March 29, 2024

यूएनको ७५ औं महासभामा ‘भर्चुअल’ माध्यमबाट प्रधानमन्त्री सहभागी हुने

September 1, 2020

काठमाडौँ / संयुक्त राष्ट्रसंघ (यूएन) को महासभामा ‘भर्चुअल’ माध्यमबाट प्रधानमन्त्री केपी शर्मा ओलीसहितको १० सदस्यीय टोलीले सहभागीता जनाउने भएको छ । कोभिड–१९ संक्रमणको जोखिमका कारण पहिलोपटक ‘भर्चुअल’ माध्यमबाट महासभा हुन लागेको हो ।
मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार महासभामा नेपालका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीले परराष्ट्रमन्त्रीसहितको १० सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्नुहुनेछ । सोहीबमोजिमको ‘क्रेडेन्सियल’ महासभाको औपचारिक प्रयोजनका लागि पठाउने निर्णय सरकारले गरेको प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिनुभयो ।
महासभाअन्तर्गत उच्चस्तरीय सप्ताहका बैठकहरूमा भर्चुअल माध्यमबाट प्रधानमन्त्री ओली नेतृत्वको केन्द्रीय प्रतिनिधिमण्डलले काठमाडौंबाट, संयुक्त राज्य अमेरिकाका लागि नेपाली राजदूत, राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि र स्थायी नियोगका कूटनीतिक कर्मचारीहरूले पनि प्रतिनिधित्व गर्नुहुनेछ ।
७५ औं महासभा भदौ ३० देखि असोज १४ सम्म चल्नेछ । सधैं राष्ट्रसंघको मुख्यालय रहेको अमेरिकाको न्युयोर्कमा हुँदै आएको महासभा यसपटक भर्चुअल माध्यमबाट हुन लागेको हो । सरकारका प्रवक्ता खतिवडाका अनुसार राष्ट्रसंघका लागि नेपालको स्थायी नियोग जेनेभाका लागि नेपाल परराष्ट्र सेवाका एक सहसचिव र एक उपसचिवलाई अस्थायी दरबन्दी नवीकरण स्वीकृत गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -