्रभाषाको दर्जा प्राप्त छ । त्यसर्थ भोट–बर्मेली भाषा परिवारको गुरुङ भाषाले पनि राष्ट्रभाषाको दर्जा प्राप्त गरेका हुन् ।
नेपालमा सबैभन्दा धेरै बोलिने भाषा नेपाली, मैथिली, भोजपुरी, थारु, तामाङ, नेवारी, बज्जिका, मगर, डोटेली, उर्दू, अवधी, लिम्बु र गुरुङ भाषा हुन् त्यस हिसाबले गुरुङ भाषाको स्थान १३औं पर्दछ ।
बाहुन र क्षेत्री त्यसैगरी प्रतिवेदनमा कामी उल्लेख यी तीन जातले मातृभाषाको नाममा एउटै भाषा नेपाली भाषा बोल्छन् । त्यस हिसाबले नेपालमा बोलिने मातृभाषा १२५ नभएको हुनु पर्दछ ।
तालिका १. राष्ट्रिय जनगणना, २०६८ सालमा गुरुङ भाषाको स्थिति ।

साभार : केन्द्रीय तथ्याङ्क विभाग, थापाथली ।

गुरुङ भाषा केवल गुरुङहरुले मात्र नबोलेर २२ हजार ८ सय ३४ जना अर्थात कुल गुरुङ जनसंख्याको ४.३४% हिस्सा गैरगुरुङहरुले पनि बोल्ने गरेको भाषा हो । त्यस हिसाबले गुरुङ भाषा बोल्ने गुरुङहरुको जनसंख्या ३ लाख २५ हजार ६ सय २२ बाट अझ घटेर ३ लाख ०२ हजार ७ सय ८८ मात्र हुन आएको हो जुन तिनको जनसंख्याको केवल ५७.९% हिस्सा मात्र हो जब कि गुरुङ भाषा नबोल्ने तिनको जनसंख्या १ लाख ९७ हजार १९ बाट अझ बढेर २ लाख १९ हजार ६ सय ५३ हुन पुगेको हो जुन तिनको जनसंख्याको केवल ४२.०२% मात्र हिस्सा हो । त्यसर्थ मातृभाषा बोल्ने र नबोल्ने गुरुङहरुबीचको अनुपात ५७.९ : ४२.०२ हुनुमा कि त गुरुङहरुले आफ्नो मातृभाषामा जानेर या नजानेर अरु नै भाषा लेखी लेखाई दिएकाले कि त गणकहरुले शंकाको लाभ उठाएर आफ्नो चातुर्यता देखाएकाले कि त आफ्ना नवजात शिशुहरुलाई पहिलो भाषाको रुपमा सिकाउने आमाहरुको मातृभाषा नै गुरुङ भाषा नभएकाले हुनु पर्दछ(तालिका १ हेर्नुहोस) ।
अब आउने जनगणनामा हुने भाषा सर्वेक्षणमा मातृभाषा र सिकेको दोस्रो भाषासँगै पुर्खाको भाषासमेत समावेश गरिएका छन्(तालिका ३. हेर्नुहोस) ।

