बैंकको हेलचेक्र्याँइ : खाता खोल्दा एकै दिन, बन्द गर्दा हप्ता दिन

0
218

– बबिलाल तामाङ
मानिसहरुका आ–आफ्नै परिचय र काम कर्तव्यहरु हुन्छन् । आफ्नै कार्य व्यस्तता सबैका उत्तिकै महत्वका हुन्छन् । आफ्नो जिम्मेवारी सही ढंगबाट पालना गर्नु पर्ने हुन्छ । थोरै तलमाथि दायाँबायाँ हुँदा त्यसको परिणाम नकारात्मक हुन्छ । जिम्मेवार व्यक्तिको आलटालले गर्दा त्यसबाट पर्ने नकारात्मक असरको परिणाम अर्को व्यक्तिले पाउनु पक्कै पनि सुखद् हैन । २०७३ सालतिर कामना सेवा विकास बैंकमा मैले आफ्नो फर्मको खाता खोलेको थिएँ । त्यस बखत मलाई एकै दिनमा खाता खोलिदिएको थियो बैंकले । फर्मको खाता खोल्दा तपाईँको न्यूनतम ब्यालेन्स ५ हजार भनेको थियो, त्यो पनि मैले बुझाएँ ।
तर आज खाता बन्द गर्ने अवस्था आएकोले सोहीअनुसार साउन ८ गते बिहीबार बैंकमा खाता बन्दको लागि प्रस्ताव राखेँ । तर बैंकका कर्मचारी सुनिता गौतमले मलाई तपाईँको करचुक्ता चाहियो, नागरिकता, स्ट्याम्पलगायत बैंकका दुई वटा फर्म भर्न भनियो र तपाई आज जानुस् भोलि आउनुस भन्नुभयो । मैले सोधेँ, किन ? आजै गर्न मिल्दैन र ? प्रति जवाफमा उहाँले भन्नुभयो, ‘आज भिडभाड छ भोलि आउनुस् ।’ मैले पनि बैंकको अवस्थालाई मध्यनजर गर्दै हवस् भनेँ र बैंकबाट म बाहिरिएँ ।
भोलिपल्ट बैंकले भनेझैँ सबै प्रक्रिया पु¥याएर म बैंकमा उपस्थित भएँ । त्योदिन शुक्रबार परेकोले बैंकका कर्मचारी गौतमले ‘आज शुक्रबार हो, ढिला भयो अब आइतबार आउनुस् कन्फर्म हुन्छ’ भन्नुभयो । उहाँले चाहेको भए मेरो काम हेर्न सक्निुहुन्थ्यो, तर हेर्नै चाहनुभएन । सायद मेरो खाता बन्द गर्ने काम भएकोले हो कि भन्ने मलाई लाग्यो र मैले प्रश्न गरेँ, ‘सिस्टर तपाईँहरु बैंकको खाता खोल्न एकै दिन भ्याउनु हुन्छ, अनि बन्द गर्न चाहिँ किन समय लगाउनुहुन्छ ? बैंकका कर्मचारी गौतमको जवाफ थियो– ‘हेर्नुस् दाइ यहाँ काम धेरै छ, त्यसमाथि पनि आज शुक्रबार भ्याइएन, तपाई आइतबार आउनुस्, काम हुन्छ ।’ त्यो दिन पनि दिक्क हुँदै निस्किएँ ।
उसैगरी आइतबार पनि म बैंकमा पुगेँ । यसअघिका दिनमा जस्तै बैंकका कर्मचारी सुनिता गौतमसँगै भेट भयो । मेरो कागजपत्र लिनुभयो र एकछिन बस्न भनेपछि म करिब आधा घण्टा जति कुरेँ । तर, मेरो कुनै काम कारवाही अगाडि बढेन । मलाई कुर्न लगाउँदै अन्य ग्राहकको काम फटाफट गर्दै हुनुहुन्थ्यो, किनकि म मेरो कामको पालो कतिखेर आउँछ भनेर नियालिरहेको थिएँ । आधा घण्टासम्म पनि काम नभएपछि मैले फेरि काम गरिदिन अनुरोध गरेँ । ‘अहिले म्याम बिजी हुनुहुन्छ, टाइम लाग्छ, एकछिन अझै बस्नुस् न,’ उहाँले भन्नुभयो ।
अन्य ग्राहक जो मभन्दा पछि आउनेको चाहिँ काम भइरहेको छ, तर मलाई भने कुर्न लगाइएको छ । किन हो मैले बुझ्न सकिन । करिब आधा घण्टापछि कर्मचारी गौतमले अर्को कोठामा मेरो कागजपत्र लगेजस्तो गर्नुभयो । करिब पाँच मिनेटपछि आएर उहाँले भन्नुभयो, ‘तपाईँको कागजपत्र छोडेर जानुस्, हामीले काठमाडौं पठाउनुपर्छ । काठमाडौं हेड अफिसमा जानकारी गराउनुपर्छ ।’ मलाई लाग्यो बैंकको नीतिनियम होला भन्दै मनलाई चित्त बुझाएँ । त्यसदिन पनि काम हुन सकेन ।
अचम्म कुरो त त्यसैदिन शारदानगरबाट यसै कामना सेवा विकास बैंकका एकजना सेवाग्राही चेक साट्न आएका थिए । यस बैंकको शाखा शारदानगरमा २ लाख ८० हजार नगद नभएपछि ती सेवाग्राहीलाई नारायणगढ ब्रान्च पठाइएको रहेछ । ‘घर नजिकैको बैंक भनेर खाता खोलियो, जाबो दुई लाख असी हजार पनि दिन सकेन,’ उहाँले मसँग पनि गुनासो गर्न भ्याउनुभयो । बैंकले अनावश्यक दुःख दिन थालेपछि उहाँ पनि खाता बन्द गर्ने सोचमा हुनुहुँदो रहेछ । ग्राहकलाई दिने यो सास्तीले पक्कै पनि बैंकले दिने सेवा र बफादारीमा थोरै भए पनि आँच आएको महसुस हुन्छ । सानो–सानो रकमसमेत दिन आलटाल गर्ने र सेवाग्राहीलाई कुनै पनि सेवा सुविधा दिन पछि पर्ने हो भने यसको असर नकारात्मक नै हुन्छ ।
चौथो दिन सोमबार पनि धाइयो । तर यसअघिका दिनमा भेट हुने गौतम बिदामा हुनुहुँदोरहेछ । र, उहाँको सट्टामा यमुना सिग्देल हुनुहुँदोरहेछ । सुनिता गौतमलाई जस्तै यमुना सिग्देललाई मैले आफ्नो कुरा दोहो¥याएँ । उहाँको पनि कुरा उस्तै, ‘एकछिन् बस्नुस् ।’ अब त अति भो जस्तो लागेर मैले उहाँसँग पनि भनेँ, ‘हैन सिस्टर आज चारदिन भइसक्यो म बैंक धाएको, मेरो काम चाहिँ कहिले हुन्छ ?’ मेरो प्रश्न सुनेर उहाँ थोरै आवेशमा आउनुभो र भन्नुभो, ‘तपाईँको काम तुरून्त हुँदैन दाइ, एक हप्ता लाग्छ । बल्ल त मेरो हातमा कागजपत्र परेको छ । प्रक्रियामा जाँदा एक हप्ता लाग्छ, काठमाडौंबाट पास भएर आउनुपर्छ ।’ उहाँको कुरा सुनेर म एकछिन अवाक् भएँ ।
एक त पहिलेको स्टाफले गर्दा चारदिन त्यसै गयो । अब अझै १ हप्ता भनेपछि, यो त हद हो नि । बैंकको यो लाचारीपन, सेवाग्राहीप्रति यो व्यवहारले ग्राहकमा परेको मर्का बैंकले किन नसोचेको होला । उनको त्यो हप्ता दिनसम्म लाग्छ भन्ने जवाफले मलाई साह्रै पीडाबोध महसुस गरायो । यसरी एउटा खाता बन्द गर्न हप्तादिन लाग्छ भने बैंकप्रति ग्राहकले कसरी विश्वास गर्ने ? म जस्तै पीडित त अरू पनि होलान् । यो किसिमको लाचारीपनले पक्कै पनि अरू सेवाग्राहीलाई निकै सास्ती पुगेको होला भन्ने मलाई लाग्यो ।
अन्तिम विकल्पमा अब बैंक म्यानेजरलाई भेट्नुपर्छ भन्ने लाग्यो, र म्यानेजर सुरेश घिमिरेलाई भेटेर फेरि उही बेलिबिस्तार लगाएँ । बिहीबारदेखि बैंक धाएको चार दिन बितिसक्दासम्म पनि मेरो काम भएन । तपाईँका कर्मचारीले अझै एक हप्ता लाग्छ भन्नुहुन्छ, खास कुरो के हो ? अनि खाता खोल्ने बेलामा फर्मको खातामा न्यूनतम ब्यालेन्स ५ हजार हुनुपर्छ भन्नुहुन्थ्यो, अहिले बन्द गर्ने बेलामा १ हजार ब्यालेन्स भन्दैहुनुहुन्छ । यस्तो कसरी भयो सर ?
