सीएमसीका एक छात्राले गरिन् आत्महत्या, इमर्जेन्सी बाहेक सबै सेवा ठप्प

0
32

चितवन / चितवन मेडिकल कलेज (सीएमसी)मा बीबीएस चौथो वर्षका अध्ययनरत विद्यार्थी सिम्रन थापाले झुण्डिएर आत्महत्या गरेकी छन् । परीक्षा हलमा चिट चोरेको भन्दै निरीक्षकले हलबाट बाहिर निकालेपछि कोठामा गएर थापाले आत्महत्या गरेको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक निर्मल पनेरुका अनुसार मृतकको साथबाट कुनै सुसाइट नोट नभेटिएको तर मेडिकल कलेजमा बुझ्दा परीक्षामा चिट चोरेपछि उनलाई हलबाट निकालिएको हो । पाल्पा रामपुर स्थायी ठेगाना भई पोखरा बस्ने मृतक थापा भरतपुर सप्तगण्डकी चोकस्थित गंगाबहादुर थापाको घरमा डेरा गरी बसेकी थिइन् ।
उनले आफु सुत्ने कोठाको सिलिङ पंखामा सलको पासो लगाई झुण्डिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवबाट ५०० मिटर उत्तरमा सो घटना घटेको थियो । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनापछि चितवन मेडिकल कलेजमा इमरजेन्सीबाहेकका सबै सेवा बन्द गरिएको छ ।
मेडिकल कलेजका विद्यार्थीहरुले आज (बुधबार) प्रेषित गरेको विज्ञप्तिमा मृतक थापाले आन्तरिक परीक्षा दिइरहेको समयमा परीक्षामा खटिएको शिक्षकले जबरजस्ती मानसिक तनाव दिई परीक्षा हलबाट निकालेपछि उनी आत्महत्या गर्न बाध्य भएको जनाइएको छ ।
विद्यार्थीहरुले घटनाको छानबिन गरी दोषीमाथि कडा कारबाहीका माग राख्दै इमरजेन्सीबाहेक कलेजका सबै सेवा बन्द गरेका छन् ।