गुरुङ भाषाको स्वरुप : ‘यो पर्खाल नराम्ररी भत्किएछ’लाई गुरुङ भाषामा ‘चु बान्नु अछ्याँन्ले फुह्यान’ भन्नुपर्नेमा आजभोली ‘चु पर्खाल डेन्जरले भत्कदीह्यान’ भन्ने आम बोली चाली बनेको छ जुन अंग्रेजी, नेपाली र गुरुङ तीन भाषाले मिलेर बनेको छ ।
गुरुङ भाषामा त्यस किसिमको अप्रभंश स्वरुप देखापर्नु भनेको एक ठेट गुरुङ भाषी समाज आजभोली भेटिन कठिन छ दोस्रो बसाइ सराईको कारण गुरुङहरु पनि मिश्रित समाजमा उठबस गर्न वाध्य हुनु परेको छ त्यसर्थ गुरुङ भाषी परिवारको बोली चालीमा त्यस किसिमको फरक आएको हो भन्न करलागी छ ।
माथि उद्धृत वाक्यांश कहिल्यै विद्यालयको मुख नदेखेकी गुरुङस्येनी आमा बज्यैहरुले सामान्य रुपमा बोल्छिन् जब कि आफैले प्रयोग गरेको शब्दको शाब्दिक ज्ञान भने उनीहरुलाई नहुन सक्तछ । उनीहरुको बोली चालीमा मिसिएका अंग्रेजी वा नेपाली लफज नाती–नतिनाहरुबाट सुनेका सिकेका लफज हुन् भन्न कठिन नहोला ।
सबैभन्दा मज्जाको कुरा त के हो भने बोली फुट्न लागेका आफ्ना नवजात शिशुलाई आमाहरुले ‘आप–आमा’, ‘बाथे–आथे’, ‘आपमैल–आपमैली’, ‘आपसैल–आपसैली’, ‘आपच्यों–आमच्यो’जस्ता गुरुङ शब्दहरुको साटो कि त ‘बाबा–आमा,’ ‘ठूलाबा–ठूलीआमा’, ‘साइलाबा–साइलीआमा’, ‘कान्छाबा–कान्छीआमा’ कि त ‘मम्मी–ड््याडी’ ‘अंकल–आण्टी’, ‘सिस–ब्रो’, ‘टाटा–बाइबाइ’जस्ता शब्द सिकाउने चलन आम भइसकेका छन् । त्यति मात्रै कहाँ हो र ? तमु समुदायमा द्रुतगतिमा भित्रिएका बाहिरी सँस्कारले ‘क्ङै कोबै दिन’ ‘फीबै दिन’ लाई ‘उपनयन’ या ‘भात खुलाई’, ‘बर्थ डे’ जस्ता बाहिरी भाषाले विस्थापित गरी दिएका छन् ।
नेपालीकरण भयो भनेर बुटवलतिरका गुरुङहरुले त झन् आफ्ना नवजात शिशुहरुको नाम कर्मा, पेमा, निमा, सोनम राख्न थालेका छन् । आधुनिक गुरुङ आमा–बाहरुले आफ्ना नवजात शिशुहरुको रिन्की, पिन्की, डेनियल, जोनजस्ता अंग्रेजी नाम राख्न गर्व ठान्ने छुट्टै व्यथा छ जब कि ठेट गुरुङ नाम त क्हम्स्यो, त्हुल्स्यो, सार्कीस्यो, कमी, त्हुली, सार्की, पोंले आदि हुन् ।
माथि उल्लेख दृष्टान्तहरु प्रत्येक गुरुङ घर–परिवारका कथा हुन् जसले आज गुरुङ समाजमा तेजीले बदलीरहेको गुरुङ भाषाको स्वरुप बखान गरीरहेका छन् ।

गुरुङ भाषाको यो स्वरुप हुनुको कारण : गुरुङ भाषामा आएको यो स्वरुप परिवर्तनले ल्होङो, क्हली, क्होंर, ङ्होल, चिली, तोने, ल्हुँली, यागोंजस्ता पुराना गुरुङ गाउँहरुको नाम बदलेर आज ल्वाङ, घलेल, घान्द्रुक, अर्मला, सिक्लिस, ताङतिङ, लुम्ले, मोरिया भइसकेका छन् । अहिले आएर आधुनिक शिक्षा दिक्षामा हुर्केका सहरी चाल–ढालमा ढल्केका तिनै गाउँका छोरा, नाती, छोरी, बुहारी आफ्नो मातृभाषा बोल्न हिच्किचिाउने मनोविज्ञानबाट ग्रसित छन् । छोरा–छोरीसँग कुरा लुकाउनुपरे मात्र गुरुङ भाषा बोल्ने तिनीहरुको आम चलनजस्तै भइसकेको छ तर तिनको आचरणले आफ्नो छोरा–छोरीलाई मातृभाषा सिक्ने अधिकारबाट वंचित गराएको कुरा तिनले हेक्का राखेका छैनन् ।
सबैभन्दा डरमर्दो स्थिति कहाँनिर हो भने पाश्चात्य जीवनशैलीमा चुर्लुम्म डुबेका गुरुङ युवा पुस्ताको आफ्नो पुर्खाको भाषा हेर्ने रवैया आशा लाग्दो छैन नत्र गुरुङ भाषा सम्बन्धमा एकमत रहेको गुरुङ समुदायमा यसलाई मातृभाषा मान्ने कि नमान्नेबीचको अनुपात ५८ : ४२ के खाएर हुन्थ्यो ?

जनणना र गुरुङ भाषाको स्थिति : तालिका २ मा उल्लेख भाषा सर्वेक्षण विवरण अवलोकन गर्दा पहिलो पाँचै विकास क्षेत्रमा गुरुङ भाषी गुरुङ र गैरगुरुङ दुबै रहेको, दोस्रो गुरुङ वा गैरगुरुङमध्ये गुरुङ भाषाप्रति चाख राख्ने पुरुषभन्दा महिला नै बढी रहेको, तेस्रो पूर्व क्षेत्रका गुरुङहरुले मातृभाषाप्रति देखाउँदै आएको रवैया मिथ्या भएको, चौथो पूर्व र पश्चिम दुई विकास क्षेत्रहरुमा गुरुङ भाषा बोल्नेभन्दा नबोल्ने गुरुङहरु कम भएको तर मध्य, मध्य पश्चिम र सुदूर पश्चिम क्षेत्रमा गुरुङ भाषा बोल्नेभन्दा नबोल्नेहरु बढी भएको, पाँचौं सबैभन्दा धेरै गुरुङहरु बस्ने भूगोल पश्चिम क्षेत्र र सबैभन्दा थोरै बस्ने थलो सुदूर पश्चिम क्षेत्र भएको र छैठौं गुरुङ भाषा बोल्ने सबैभन्दा धेरै गैरगुरुङ बस्ने थलो पनि पश्चिम क्षेत्र नै भएको रोचक तथ्य बाहिर आएका छन् ।
माथि उल्लेख भाषिक आधार जुटाएको जनगणनाले हो त्यसर्थ नेपाली जनजीवनमा झैं गुरुङ जनजीवनमन पनि जनगणनाको ठूलो महत्व रहेको हुन्छ ।
तालिका २. गुरुङ भाषा बोल्ने नबोल्ने गुरुङ–गुरुङस्येनी र गैरगुरुङहरुको सर्वेक्षण विवरण ।

साभार : केन्द्रीय तथ्याङ्क विभाग ।

गुरुङ आफैले सोच्नुपर्ने बेला आएको छ : भाषा गुरुङहरुको मौलिक पहिचानमध्ये एक भएको दाबी गर्ने ठूल्ठूला गुरुङ संघसंस्थाहरु थुप्रै रहेका छन् तर तिनले गुरुङ भाषालाई कार्यालय भाषा बनाएको अभिलेख भेटिदैन । भाषालाई मौलिक पहिचान बताउने गुरुङ अभियन्ता प्रशस्तै छन् तर तिनले पनि यसलाई महत्व दिएको कतै भेटिदैन । भाषाको महत्व अथ्र्याउने जनसंख्याविद प्रा.डा.योगेन्द्र गुरुङले त मातृभाषा सम्बन्धी आफ्नो समस्या त जूम संवादमार्फत स्पष्ट रुपले राखी सक्नु भएकै छ त्यस्तोमा तालिका १ मा उल्लेख गुरुङ भाषालाई अहमियत दिने २२ हजार ८ सय ३४ गैरगुरुङहरुको भूमिका कम महत्वपूर्ण रहेको छैन ।
‘तिब्बतियन लामावादले तमु सँस्कार, सँस्कृति, भाषा, भेषभूषाको संरक्षण नगर्ने भएकाले यो गुरुङहरुको आदिमधर्म हुन सक्तैन ।’ भन्ने सह–प्राध्यापक नारायण ल्हेगे गुरुङको विचारसँग विमति राख्ने गुरुङहरुले तिब्बतियन लामावाद बौद्धधर्मलाई कुलधर्म बताउने क्रममा गुरुङहरुको ल्होसार ग्याल्पो ल्होसार र पुर्खाको भाषा र मातृभाषा तिब्बती भाषा बताउने दिन नआउला भन्न सकिन्न । त्यसो हुन थाले गुरुङ भाषालाई मातृभाषा मान्ने र नमान्नेहरुबीचको अनुपात ५७.९ : ४२.०२ बाट ४२.०२ : ५७.९ हुनसक्ने कुरा गुरुङहरु आफैले गहिरिएर सोच्नुपर्ने बेला आएको छ ।