मेरो सबै कुरो सुनेपछि बैंक म्यानेजर घिमिरे एकैपछिन बाहिरिनुभयो । केही समयपछि भित्र प्रवेश गर्दै तपाईको काम हुन्छ, यसरी यो कारणले तपाईँको १ हजार हुन गएको हो भन्दै मलाई ल्यापटप ब्रिफिङ गराउनुभयो । मैले फेरि प्रश्न गरेँ, ‘यसरी बुझ्न सजिलो भएन हजुर मलाई चेक साटिएको मितिसहितको छोटकरी स्टेन्टमेन्ट दिनुस्’ भन्दै गर्दा उहाँले हामीले त्यसरी दिन मिल्दैन भन्नुभयो । यो तरिकाले म सेटिस्फाइड भइनँ नि सर भन्दै गर्दा बैंकका घिमिरे भन्नुहुन्छ, ‘तपाईँले हामीलाई ट्रष्ट गर्नुपर्छ, बैंकको पनि सिस्टम हुन्छ र त्यहीअनुसार काम हुन्छ ।’
ग्राहकलाई जानकारी गराउन मिल्दैन ? भन्ने प्रश्नमा उहाँ भन्नुहुन्छ, ‘दशौं हजार ग्राहक छन्, कतिलाई एसएमस गर्ने, त्यो सम्भव हुँदैन, चाहिएमा ग्राहकले हाम्रो वेबसाइटमा हेर्न सक्छन् ।’ उहाँको कुरा त सही छ, तर सबैले वेबसाइट हेर्दैनन् । खाता खोल्ने बेलामा ५ हजार न्यूनतम ब्यालेन्स हुनुपर्छ भन्ने र अहिले १ हजार मात्रै हुन्छ भन्दा जो कोही ग्राहक अलमलमा पर्नु स्वाभाविक हो । तर उहाँको यो जवाफले म सेटिस्फाइड हुन सकिन । उहाँको यो जवाफ पक्कै पनि ग्राहकलाई चित्तबुझ्दो हुन्छ भन्ने मलाई लाग्दैन । यस्ता जवाफले ग्राहकप्रति वफादारी नभएको स्पष्ट देखिन्छ । अब त्यति भनेपछि मैले त्यहाँ बस्न उचित ठानिनँ र काम यसै पनि त्यो दिन नहुने पक्का भएपछि म फिर्ता हुनुको विकल्प थिएन ।
मंगलबार बैंकतिर जानै मन लागेन । कति धाउनु । बैंकले दिएको यो सास्ती देखेर मलाई ज्यादै रिस उठिरहेको थियो । तर के गर्नु डाडू पन्यू उनीहरुकै हातमा छ । जे मन लाग्छ त्यही गर्दै जान्छ । फेरि जानु, अनि फिर्ता आउनु मात्र हो भने जस्तो लाग्यो । त्यसदिन फोनमै म्यानेजरसँग कुरा गरेँ । उहाँ त्यो दिन बाहिर हुनुहँदोहेछ । ‘म बाहिर छु बैंक पुगेपछि खबर गर्छु । तपाईँ ढुक्क हुनु न सर किन आत्तिनुहुन्छ र ?’ उहाँले भन्नुभयो । आज ६ दिन भइसक्यो एउटा बैंक खाता बन्द गर्न धाएको, तर टसको मस भएको छैन । अनि नआत्तिए के गर्नु ? एकछिनपछि बैंक म्यानेजरले फोनमा भन्नुभयो, ‘सर तपाईँको केवाइसी लक भएको रहेछ । त्यो काम हुन्छ । तपाईँको भोलि नै काम हुन्छ ।’ आजको दिन पनि यत्तिकै सकायो बैंकले ।
बुधबार १२ बजेतिर फेरि बैंक पुगेँ । उही कर्मचारी सिग्देललाई पुनः सोधपुछ । उहाँको कुरा पनि पुरानै, ‘तपाईको काम हुन्छ दाइ, कत्ति आत्तिनु भएको हो ?’ हेर्नस् त बैंकको जिम्मेवारी । ग्राहकप्रतिको इमान्दारिता । ७ दिन भइसक्यो, काम हुन्छ, काम हुन्छ । हुने चाहिँ कहिले ? मलाई सहनुको सीमा पार भइसकेको थियो । एकैछिन उहाँसँग रिसाउनुको विकल्प नै थिएन, ‘तपाईँको बैंकको ग्राहकसँग गर्ने व्यवहार यही हो ? खाता खोल्दा एकै दिन सबै काम गर्नुहुन्छ । अनि बन्द गर्दा चाहिँ ७ दिनमा पनि नसक्ने ?’
