मातृभाषाबाट टाढिँदै तामाङ समुदाय

0
82

चितवनमै पहिलो पटक ‘भाषा प्रशिक्षण’ हुँदै
–राजेश रुम्बा तामाङ
भरतपुर । आफ्नै लिपि भएको तामाङ जातिका पछिल्लो पुस्ता यतिखेर भाषाविहीन अवस्थामा आइपुगेको छ । बढ्दो शहरीकरण र बसाइसराइका कारण अधिकांश तामाङ आफ्नै भाषाबाट बञ्चित छन् । पुरानै थाकथलोमा रहेका तामाङहरूले बोल्ने गरे पनि पुख्र्यौली ठाउँ छाडेका अधिकांशले भाषा बिर्सिइसकेका छन् । नेपालको सरकारी कामकाजमा मातृभाषाको प्रयोग नहुनुले पनि बिस्तारै भाषा हराउँदै गएको तामाङ अगुवाहरू बताउँछन् ।
चितवनकै कुरा गर्ने हो भने पनि पहाडी क्षेत्र जहाँ पहिल्यैदेखि तामाङ जातिको बसोबास गर्दै आएका छन्, त्यसबाहेक सहरी क्षेत्रमा बसोबास गर्ने तामाङहरूमा बूढाबूढीबाहेकले भाषा बोल्न जान्दैनन् । आफ्नै घरमा पनि बोल्न छाडेपछि आफ्नै भाषा पनि पुस्तान्तरण हुन सकेको छैन, जसले गर्दा भाषा नै लोप हुने अवस्थामा आइपुगेको छ । मातृभाषामाथि अन्य भाषाले प्रभाव जमाउँदा तामाङ भाषा हराउन थालेको छ ।
यही क्रम बढ्दै गएमा अबको केही वर्षभित्रै तामाङ भाषा हराउन सक्ने जोखिम बढेपछि चितवनमै पहिलो पटक तामाङ पत्रकार संघले निःशुल्क ‘भाषा प्रशिक्षण’ सञ्चालन गर्ने तयारी थालेको छ । जिल्लामा अहिलेसम्म तामाङ जातिसँग सम्बन्धित कुनै पनि संघसंस्थाले चासो नदिँदा भइरहेको भाषा पनि विरानो हुन थालेपछि संघले नै एक हप्ते कक्षा सञ्चालन गर्न लागेको संघका अध्यक्ष बबिलाल तामाङले जानकारी दिए ।
‘वैदेशिक रोजगारको प्रभावले पनि नयाँ पुस्तामा भाषा संरक्षणको चेत कमजोर बन्दै गएको छ,’ उनी भन्छन्, ‘त्यसैले हाम्रो लागि तामाङ भाषाको प्रशिक्षण टड्कारो आवश्यकता बन्यो ।’ जेठ २७ गतेबाट असार १ गतेसम्म हुने भाषा प्रशिक्षणमा जिल्लामा रहेका धेरैभन्दा धेरैलाई सहभागी गराउने लक्ष्य लिइएको उनले बताए । संघको जेठ १३ गते सम्पन्न बैठकबाट भरतपुरमै भाषा प्रशिक्षण गर्ने निर्णय गरिएको हो ।
संघले तामाङ समुदायमा भाषा तथा संस्कृति संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले तालिम गर्न लागेको हो । तालिममा भरतपुर आसपासका तामाङहरूलाई भने धेरैभन्दा उपस्थिति भइदिन आग्रह गरिएको छ । एक हप्तासम्म अधिवक्ता अजयकुमार तामाङले प्रशिक्षण दिनेछन् । भरतपुर महानगरभित्रका सबै वडाबाट सहभागी गराउने लक्ष्य लिइएको तालिममा कम्तिमा पनि ६० जनाको सहभागी रहने अपेक्षा गरिएको छ ।
विसं २०७० सालमा स्थापना भएको संघले जिल्लाका विभिन्न सञ्चारमाध्यममा आवद्ध तामाङ सञ्चाकर्मीहरूलाई समाहित गर्दै विभिन्न गतिविधिमा सक्रिय हुँदै आएको छ ।
संघीय समितिको तथ्यांकानुसार देशभर करिब चार सय तामाङ पत्रकार तथा सञ्चारकर्मी संघमा आवद्ध छन् ।