भाषा वर्गीकरण : विगतका जनगणनाहरुमा मात्र मातृभाषा र दोस्रो भाषाको सर्वेक्षण गरिएकोमा मात्र यी दुई भाषाको सर्वेक्षणले भाषाको क्षेत्र नसमेटिने देखी यस पालीको जनगणनामा केन्द्रीय तथ्याङ्क विभागद्वारा मातृभाषा र सिकेको दोस्रो भाषासँगै पुर्खाको भाषासमेत समावेश गरी भाषा सर्वेक्षण गरिने भएको हो(तालिका ३. हेर्नुहोस) । हुन पनि हो अहिले आएर नेपालका प्रायः सबै जातजातिमा अन्तरजातीय बिबाहले द्रूतगतिमा प्रशय पाउँदै आएको बेला गोरी, किरात या आर्य कुलकी कन्या कुलबधु भएर भित्रिएकी कुनै पनि नेपाली परिवारका नवजात शिशुको मातृभाषा त्यस परिवारको पुर्खाको भाषाभन्दा बेग्लै मातृभाषा बोकेर आएकी आमाले सिकाउने पहिलो भाषा त्यस परिवारले बोल्ने पुर्खाको भाषा हुनसक्ने सम्भावना कम देखेर केन्द्रीय तथ्याङ्क विभागले त्यस्तो प्रावधान अवलम्बन गरेको हुनु पर्दछ ।

पुख्र्यौली भाषा, मातृभाषा र दोस्रो भाषा के हुन् ? : The ability to speak an ancestral language is one way of passing knowledge from one generation to another भनेको पुर्खाको भाषा,  The first language that you learn when you are a babyrather than a language learned at school or as an adult भनेको मातृभाषा र A second language is a language that a person learns in addition to their first language भनेको दोस्रो भाषा हो भनेर विकीपेडियामा पाइएको परिभाषाबाट पुर्खाले बोल्दैआएको तिनका सन्तान दरसन्तानले बोल्ने भाषा पुर्खाको भाषा, आमाले नवजात शिशुलाई बोल्न सिकाउने भाषा मातृभाषा र मातृभाषाको अतिरिक्त सिक्ने भाषा नै दोस्रो भाषा हो भन्ने अक्षरशः सिद्ध हुन्छ(तालिका ३ हेर्नुहोस) ।

पुर्खाको भाषा र मातृभाषामा गुरुङ भाषा लेख्न किन भनिएको होला ? : गुरुङ समुदायमा पाइने एकाध अन्तरजातीय बिबाह, परिवारमा कुलबधुको रुपमा भित्रिएको गुरुङ भाषा बोल्न नजान्ने एकाध गुरुङ कन्या र बच्चा जन्मिनसाथ आमा गुमाएको एकाध अवस्थामा बाहेक गुरुङका नवजात शिशुले गुरुङ भाषा नै सिक्ने देखेर यस पालीको जनगणनामा जुनसुकै भाषा बोले पनि, गुरुङ भाषा बोल्न जाने पनि, नजाने पनि प्रत्येक गुरुङले पुर्खाको भाषा र मातृभाषाको हकमा गुरुङ भाषा नै लेख्नु पर्दछ भनिएको हो ।

जनगणनामा लगत फारम भर्ने तरिका : केन्द्रीय तथ्याङ्क विभागद्वारा सार्वजनिक गरिएको मूल प्रस्नावलीको एउटा छोटो अंश तालिका ३ मा देखाइएको छ जस्मा मुकर्रर गरिएको क्रमांङ्कसहितका शिर्षक जातजाति, मातृभाषा, सिकेको भाषा र पुर्खाको भाषासहित धर्मको विवरण समावेश छ साथै तिनको कोड पनि समावेश छ त्यस तालिकामा पहेलो रंगले पोतिएका अंकहरु (१), (७), (११) र (१३) क्रमशः नेपाली, बोन धर्म, गुरुङ जाति तथा तिनीहरुको पुर्खाको भाषा एवं मातृभाषाका कोड(संकेत) नम्बर हुन् जुन सर्वेक्षण फारम भर्दा कसरी भर्ने भनी देखाइएको एउटा नमूना मात्र हो । तर तालिका ३ मा उल्लेख ‘कमी’ शब्दले एउटा व्यक्ति(गुरुङ)को नाम प्रतिनिधित्व गरेको कुरा कसैले पनि नभूलौं ।