अलिकति झोक्किएपछि उहाँले बल्ल रिसेप्सनबाट मेरो फाइल बोकेर अर्को कोठातिर लाग्नुभयो । त्यसपछि मैले बुझेँ कि त्यो दिनसम्म त मेरो काम भएकै रहेनछ । मलाई एकछिन बस्न भनेकाले करिब १ घण्टा बढी म कुर्न बाध्य भएँ । करिब एक घण्टा कुरेपछि उहाँले फइल ल्याउनुभो र फेरि अर्को फर्म पनि भर्न लगउनुभयो । किनकि खाता बन्दको फर्म पनि भर्नुपर्दोरहेछ । त्यसपछि चाहिँ म कन्फर्म नै भएँ कि ६ दिनसम्म मेरो काम भएकै रहेनछ । खाता बन्द गर्ने फर्ममा हस्ताक्षर गर्न लगाइयो र तपाईँको काम भोलि चाहिँ पक्का हुन्छ भनेर ढुक्क हुन भनेपछि अब चाहिँ काम पक्का भयो कि भन्ने मलाई पनि लाग्यो । किनकि खाता बन्द गर्ने फर्म ७ दिनमा मात्र उपलब्ध गराएको थियो । त्यसअघिका दिनमा मलाई अनेकन बहानाबाजी गरेको प्रस्ट भयो । बैंकले चाहेको भए मेरो काम एक÷दुई दिनमा गर्न सक्थ्यो, तर गरेन । मलाई जानाजानी सास्ती दिने काम गरेको हो भन्ने बुझियो ।
भोलिपल्ट बिहीबार पुनः बैंक गइयो र त्यो दिन आठौं दिन भइसकको थियो । मलाई देख्ने बित्तिकै बैंकका कर्मचारी सिग्देलले दाइको काम आज जसरी पनि हुन्छ भन्नुभयो । म ढुक्क भएँ । उहाँले भनेजस्तै भौचर भरेँ र हस्ताक्षर गरेँ । करिब एक, डेढ घण्टापछि मलाई भौचर थमाउँदै भन्नुभयो, ‘दाइ तपाईँको काम भयो ।’ यसरी आठौं दिनपछि बल्ल मेरो खाता बन्द गर्ने काम सम्पन्न भयो ।
मैले बुझ्नै नसकेको कुरा, खाता खोल्दा १ दिनमै काम गर्ने र खाता बन्द गर्न भने हप्ता दिन लगाइदिने किन ? बैंकसँग जोडिएर कारोबार गरे मात्र व्यवहार राम्रो गर्ने अनि कारोबार बन्द गर्दा ग्राहकलाई किन सास्ती ? हप्तादिन लगाएर खाता बन्द गर्ने अवस्था आउँदा यसको क्षतिपूर्ति कसले दिन्छ ? किन यस्तो सास्ती दिन्छ बैंकले ? खाता खोल्दा अधिकतम ब्यालेन्स (५,०००) र बन्द गर्ने समयमा १ हजार हुन्छ त्यो बीचमा ग्राहकलाई जानकारी दिनु पर्दैन ? बन्द गर्ने बेलामा कहिले के भएन, के पुगेन, कहिले नीति नियमको कुरा यस्ता अनेकन बहानाबाजी किन ? हप्ता दिन लगाएर काम गर्ने बैंकको यो व्यवहारले ग्राहकलाई सास्ती कहिलेसम्म ?