चितवनमा दुर्लभ एकसिंगे गैँडा संरक्षणमा सबैभन्दा चुनौतीको समय दस वर्षे सशस्त्र द्वन्द्वमा भयो । त्यतिबेला ठूलो चुनौती नै चोरी सिकारीलाई मानिएको थियो । किनभने त्यस समयमा एक महिनाको अवधिमै दसवटासम्म गैँडा मारिने गरेको अवस्था थियो । केही वर्षयता चोरीसिकारीबाट गैँडा मर्नेक्रम रोकिएपछि शून्य चोरीसिकार वर्ष पनि मनाइएको थियो । तर, पछिल्लो समय प्राकृतिक कारणले गैँडा मर्नेक्रम बढेपछि संरक्षणकर्मीलाई चिन्ताको विषय बनेको छ । केही वर्षयता चितवनमा प्राकृतिक कारणले गैँडा मर्नेक्रम बढेपछि संरक्षणमा अर्को चुनौती थपिएको छ । निकुञ्जको तथ्याङ्कअनुसार चालू आर्थिक वर्ष २०७९÷८० को ९ महिनाको अन्तरालमा मात्रै १६ गैँडा मरेका छन् । जसमध्ये दुईवटा चोरी सिकारीका कारण गरेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । यस्तै, आर्थिक वर्ष ०७७÷७८ मा १९ गैँडा मरेका थिए भने ०७८÷७९ मा ३७ गैँडा मरेकोमा दुईवटा चोरी सिकारीका कारण मरेका थिए । साढे चौध वर्षको अवधिमा चितवन राष्ट्रिय निकुञ्जमा ३०५ गैँडा मरेका छन् । मरेकामध्ये धेरै कालगति, केही चोरी सिकारी, जुधेर, बाढीले बगाएर र बाघको आक्रमणबाट मरेका छन् ।
पछिल्लो समय प्राकृतिक कारणले गैँडाको मृत्यु जसरी भइरहेको छ, त्यो स्वाभाविक मान्न सकिँदैन । चितवन राष्ट्रिय निकुञ्ज एकसिंगे गैँडाको विश्वकै प्रमुख बासस्थान मानिन्छ । निकुञ्जमै गैँडा धमाधम मर्न थालेपछि यसको कारण पत्ता लगाउन राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले अध्ययन गरेको थियो । पछिल्लोपटक सन् २०२० मा गैँडा गणना भएको थियो, जसमा देशभर ७५२ गैँडा गणना गरिएकोमा चितवन राष्ट्रिय निकुञ्जमा मात्रै ६९४ फेला परेका थिए । पछिल्लो समय गैँडा बूढो भएर, बिरामी परेर, एकापसमा जुधेर, बच्चा जन्माउन नसकेर, बाढीले बगाएर, दलदलमा फसेर, गोहीले हानेर र साना केटोलाई बाघले खाइदिएर मर्ने गरेका पाइएका छन् । अहिले विश्वव्यापीरुपमा वन्यजन्तु तस्करी नियन्त्रणमा चुनौती बढिरहेको छ । नेपालमा चोरीसिकारका कारण गैँडाको मृत्यु लगभग नियन्त्रणजस्तै देखिए पनि प्राकृतिक मृत्युका कारण गैँडा मर्न थालेपछि त्यसको अनुसन्धान गर्नु जरूरी भैसकेको छ । इकोलोजिस्टहरुले बढीजसो गैँडा आहारा नपुगेर र जुधेर मर्ने गरेको जनाएका छन् । गैँडालाई आवश्यक पर्ने बासस्थान, घाँसे मैदान र खोलानदीको पानीको प्रदूषणका विषयमा पनि अध्ययन गर्नुपर्ने देखिन्छ ।
विश्वमै दुर्लभ मानिएको एकसिंगे गैँडाको उर्वरभूमि चितवनमा भटाभट गैँडा मर्नु हामी सबैका लागि उत्तिकै चिन्ताको विषय हो । गैँडा सिकारविरूद्ध समुदायको जागरूकता र संरक्षणका लागि चौतर्फी सक्रियता बढेपछि निकुञ्जले केही वर्ष शून्य सिकार वर्ष मनाउन सफल पनि भयो । निकुञ्जमा सुरक्षा पोस्टसँगै प्रविधिको उच्चतम प्रयोगले गैँडाको चोरीसिकारमा सहयोग पुग्दै आएको छ । पछिल्लो समय जल, जमिन र जंगलसमेत प्रदूषित बनिरहेका छन् । गैँडा बूढो भएर मर्नु त नियमित प्रक्रिया मान्नुपर्छ । तर, अन्य कारणले मर्ने श्रृङ्खला रोक्न सरोकारवालाले ध्यान दिनैपर्छ । गैँडाको मृत्यु प्राकृतिक विपत्ति, बासस्थानको कमी, आहाराको अभाव, बिषविषादीको प्रभावजस्ता जुनसुकै कारण भए पनि यसबारे व्यापक अध्ययन, अनुसन्धान गरी समयमै गैँडा मर्ने कारण पत्ता लगाउनु जरूरी देखिन्छ ।