यस पालीको जनगणनाको लागि केन्द्रीय तथ्याङ्क विभाग, थापाथलीले प्रकाशित गरेको मूल प्रस्नावलीमा बोनधर्म पनि समावेश छ जसको कोड नम्बर (७) निर्धारण गरिएको कुरा कसैले पनि नविसौं ।

गुरुङ युवा पुस्ता आफ्नो जातिको नाम गुरुङभन्दा तमु लेख्न बढी रुचाउँछन् जसले प्रवेश पाउनासाथ एउटा जाति दुई नामले चिनिने अवस्था खडा हुने निश्चितजस्तै थियो । तर केन्द्रीय तथ्याङ्क विभागले मूल प्रस्नावलीमा कोड संख्या तोक्दा गत २०६८ सालको जनगणनाको तथ्याङ्कलाई आधार मानेकाले नयाँ प्रस्नावलीमा ‘तमु’ शब्दले प्रवेश पाउने डर हराएर गएको निश्चित हो जुन एउटा चिन्ताको विषय अवश्य बन्न सक्दथ्यो(तालिका ३. हेनुहोस) ।
तालिका ३. जातजाति, भाषा र धर्म सम्बन्धी प्रस्नावलीको नमूना विवरण ।

साभार : केन्द्रीय तथ्याङ्क विभाग, थापाथली ।

उपसंहार : २०६८ सालमा गरेको भाषा सर्वेक्षणको परिणामानुसार नेपालमा बोलिने १२३ भाषामध्ये सबैभन्दा धेरै बोलिने १५ भाषाहरुमा गुरुङ भाषा १३औं स्थानमा पर्दछ । त्यति मात्रै नभएर झण्डै २२ हजार ८ सय ३४ जना गैरगुरुङहरुले पनि यो भाषा दोस्रो भाषाको रुपमा बोल्न रुचाएको भेटिएका छन् । तर आफ्नै घरभित्र भने यस भाषाको स्वरुप गिर्दो अवस्थामा रहेको र आफ्नै मातृभाषाप्रति गुरुङहरुको रवैया पनि चाखलाग्दो नभएको भेटिएका छन् जसले गर्दा आफ्नै मातृभाषा नबोल्ने र बोल्न नसिके नसिकाएको दर द्रुतगतिमा बढ्दो अवस्थामा रहेको भेटिएका छन् । गुरुङ भाषाको स्वरुप जस्तोसुकै भए पनि गुरुङहरुबीच भाषालाई लिएर विमति भने आजसम्म देखिएको छैन जुन हर्षको विषय भने पक्कै हो ।
त्यस परिस्थितिको पूरा लाभ उठाएर गुरुङ भाषाभित्र देखा परेका आरोह प्रत्यारोहमाथि समिक्षा गर्ने अवसरको रुपमा यस पालीको जनगणना देखा परेको छ । यसको राम्रो सदुपयोग गरेर गुरुङ भाषा बोल्ने र नबोल्ने गुरुङहरुबीचको दुरी पूर्ण रुपले हटाउन भाषा बोल्न जान्ने या नजान्ने दुबै वर्गका गुरुङहरुलाई स–साना अपवादमा नअडकी आफ्नो पुर्खाको भाषा र मातृभाषाको हकमा गुरुङ भाषा नै लेख्न र लेखाउन लगाऔं । गुरुङ समुदायभित्र भाषा सम्बन्धी कुनै किसिमको अन्तरविरोध नभएकोले यति काम गर्न सके गुरुङ भाषाको सही मुल्याङ्कन हुने र गुरुङहरुले आफ्नो पुर्खाको भाषा र मातृभाषाप्रति सही न्याय गरेको र पूर्ण रुपले सम्मान गरेको ठहर्ने छ ।
त्यसर्थ माथि उल्लेख बूँदाहरुको राम्रो अध्ययन गरी गुरुङ भाषाको हकमा ठोस निर्णय लिन सबै गुरुङहरुमा यसै आलेखमार्फत हार्दिक आग्रह समेत गरिएको हो र छ ।

लेखक गुरुङ तमु प्ये ल्हु संघ काठ्माण्डौको अध्यक्ष समेत हुनुहुन्छ ।