March 28, 2024

राति ९ देखि बिहान ५ बजेसम्म हिँडडुलमा प्रतिबन्ध

August 9, 2020

चितवन । चितवनमा राति ९ बजेदेखि विहान ५ बजेसम्म पूर्णरुपमा हिडडुलमा प्रतिबन्ध लगाइने भएको छ । जिल्लामा कोरोना भाइरस (कोभिड–१९) संक्रमको जोखिम बढ्दै गएकोले रातिको समयमा आवातजावत पूर्ण रुपमा प्रतिबन्ध लगाउने तयारी भएको हो ।
प्रमुख जिल्ला अधिकारी (प्रजिअ) नारायणप्रसाद भट्टराईले छिट्टै रातिको समयमा प्रतिबन्ध लगाउने निर्णय गरिने नारायणी अनलाइनलाई जानकारी दिए । उनले भने–‘सबैसंगको छलफल पश्चात रातिको समयमा प्रतिबन्ध लगाउने निश्कर्षमा पुगेका छौं, भोलि या पर्सीदेखि यो नियम लागू गर्छौ ।’ सरकारले बढी संक्रमण देखिएको जिल्लामा यस्तै निर्णय लागू गरेको छ ।
कोरोना नियन्त्रणका लागि प्रमुख जिल्ला अधिकारी भट्टराई, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख नान्तीराज गुरुङलगायतको टोलीले आज (आइतबार) जिल्ला स्वास्थ्य कार्यालय, भरतपुर अस्पताल, भरतपुर महानगरपालिकासंग अनौपचारिक छलफल गरेको हो । सो छलफलको आधारमा जिल्लामा कोरोना परीक्षणको दायरा बढाउने समेत निर्णय भएको छ ।
त्यसका लागि भरतपुर अस्पतालले जनशक्ति व्यवस्थापन गर्ने निर्णय भएको प्रजिअ भट्टराईले नारायणी अनलाइनलाई जानकारी दिए । ‘अहिले परीक्षण धेरै कम भएको छ, यसलाई बढाएर लैजाने निर्णय भएको छ, दुई सिफ्टमा परीक्षणका लागि जनशक्ति व्यवस्थापन भरतपुर अस्पतालले गर्ने छ’–प्रजिअ भट्टराइले भने । यस्तै छलफलले जिल्ला स्वास्थ्य कार्यालयले कन्ट्याक्ट ट्रेसिङलाई अझै प्रभावकारी रुपमा बढाउँदै लैजाने निर्णय समेत गरेको छ ।
भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा अहिले दिउँसोको समयमा एक सिफ्टमा मात्रै परीक्षण भइरहेको छ । अहिले दैनिक डेढ सयको हाराहारीमा मात्रै परीक्षण हुँदै आइरहेको छ । (नारायणी अनलाइनबाट)

- ADVERTISEMENT -
- ADVERTISEMENT -