April 16, 2024

पर्यटनको सम्भावना बोकेको सोक्ला गाउँमा “रक क्लाइम्बिङ” संचालन

July 11, 2022

काठमाडाैं / दोलखाको सोक्ला गाउँमा ‘रक क्लाइम्बिङ एन्ड हाइकिङ’ सुरु भएकाे छ । आन्तरिक तथा बाह्य पर्यटनको सम्भावना बोकेको यस स्थानमा ‘रक क्लाइम्बिङ एन्ड हाइकिङ’ सुरु गरिएको हो ।
सोक्ला पर्यटन विकास समाजले यस क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि गुरु योजनासहित साहसिक पर्यटकीय गतिविधि सुरु गरेका हुन् । खेलाप, सोक्ला र चक्पासँग जोडिएको तीन वटै पहरामा मिनी रक क्लाइम्बिङ, एडभान्स र हाइ लेबलको रक क्लाइम्बिङ गर्न सकिने अन्तर्राष्ट्रिय गाइड छिरिङ जाङबु शेर्पाको भनाइ छ ।
‘सोक्लाको रक, भूगोल र वातावरणीय दृष्टिले रक क्लाइम्बिङसँगै साइक्लिङ गर्न सकिन्छ । स्वदेशी भन्दा पनि विदेशीहरूका लागि यो उत्तम गन्तव्य हो,’ माउन्टेन गाइड शेर्पाले भने, ‘अन्डर ग्राउन्ड एडभेन्चर टुरिजमका लागि सोक्लाको भूगोल छनौटमा छ । यहाँ पाँच वटा रुट बनाएर रक क्लाइम्बिङ गर्न सकिन्छ ।’
उनका अनुसार गुमडाँडाको डिलबाट प्याराग्लाइडिङ गरेर तामाकोशी किनारामा ल्यान्डिङ गर्नका लागि वेसक्याम्प बनाउनु पर्छ । सोक्ला खेलाप क्षेत्रमा एग्रो टुरिजमसँगै जिप लाइन र बन्जी जम्प निर्माण गरेर विदेशी पाहुना भित्र्याउन सकिने शेर्पाको अध्ययनले देखाएको छ ।
भीमेश्वर नगरपालिकाका विपत व्यवस्थापन टिमले सोक्लामा रक क्लाइम्बिङ परीक्षण गरेका छन् । गाइड तथा प्रशिक्षक थिर बहादुर खड्का र शिव खड्काको टिमले सफल रूपमा रक क्लाइम्बिङ परीक्षण गरेका हुन् ।
प्रशिक्षक थिर बहादुर खड्काले सोक्ला रक क्लाइम्बिङका लागि सबैको रोजाइको गन्तव्य बन्ने दाबी गरेका छन् । फ्रान्सका नागरिकहरूले समेत सोक्ला गाउँको रक क्लाइम्बिङ क्षेत्रको भ्रमण गरेका छन् । नेपालमा सामाजिक कार्य गर्दै आएका १५ जनाको टिमले यस क्षेत्रको प्रवर्द्धनका लागि सहयोग गर्ने बताएका छन् ।
भीमेश्वर नगरपालिका-२ का वडाध्यक्ष स्टालिन श्रेष्ठले फ्रेन्च नागरिकहरूलाई दोलखा बजारमा स्वागत गरेका थिए । दोलखाबाट फ्रेन्च नागरिकहरूले ‘सोक्ला रक क्लाइम्बिङ एन्ड हाइकिङ २०७९’ सुरु गरेका थिए ।
सोक्लाश्वरी पर्यटन विकास समाजले यस क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि विभिन्न गतिविधि सञ्चालन गर्दै आएका छन् । समाजका अध्यक्ष अर्जुन पाख्रिनले दोलखाको समृद्धि र विकासका लागि पर्यटन नै प्रमुख आधार भएको बताए ।

- ADVERTISEMENT -